कृषि पेसाबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै भिमादका धनबहादुर

तनहुँको भिमाद नगरपालिका-३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहनु भएको छ ।

विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उहाँले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रूपमा कृषि पेसा सुरु गर्नुभएको हो । “बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु । बारीका वरपर बुटयान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ”, थापाले भन्नुभयो ।

पाँच वर्षदेखि कृषि पेसा गर्दै आउनुभएका उहाँले यसवर्ष रू १२ लाख आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार फार्ममा हाल ४० वटा मौरीसहितका घार रहेका छन् । यसवर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै रू चार लाख आम्दानी भएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक गोला मौरीसहितको घार रू दश हजार र महको मानाको रू एक हजारमा बिक्री हुने गरेको छ ।

त्यस्तै एक हजार एक सय कुखुरा बिक्री गरी रू पाँच लाख र बाख्राबाट रू तीन लाख आम्दानी भएको थापाको भनाइ थियो । मौरीपालन व्यवसाय गर्नका लागि कृषि ज्ञान केन्द्र तनहुँले रू दुइ लाख, भीमाद नगरपालिकाले खानेपानीको पाइप खरिदका लागि रू ७० हजार अनुदान दिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आम्दानी फार्मको स्तरोन्नतिमा खर्च भएको छ ।

चालीस रोपनी जग्गामा कृषि पेसा सुरु गर्नुभएका थापाले आठ रोपनी जग्गामा उन्नत जातका घाँस तथा फलफूल खेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “विसं २०४८ देखि सामाजिक क्षेत्रमा लागेको थिए । यसबाट गाउँसमाजमा सहयोग पुगे पनि आफ्नो आर्थिकस्तरका कारण अब आत्मनिर्भर बन्नुपर्छ भन्ने लागेर कृषि पेसा सुरु गरेको हुँ ।”

स्थानीय जनज्योति क्याम्पस र माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष तथा कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष भइसक्नुभएका थापाको दैनिकी यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ ।

“युवाहरू रोजगारीको खोजीमा दैनिक ठूलो सङ्ख्यामा विदेशिएका छन् । उनीहरूलाई रोक्नका लागि सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ”, थापाले भन्नुभयो, “दुःख गर्दा स्वदेशमै कमाउन सकिन्छ ।”

उहाँको बगैंचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा देखाउँदै यस वर्ष लिची र आँप बिक्री गरी रू तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो । सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने उहाँको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker