कोभिड १९ अनुभव : आफ्नै अगाडि छट्पटि्टदै मानिस मरेको देखे, कोरोनालाई सामान्य नठानौं

- गल गुरुङ (दीपु)
आफु जनप्रतिनिधि भएको नाताले विभिन्न भेला तथा ठाउँमा जानुपर्ने, विभिन्न व्यक्तिहरुसंग भेटघाट पनि भयो । आवश्यक स्वास्थ्य सावधानी पनि अपनाएकै थियो । कतिबेला कसरी अदृष्य भाइरस संक्रमण हुन पुग्यो कुनै भेउ पाउन सकिन । गत असोज १८ गते स्वास्थ्यमा सामान्य समस्या देखियो । कोभिड हो भन्ने संका नै थिएन त्यसैले मौसमी ज्वरो होला निको भै हालिन्छ भनेर एक्लै कोठामा आईशुलेट भएर बसे । दमौलीकै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परीक्षण गरी औषधी सेवन गरिरहेको थिए ।
तर, जति औषधी खाएपनि ज्वरो झन बढ्दै गयो । नौ दश दिन पानी भन्दा केही पनि रुचेन । जरो झन बढ्दै गयो । शरीरको थापक्रम १०३ डिग्रीसम्म पुगेपछि ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगे । ज्वरो बढ्दै गएपछि समय समयमा होस नै हराएको जस्तो भयो । श्वासप्रश्वासमा समस्या देखिन थाल्यो ।
स्वास्थ्यमा थप समस्या देखिन थालेपछि पोखरा जाने सोच पनि नबनाएको होईन । तर, ज्वरो आएको छ भनेपछि सवारी साधान नै पाइएन । केही दिनपछि अफिसबाट चेकअप गर्न (जिल्ला समन्य समिति तनहुँ) जाने भनेर जिसस प्रमुख, उपप्रमुख, समन्वय अधिकारी र जिसस सदस्य साथीहरूले जिसस सदस्य दिब्यश्वरी बैनी र कार्यालय सहयोगी दिल राना दाईलाई एम्बुलेन्स लिएर क्वाटरमा पठाउनु भएको रहेछ । दमौलीको हस्पिटलमा एक्सरे र ब्लड चेक भएपछि फोक्सोमा समस्य आईसकेकोले तुरुन्तै पोखरा जानु भनेपछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगे ।
गण्डकीमा उच्च ज्वरो भनेपछि भर्ना लिन मानेन । पिसिआरको लागि भोलि आउनु भन्दै घर जान भनेपछि झन पीडा थपियो । एकातिर सास फेर्न एकदमै गारो भैरहेको थियो अर्कोतिर उच्च ज्वरोले सपना जस्तै भै रहेको थियो । केही सोच्न पनि सकिरहेको थिएन । अब भर्ना नलिने भएपछि गाडी खोजे । त्यहाँ पनि त्यही समस्या देखियो । ज्वरोका बिरामी भनेपछि गाडीले बोक्नै मानेन । केही विकल्प नदेखे पछि हस्पिटलको प्राङ्गणमा नै थचक्क बसे ।
केही समय पछि पूर्व मन्त्री शंकर भण्डारी दाईले गण्डकी अस्पतालका इन्चार्ज अर्जुन आचार्य सरलाई कुरा गर्नु भएछ । त्यसपछि बल्ल बल्ल इमर्जेन्सीको एउटा कुनामा लगेर राखीदियो । फेरि केही समय पछि त्यहाँबाट पनि प्री आईशुलेशनमा लगियो र अक्सिजन दिईयो । त्यसपछि बल्ल केही राहत महसुस भयो । ज्वरोको औषधी चलाउन शुरु गरेपछि ज्वरो पनि कम भयो र पीडा पनि कम भयो । तर सास फेर्न निकै गारो भै रहेको थियो । भोलिपल्ट पिसिआर टेस्ट भयो । पर्सिपल्ट रिपोर्ट पोजेटिभ आयो । सास फेर्न एकदम गारो भै रहेको समयमा स्वास्थ्यकर्मीले रिजल्ट पोजेटिभ आएको खबर सुनाउदा त्यो समय झन पीडा भयो । तैपनि आफुलाई सम्हाले । पोजेटिभ त आयो फेरि आईशुलेशनमा बेड छैन भनेर तनाब दियो । एक दिन प्री आईसोलेसनमै बसेपछि बल्लबल्ल भोलिपल्ट आईशुलेशनको आईसियुमा लगेर राखियो ।
आईसियुमा पुगेपछि बल्ल थाहा भयो कोरोना के हो भन्ने कुरा । श्वास फेर्न गारो भएर आफ्नै अगाडी मान्छेहरु भटाभट मरि रहेको प्रत्यक्ष देखे । आफ्नै आँखा अगाडी मान्छे मर्दै प्लाष्टिकमा बेर्दै लादै गर्दा कति आत्तिए । त्यो पल सम्झदा पनि जिउमा काँडा उम्रेर आउँछ । मरिसके पछि पनि आफ्नो आफन्तले लान नपाउने आर्मीहरु आएर लाने नियम रहेछ । आर्मीहरु आउन ढिलो भएको दिनहरुमा कति दिन त छेउको बेडको लासहरुसंगै रात बिताउन पर्यो । मान्छे नमरेको दिन हुँदैनथ्यो आफ्नै बेडको छेउमा मान्छे मर्दा कति रात आँखा चिम्म नगरी र्छलङ्गै पारे । धेरैले कोरोना साधारण फ्लू हो केही होइन भन्छन तर त्यसो भन्नेहरु कोरोनाको आईसियुमा मात्रै केही समय गएर हेर्यो भने कोरोना के हो प्रष्ट हुन्छ ।
केही दिन आईसियुमा बसेपछि स्वास्थ्यमा केही सुधार आयो । त्यसपछि नर्मल बेडमा सारियो बल्ल केही राहत भयो । त्यसपछि भने बाच्छु भन्ने आश पनि पलायो । दशै भरी आईसोलेसनमा नै बसियो । आईसोलेसनमा रहदा धेरै स्वास्थ्यकर्मीहरु हामीसंगै आईसोलेसनमा नै थिए । धेरै स्वास्थ्यकर्मीहरु आफ्नो परिवार छाडेर संक्रमितको उपचारमा खटिएका छन् । त्यसैले सबै स्वास्थ्यकर्मीलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउनपर्छ । समाजमा अब झन संक्रमितहरु बढ्दै गइरहेका छन् । त्यसैले संक्रमितहरुलाई घृणा नगरी आईसोलेसनमा बस्न सहज वातावरण मिलाउनुपर्छ अनि मात्रा कोभिडको यो लर्डाईमा सफलता पाउन सकिन्छ ।
अबका दिनहरु झन भयवह हुने निश्चित छ । त्यसैले थोरै बेडको भए पनि हरेक पालिकाले आईसोलेसन बनायो भने केही सहज होला । हैन भने अब सरकारी हस्पिटलहरुमा बेड पाउन ठुलै युद्ध जित्न पर्छ । त्यो सर्वसाधारणको पहुचको कुरा पनि भएन ।










