दमौलीमा डोरीतान्ने प्रतियोगिता र साँस्कृतिक कार्यक्रम : उत्साहपूर्वक फागुपूर्णिमा पर्व मनाइयो
भञ्ज्याङ समाचारदाता/दमौली

कोरोना महामारीका कारण बिगत दुइ वर्षसम्म फागुपूर्णिमा (होली) पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यो पर्व मनाएका छन् । तनहुँका १० वटै पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा विविध कार्यक्रमका साथ बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकहरु समेतले उत्साहपूर्वक फागुपूर्णिमा पर्व मनाएका छन् ।
एकअर्कालाई विभिन्न रङ्ग लगाएर आत्मीयता साटासाट गरी मनाइने यो पर्व निकै उत्साहपूर्वक मनाइएको छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चल्दै आएको छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मुल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व रहेको बताइन्छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

यस्तै, तनहुँको सदरमुकाम दमौलीमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले होली विशेष कार्यक्रम आयोजना गरेको थियो । यसैगरी रोटरी क्लव अफ दमौली र रोटर्याक्ट क्लव अफ दमौलीले पनि एपेक्स मल पछाडि होली विशेष कार्यक्रम आयोजना गरी बालबालिका तथा युवायुवतीहरुलाई सहभागि गर्राई मनोरञ्जन प्रदान गरेको थियो ।
त्यस्तै, दमौली बजार इकाई समितिद्वारा बिहीबार दमौलीमा आयोजित डोरी तान्ने प्रतियोगिता खेलमा तीन समुह बिजयी भएका छन् । पुरुष तर्फको डोरी तान्ने खेलमा बुल्सजीम, आयोजक दमौली बजार इकाई र महिलातर्फ बुद्धलक्ष्मी समुह बिजयी भएका हुन् ।
दमौली बजार क्षेत्रमा जडान गरिएको सिसि टिभी मर्मत तथा सम्भारको सहयोगार्थ आयोजित होली बिशेष कार्यक्रम अर्न्तगत राखिएको छ । बुल्सजीमले जिल्ला प्रहरी कार्यालय तनहुँका समुहलाई पराजित गरेको दमौली बजार इकाई समितिका सदस्य एवं प्रायोजक संयोजक शेषराज श्रेष्ठले बताए ।
यस्तै, पुरुष तर्फ मुनसाइन र दमौली बजार इकाई समिति बीच भएको प्रतिस्पर्धामा आयोजक दमौली बजार इकाई समिति बिजयी भएको छ । महिला तर्फ पावरजीम र बुद्धलक्ष्मी समुह बीच भएको प्रतिस्पर्धामा बुद्धलक्ष्मी समुह बिजयी भएको छ। बिजयी समुहलाई पाँच हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको संयोजक श्रेष्ठले बताए ।

कार्यक्रमको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले रङ उडाएर उद्घाटन गरेका थिए । सो अवसरमा उनले होली पर्वले युवायुवतीहरुमा उत्साह, उमङ्ग र खुशीयाली ल्याएको बताउँदै शान्त, सौहाद्र र मर्यादित भएर होली पर्व मनाउन सबैलाई आग्रह गरेका थिए ।
दमौली बजार क्षेत्रमा जडान गरिएका ३२ वटा सिसि क्यामेरा मध्ये अधिकाँश बिग्रिएको अवस्थामा रहेकाले क्यामेरा मर्मत सम्भारको लागि आर्थिक सहयोग जुटाउन कार्यक्रमको आयोजना गरिएको दमौली बजार इकाईका सचिव माधव न्यौपानेले बताए ।
दमौली बजारको अलवा व्यास नगरपालिका-१ भादगाउँ क्षेत्रमा पनि सिसि क्यामेरा जडानको लागि माग भएकोले बिस्तार गर्ने योजना रहेको दमौली बजार इकाई समितिका सभापति भुपाल आलेले बताएका छन् ।










