आदिकविमा “श्रमिक हाम्रो साथी” अभियानको अभिमुखीकरण

दमौली : “श्रमिक हाम्रो साथी” भन्ने मूल नारासहित आदिकवि भानुभक्त क्याम्पस, व्यास–१ विज्ञानचौरमा निर्माणाधीन प्रशासकीय भवनमा कार्यरत ठेकेदार तथा निर्माण श्रमिकहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
विश्वविद्यालय अनुदान आयोग र आदिकवि भानुभक्त क्याम्पसको संयुक्त लगानीमा सञ्चालित उक्त भवन निर्माण योजनाअन्तर्गत आयोजना गरिएको ‘श्रमिकहरूका लागि वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखलेले वातावरणीय र सामाजिक सुरक्षाको अवधारणाबारे विस्तृत जानकारी दिएका थिए । सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
त्यस्तै, सहायक क्याम्पस प्रमुख तथा वातावरणीय र सामाजिक सुरक्षा फोकल पर्सन बिमल गिरीले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक सुरक्षासम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख विश्वेश्वर तिमल्सेना, प्रशासकीय प्रमुख बसन्ती थापा आले मगर तथा निर्माण श्रमिकहरूको सक्रिय सहभागिता रहेको क्याम्पसले जनाएको छ ।










