माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना

काठमाडौँ : यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी  चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।
काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए । रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । त्यही बेला शनिवार बिहान ४ः०० बजे  नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो । ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।
स्थानीय नानु लामाले भन्नुभयो, “पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”
लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए । त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उहाँले भन्नुभयो ।
नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउनुहुन्छ ।

यात्रुहरु परिवारजनलाई खोज्दै

घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरु पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरु गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् ।
यात्रुका आफन्तहरु उनीहरुको अवस्थाबारे बुझ्न आइपुगेका छन् । उनीहरु आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन् । उनीहरु आँसु रोक्न सकिरहेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ । केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ । निकाल्ल्ने काम जारी थियो । उद्धार कार्य जारी छ । अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker