भोलीबाट सञ्चालन हुने प्रथम भानु नगर महोत्सवको तयारी अन्तिमचरणमा

भानु : तनहुँको भानुमा भोली पुस ९ गतेदेखि सञ्चालन गरिने प्रथम भानु नगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिदैछ ।
महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले गरेको छ । महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताए ।

भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिने समेत संयोजक श्रेष्ठले बताए ।
महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीका लागि १२० वटा स्टलहरु रहने जानकारी गराए। उनका अनुसार स्वदेशी र विदेशी पर्यटक गरी एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ ।










