पर्यटकलाई आकर्षित गर्न बन्दिपुरमा सडक खाना महोत्सव

पहाडकी रानी उपनामल परिचित पर्यटकीय नगर बन्दिपुरमा पर्यटकलाई आकर्षित गर्न नयाँ वर्षका अवसरमा सडक खाना महोत्सव सञ्चालन गरिने भएको छ । चैत ३० देखि वैशाख २ गतेसम्म सडक खाना महोत्सव सञ्चालन गरिने बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।
नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दिपुरमा पर्यटक आकर्षित गराउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष प्रधानले बताए । बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दिपुर र तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाइको संयुक्त आयोजनामा सडक खाना महोत्सव आयोजना गरिएको हो ।
‘कोभिडका कारण विगत केही वर्षेखि नयाँ वर्षमा कार्यक्रम गर्न सकिएको थिएन, अहिले कोभिड संक्रमण घटेकाले नयाँ वर्षमा सांगितिक कार्यक्रमसहित खाना महोत्सवको आयोजना गरेका हौं’, अध्यक्ष प्रधानले भने, ‘यो कार्यक्रमले बन्दिपुरमा पर्यटक आकर्षित गर्नुका साथै पर्यटकीय गतिविधि समेत चलायमान बन्ने हामीले विश्वास लिएका छौं ।’
बन्दिपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा बन्दिपुरका पर्यटन व्यवसायी विश्वस्त छन् । ‘नयाँ वर्षपछि पर्यटक आगमन बढ्नेमा आशावादी छौं’, होटल व्यवसायी विपिन प्रधानले भने, ‘सडक खाना महोत्सव बन्दिपुरमा पर्यटकलाई आकर्षित गर्ने एउटा माध्यम बन्ने हामीले विश्वास लिएका छौं ।’
बन्दिपुरमा आयोजना हुने सडक खाना महोत्सवले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका पर्यटकलाई पनि बन्दिपुर आउन सहयोग पुग्ने व्यवसायी प्रधान बताउँछन । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच, पुतली च्वे प्रदर्शन गरिनुका साथै ‘दी इन्ट्रो ब्यान्ड’ को प्रस्तुति रहने अध्यक्ष प्रधानले बताए ।
महोत्सवसंगै बन्दिपुरमा सुस्ताएको पर्यटकीय गतिविध चलायमान बन्नुका साथै आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने स्थानीय व्यवसायीहरुले विश्वास गरेका छन् ।
नयाँ वर्षमनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन रहेको हुँदा युवाहरुलाई बन्दिपुरमै भुलाउनुका साथै मनोरञ्जन प्रदान गर्न यो कार्यक्रम उपयुक्त बन्ने होटल व्यवसायी प्रधानले बताए ।
बन्दिपुरमा होटल संघसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दिपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छन्। बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे्र, धौलागिरि लगायतका हिमश्रृंखला देखिन्छन् ।
भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ ।










