पृथ्वीराजमार्गकोे आँवुखैरेनी–जामुने (पूर्वी) खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाले पूर्वी खण्डमा दोेस्रो चरणको कालोपत्र सुरु गरेको छ । राजमार्गको आँवुखैरेनी–जामुने (पूर्वी) खण्डमा योजनाले दोस्रो चरणको कालोपत्र गर्ने कार्य अगाडि बढाएको हो ।
योजनाका अनुसार चार लेनको २९ किलोमिटर र दुई लेनको पाँच किमी गरी ६३ किमी सडक खण्डमा पहिलो चरणको कालोपत्र गरिसकिएको हुँदा दोस्रो चरणको कालोपत्र गर्न थालिएको हो । पहिलोे चरणमा ६ सेन्टिमिटर मोेटाइको सडक कालोपत्र गरिएको थियो भने, दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुने योजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनुका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए । ‘दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ’, इन्जिनियर पाण्डेले भने, ‘यसअघि चाडपर्व र वर्षाका कारण सोचे अनुरुपको काम गर्न नसकिएकोे हुँदा अब निर्माण कार्यले गति लिनेगरी काम हुन्छ ।’
पूर्वी सडकमा ४१.४५ किलोमिटर दूरी रहेको छ । यस सडकमा ठेकेदार कम्पनीले हालसम्म ६३ किलोमिटर एकतर्फी सडक कालोपत्र गरेको छ । पृथ्वी राजमार्गको पूर्वी खण्ड आँबुखैरेनी–जामुने वि.सं. २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
वि.सं. २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरे पनि हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ । कोरोनाको असर देखाएर २०८१ फागुन १ गतेसम्मलाई म्याद थप भएको छ। एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार कार्य भइरहेको छ ।










