हिमालय आँखा अस्पतालको सेवा अब तनहुँको दमौलीमै

हिमालय आँखा अस्पतालसँगको सहकार्यमा उपचार केन्द्र सञ्चालन, प्राविधिक जनशक्ति अस्पतालले उपलब्ध गराउने

दमौली । सामान्य आँखाको समस्या हुँदा पनि उपचारका लागि पोखरा धाउनुपर्ने व्यास नगरवासीको बाध्यता कम हुने भएको छ । व्यास नगरपालिकाको कार्यालयमै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि स्थानीयस्तरमै आँखाको परीक्षण तथा उपचार सेवा उपलब्ध हुने भएको हो ।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको केन्द्रको सोमबार शुभारम्भ गरिएको छ । केन्द्र सञ्चालनमा आएसँगै आँखासम्बन्धी सामान्य समस्या लिएर टाढा जानुपर्ने समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपचार केन्द्र स्थापना गरिएको बताए । उलने स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउनु स्थानीय सरकारको प्राथमिकता भएको उल्लेख गर्दै केन्द्रलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

केन्द्र शुभारम्भका दिन निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको थियो । बुधबारदेखि भने प्रतिव्यक्ति ५० रुपैयाँ शुल्कमा आँखा परीक्षण सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

उपचार केन्द्रका लागि आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्ति हिमालय आँखा अस्पताल पोखराले व्यवस्थापन गर्नेछ । अस्पतालसँगको सहकार्यले केन्द्रबाट उपलब्ध हुने सेवाको गुणस्तर र निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष एवं हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापाले अस्पतालले आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई आँखा उपचारमा निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिए । उपचार केन्द्र स्थापना गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले सेवालाई निरन्तरता दिन र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य प्राडा. दिलबहादुर क्षेत्रीले आँखाको नियमित परीक्षणमा ध्यान दिन आग्रह गरे । समयमै परीक्षण र उपचार गर्न सके आँखासम्बन्धी धेरै समस्याबाट बच्न सकिने उनको भनाइ थियो ।

नगर उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताइन । नगरभित्रै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासअन्तर्गत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको उनले उल्लेख गरिन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले केन्द्र सञ्चालनबाट व्यास नगरपालिकाका साथै आसपासका क्षेत्रका नागरिकलाई समेत लाभ पुग्ने बताए । स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा सामान्य आँखा परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता घट्ने र समयमै उपचार गराउन सहज हुने उनको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker