भानुमा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

भानु : भानु नगरपालिका स्वास्थ्य शाखाले डेंगु रोगको नियन्त्रण तथा रोकथामका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकामा मंगलबार आयोजित उक्त कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले डेंगु रोगको नियन्त्रण सामूहिक प्रयासबाट मात्र सम्भव भएकाले यस तर्फ सबै सचेत बन्नुपर्ने बताए ।
उनले नगरपालिकाले नियमित सरसफाइ अभियान, जनचेतना मूलक कार्यक्रमहरू र स्थानीय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी यो कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीका प्रमुख अमर दवाडी, विभिन्न वडाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सामाजिक अगुवा, कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा डेंगु संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सबैले हातेमालो गरी अगाडि बढ्न सुझाएका थिए ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरूलाई डेंगु रोगका कारण, लक्षण, उपचार विधि र रोकथामका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। स्वास्थ्य विशेषज्ञहरूले रोगको फैलावट रोक्न सफाइ र सचेतनालाई प्राथमिक उपायका रूपमा प्रस्तुत गरे ।










