पर्यटकले भरिभराऊ बन्दीपुर

बन्दीपुर : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको आगमन बढेपछि यतिबेला होटल तथा घरबासमा कोठा पाउन मुस्किल हुन थालेको छ । चाडपर्वको लामो बिदा र पर्यटकीय याम एकैपटक सुरु हुँदा बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो । पर्यटकको चापले बजारमा चहलपहल बढाए पनि पर्याप्त बासको व्यवस्था नहुँदा केही पर्यटक भने बन्दीपुरमै बस्न नपाई फर्किनुपर्ने अवस्था आएको छ ।

होटल तथा होमस्टेमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुगेर बास खोज्न बाध्य भएका छन् । पर्यटकको आगमन बढेसँगै होटल व्यवसायमा उत्साह थपिए पनि उपलब्ध पूर्वाधारले सबै पर्यटकलाई धान्न नसक्दा व्यवस्थापन चुनौतीपूर्ण बनेको व्यवसायीको भनाइ छ ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार पछिल्लो समय बन्दीपुरमा पर्यटकको चाप अत्यधिक बढेको छ । होटल र घरबास भरिभराउ हुँदा बास बस्न चाहने सबैलाई कोठा उपलब्ध गराउन नसकिएको उनले बताए ।

चाडपर्वको बिदा र पर्यटकीय याम सुरु हुनु एकैपटक परेकाले पर्यटकको आगमन बढेको बानियाँले बताए । उनका अनुसार बन्दीपुरमा होटल तथा होमस्टे गरी करिब एक हजार चार सय जनालाई बास बसाउन सक्ने क्षमता छ । यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन् ।

तर, बासको क्षमता हुँदाहुँदै पनि पानीको अभावले होटलहरूले पूर्ण क्षमतामा सेवा दिन नसकेको उनले बताए । पर्यटकको चाप बढेका बेला आवश्यक पानी उपलब्ध नहुँदा होटल सञ्चालन र सेवा व्यवस्थापनमा समेत समस्या परेको उनको भनाइ छ ।

पर्यटकको बढ्दो आगमनलाई स्थानीय पर्यटन व्यवसायको अवसरका रूपमा लिनुपर्ने भए पनि त्यसअनुसार पूर्वाधार विस्तार र व्यवस्थापन हुन नसक्दा अवसर गुम्ने जोखिम देखिएको छ । बासको व्यवस्था नहुँदा पर्यटक अन्यत्र जानुपर्ने अवस्थाले बन्दीपुरमा पर्यटकको बसाइ अवधि र स्थानीय व्यवसायले लिन सक्ने लाभमा समेत असर पर्न सक्ने व्यवसायीको चिन्ता छ ।

होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदा मनाउन परिवार तथा साथीभाइसँग आउने आन्तरिक पर्यटकको संख्या बढेको बताए । बन्दीपुर घुम्न आउने पर्यटकको चापले होटल व्यवसायमा उत्साह थपिएको भए पनि मागअनुसार कोठा उपलब्ध गराउन कठिन भएको उनले बताए ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक बजार, मौलिक संस्कृति र हिमश्रृंखलाको मनोरम दृश्य बन्दीपुरका प्रमुख आकर्षण हुन् । भक्तपुरे शैलीमा निर्माण गरिएका परम्परागत घर, ढुङ्गा बिछ्याइएका सडक र पुरानो बजारले बन्दीपुरलाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक पहिचान दिएका छन्। यही विशेषताका कारण परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकदेखि स्थानीय जीवनशैली र संस्कृति बुझ्न चाहने विदेशी पर्यटकसम्मको रोजाइमा बन्दीपुर पर्दै आएको छ ।

बन्दीपुरमा खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणि मुकुन्दसेन पैदलमार्ग (मिनी ग्रेटवाल), तीनधारा, टुँडिखेल, रानीवन, रामकोट, सुनखरी, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालयलगायतका स्थल पर्यटकका आकर्षण हुन् । गाउँपालिकाले पनि यीमध्ये विभिन्न धार्मिक, ऐतिहासिक तथा प्राकृतिक स्थललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

पर्यटकको आगमनले होटल तथा रेस्टुरेन्टमा मात्र नभई होमस्टे, यातायात, स्थानीय उत्पादन र अन्य साना व्यवसायमा समेत आर्थिक गतिविधि बढाएको छ । तर, पर्यटकको संख्या बढ्नु मात्रै पर्यटन विकासको पर्याप्त आधार नहुने देखिएको छ । पर्यटकलाई सहज बास, खानेपानी र गुणस्तरीय सेवा उपलब्ध गराउन सके मात्रै बढ्दो आगमनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिनेछ ।

बन्दीपुरको बढ्दो लोकप्रियतासँगै अब पर्यटकको संख्या बढाउने मात्र होइन, उनीहरूलाई सहज रूपमा बस्ने वातावरण बनाउने चुनौती पनि थपिएको छ । विशेषगरी खानेपानीको दीर्घकालीन व्यवस्थापन, होटलको सेवा क्षमता विस्तार र पर्यटकमैत्री पूर्वाधार विकासमा ध्यान दिन सके बन्दीपुरको पर्यटनले थप गति लिन सक्ने देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker