तनहुँ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सन् २०२७ भित्रै

दमौली : तनहुँको सेती नदीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युतत् आयोजनाको निर्माण कार्य ७९ प्रतिशत पूरा भएको छ । तीनवटा प्याकेजमा विभाजन गरी निर्माण भइरहेको आयोजनामा बाँध, भूमिगत विद्युविद्युतत्गृह र प्रसारणलाइनको काम अघि बढिरहेको भए पनि सुरुवाती लक्ष्यभन्दा करिब डेढ वर्ष ढिलाइ हुने भएको छ ।

आयोजनाको निर्माण असार २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, नदीको बहाव परिवर्तन गरी बाँध निर्माण गर्नुपर्ने काममा भएको ढिलाइ, विस्फोटक पदार्थको अभाव लगायतका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको आयोजना प्रमुख श्याम भण्डारीले बताए । उनका अनुसार अब आयोजनाको समग्र निर्माण सेप्टेम्बर २०२७ सम्म सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ ।

आयोजनाको निर्माण तीनवटा छुट्टाछुट्टै प्याकेजमार्फत भइरहेको छ । प्याकेज–१ मा बाँधस्थल तथा त्यससँग सम्बन्धित संरचना, प्याकेज–२ मा मुख्य सुरुङ, भूमिगत विद्युत्गृह र उपकरण जडान तथा प्याकेज–३ मा दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभी क्षमताको दोहोरो सर्किट प्रसारणलाइन निर्माण भइरहेको छ। तीन प्याकेजमध्ये प्रसारणलाइनको भौतिक प्रगति सबैभन्दा बढी ८३ प्रतिशत पुगेको छ। चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसनले जिम्मा लिएको प्याकेज–२ को प्रगति ८० प्रतिशत छ भने बाँध निर्माणको जिम्मेवारी पाएको सोङदा–कालिका जेभीको काम ६८ प्रतिशत पूरा भएको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार मुख्य बाँधमा हालसम्म करिब ६५ प्रतिशत कंक्रिटको काम सम्पन्न भएको छ । बाँधको दायाँ र बायाँतर्फ ग्राउटिङ ग्यालरी सुरुङलगायतका संरचना निर्माण भइरहेका छन् । बाँधस्थलका संरचना निर्माणको गति तुलनात्मक रूपमा कम हुनुमा अन्य प्याकेजभन्दा प्याकेज–१ को काम पछि सुरु हुनु पनि एउटा कारण रहेको कम्पनीले जनाएको छ ।

भूमिगत संरचना निर्माणअन्तर्गत प्याकेज–२ मा अधिकांश उत्खनन कार्य सकिएको छ। विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक, ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकका संरचनामा सिभिल निर्माण अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि भइरहेको छ ।

त्यस्तै, प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर ३४.७० किलोमिटर लामो प्रसारणलाइन निर्माण भइरहेको छ। प्रसारणलाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेमा ८३ वटाको जग तयार भएको र ८१ वटा टावर जडान भइसकेका छन्। कुल प्रसारणलाइनमध्ये हालसम्म १.७ किलोमिटरमा मात्रै तार तान्ने काम सम्पन्न भएको छ । अझै करिब ३३ किलोमिटर तार तान्न बाँकी छ ।

प्याकेज–२ र प्याकेज–३ को निर्माण सन् २०१९ जनवरीदेखि सुरु भएको थियो भने बाँध निर्माणको प्याकेज–१ को काम सन् २०२१ अगस्टदेखि थालिएको हो । फरक समयमा निर्माण सुरु भएकाले प्याकेजअनुसार प्रगति फरक देखिएको कम्पनीको भनाइ छ ।

आयोजनाको निर्माणमा ढिलाइ हुनुका कारणबारे भण्डारीले भने, ‘रिभर डाइभर्सन गरी बाँध बनाउनुपर्ने थियो । त्यसमा नै एक वर्ष ढिलाइ भयो । विस्फोटक पदार्थ पनि समयमा उपलब्ध हुन सकेन । यस्तै विविध समस्याका कारण निर्माण प्रभावित भयो । अब सेप्टेम्बर २०२७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

आयोजनाको प्रसारणलाइन, ग्रामीण विद्युतीकरण र निर्माण अवधिको ब्याजसमेत जोड्दा कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ । यसमध्ये जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, एसियाली विकास बैंक
(एडीबी)ले १५ करोड र युरोपियन लगानी बैंकले आठ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउनेछन्। बाँकी आठ करोड ६० लाख अमेरिकी डलर नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्वदेशी लगानी रहनेछ ।

१४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको यो आयोजना सम्पन्न भएपछि नेपालको विद्युत् उत्पादन क्षमता विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । आयोजनाबाट विद्युत् उत्पादनपछिको बहाव र मादी नदीको पानी उपयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना विकास गर्ने प्रक्रिया पनि अघि बढाइएको कम्पनीले जनाएको छ ।

निर्माण सुरु भएको लामो समयपछि पनि मुख्य बाँधको काम दुई तिहाइ हाराहारीमा मात्र पुगेको र प्रसारणलाइनमा तार तान्ने काम उल्लेख्य बाँकी रहेकाले अबको समयसीमाभित्र आयोजना सम्पन्न गर्नु निर्माण पक्षका लागि चुनौतीपूर्ण देखिएको छ । निर्धारित नयाँ समयसीमाभित्र बाँकी संरचना निर्माण र उपकरण जडान सम्पन्न गर्न सके मात्रै आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नेछ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker