घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट

गण्डकी : घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार दुई सय ३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन् ।
गत असारमा कूल १० हजार सात सय ६८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले बताउनुभयो । असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । “वर्षात्को याम पदयात्राका लागि अनुकूल नहुने हुँदा पर्यटक आगमन घटेको हो”, प्रमुख कडरियाले भन्नुभयो, “मनसुन पदयात्राका लागि पनि गन्तव्य पहिचान र प्रवद्र्धनको काम भइरहेकाले पछि यस याममा पनि पर्यटक आकर्षित हुन सक्छन् ।” असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रुपमा लिने गरिएको उहाँले बताउनुभयो ।
आयोजना प्रमुख डा कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय उत्तम मानिन्छ । सोही याममा पर्यटक आगमन उल्लेख्य रुपमा बढ्ने गरेको छ । (एक्याप)को तथ्याङ्क अनुसार गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र भित्रिएकामा सबैभन्दा बढी चैत महिनामा ३५ हजार दुई सय ६५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।
गत आवमा एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक सो क्षेत्रमा आएका थिए । आव २०७९÷८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएका थिए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय १० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या एकीन नै गर्न नसकिने आयोजनाले जनाएको छ ।
यहाँको अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलले पर्यटकलाई लोभ्याउने गरेको छ । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले बताउनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker