सम्पादकीय : आफ्नै माटोमा सम्भावना खोजौं !

नेपालमा रोजगारीको चर्चा हुनेबित्तिकै धेरै युवाको ध्यान विदेशतिर जान्छ । गाउँमा बसेर भविष्य बनाउन सकिँदैन भन्ने सोचका कारण हरेक वर्ष हजारौँ युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । तर, आफ्नै गाउँठाउँमा उपलब्ध स्रोत, सीप र सम्भावनाको उपयोग गर्न सके स्वदेशमै राम्रो आम्दानी र सम्मानजनक जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण पनि हाम्रै समाजमा छन्। तनहुँको व्यास नगरपालिका–१२ का ईश्वर कार्की त्यस्तै एक उदाहरण हुन् । व्यावसायिक गाईपालनमा लागेका कार्कीले एक वर्षमा २३ हजार ५३८ लिटर दूध बिक्री गरेर करिब १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । विदेशमा गर्ने मेहनत आफ्नै गाउँमा पशुपालनमा लगाउन सके राम्रो कमाइ गर्न सकिने उनको अनुभव छ ।
दूध उत्पादनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङस्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थाले उनलाई सम्मान गर्नु अन्य किसान र युवाका लागि पनि प्रेरणादायी छ । व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि उनले थप १० वटा गाई पाल्ने योजना बनाएका छन् । कार्कीको सफलता व्यक्तिगत मेहनतको परिणाम भए पनि त्यसमा सहकारीले उपलब्ध गराएको बजार र नियमित भुक्तानीको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । सहकारीले किसानको दूध संकलन तथा ढुवानी गर्ने र प्रत्येक १५ दिनमा भुक्तानी दिने व्यवस्था मिलाएको छ। उत्पादन बिक्री नहुने चिन्ता नभएपछि किसानलाई व्यवसाय विस्तार गर्न सहज भएको छ । यसले उत्पादन र बजारबीचको सम्बन्ध बलियो बनाउन सके कृषि तथा पशुपालन भरपर्दो स्वरोजगारको माध्यम बन्न सक्छ भन्ने देखाएको छ ।
नेपालमा एकातिर कृषियोग्य जमिन बाँझिँदै गएको छ भने अर्कोतिर दैनिक उपभोग्य वस्तुका लागि ठूलो रकम खर्चेर आयात गर्नुपर्ने अवस्था छ । गाउँमा श्रमशक्तिको अभाव र युवाको विदेश पलायन बढिरहेको छ । यस्तो अवस्थामा स्थानीय स्रोत र बजारको सम्भावनालाई उपयोग गर्दै व्यावसायिक कृषि तथा पशुपालन विस्तार गर्नु आवश्यक छ । दूध, मासु, अण्डा, तरकारी र फलफूलको आन्तरिक मागलाई स्थानीय उत्पादनबाटै पूरा गर्न सके रोजगारी सिर्जनासँगै आयात प्रतिस्थापनमा पनि योगदान पुग्न सक्छ । तर, कृषि तथा पशुपालनमा युवालाई आकर्षित गर्न अनुदान र प्रोत्साहनका कार्यक्रम मात्र पर्याप्त हुँदैनन् । किसानले उत्पादनको उचित मूल्य, भरपर्दो बजार र समयमै भुक्तानी पाउने व्यवस्था हुनुपर्छ । पशु रोग, दाना तथा औषधिको मूल्यवृद्धि र उत्पादन लागतजस्ता समस्यालाई सम्बोधन गर्न नसके किसानको लगानी जोखिममा पर्छ । त्यसैले उत्पादनदेखि बजारीकरणसम्म किसानलाई सहयोग पुग्ने नीति आवश्यक छ ।
यसका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य अपरिहार्य छ । स्थानीय सरकारले किसानको पहिचान गरी व्यावसायिक योजना, प्राविधिक सेवा, पशु स्वास्थ्य, घाँसखेती र उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिनुपर्छ । प्रदेश सरकारले दूध चिस्यान केन्द्र, प्रशोधन उद्योग र बजार पूर्वाधार विस्तारमा लगानी गर्नुपर्छ । संघीय सरकारले सहुलियतपूर्ण कृषि कर्जा, पशु बीमा र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ । तीनै तहका सरकारले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नुभन्दा स्थानीय आवश्यकता र सम्भावनाका आधारमा साझा योजना बनाएर काम गर्न सके उपलब्ध स्रोतको प्रभावकारी उपयोग हुनेछ । कृषि तथा पशुपालनलाई परम्परागत पेसामा सीमित नराखी आधुनिक प्रविधि र उद्यमशीलतासँग जोड्न पनि आवश्यक छ । उन्नत जातका पशु, गुणस्तरीय आहार, आधुनिक गोठ र प्राविधिक ज्ञानको पहुँच किसानसम्म पुर्याउनुपर्छ । युवालाई व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, सहुलियतपूर्ण ऋण र बजारको व्यवस्था गर्न सके गाउँमै उद्यम गर्ने वातावरण बन्न सक्छ । सहकारी र निजी क्षेत्रले पनि उत्पादन संकलन, प्रशोधन र बजारीकरणमा साझेदारी गर्नुपर्छ ।
विदेशमा रोजगारीका लागि जान चाहने सबैलाई रोक्न सकिँदैन । तर, विदेशिनु बाध्यता नभई विकल्प बन्ने अवस्था सिर्जना गर्न सकिन्छ । त्यसका लागि आफ्नै गाउँमा श्रमको सम्मान, लगानीको सुरक्षा र मेहनतअनुसारको प्रतिफल पाउने वातावरण आवश्यक छ । किसानले उत्पादन गरेको वस्तु बिक्री नहुने र उचित मूल्य नपाउने समस्या रहिरहँदा स्वरोजगारको सपना दिगो हुन सक्दैन । ईश्वर कार्कीको सफलता एउटा किसानको व्यक्तिगत उपलब्धि मात्र होइन, आफ्नै माटोमा रोजगारी र समृद्धिको सम्भावना खोज्ने सन्देश पनि हो । यस्ता सफलतालाई अपवादमा सीमित नराखी गाउँगाउँमा विस्तार गर्न राज्यले उत्पादनमुखी नीति र कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । स्थानीय स्रोतको सदुपयोग, सहकारीको प्रभावकारी परिचालन र तीनै तहका सरकारको समन्वित प्रयासबाट गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । आफ्नै गाउँमा मेहनत गर्ने वातावरण र उत्पादनको उचित प्रतिफल सुनिश्चित गर्न सके युवा पलायन घट्नेछ र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार गाउँबाटै तयार हुनेछ ।










