संकट परेकाबेला चर्चा चल्छ, तर बनाइदैन

बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गसंग जोड्ने निर्माणाधिन घुमाउने घाटको पुल । पुल निर्माण कार्य अगाडि बढाएको ११ वर्ष बितेपनि हालसम्म पुलको दुबैतर्फ पिल्लर ठडाउने बाहेक अन्य काम अगाडि बढ्न सकेको छैन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा गत शुक्रबारदेखि खसेको पहिरो आंशिक रुपमा सञ्चालनमा ल्याएपनि मंगलबार दिउँसो पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ । मुग्लिन–नारायणगढको बैकल्पिक मार्गका रुपमा रहेको बुद्धसिंह मार्गको स्तरोन्नती र घुमाउनेमा पुल निर्माण हुन नसक्दा संकटका बेलामा चर्चा चल्ने तर, निर्माणको काम अगाडि नबढ्ने भएको छ ।

बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक सडकको विकास गर्ने भनि घुमाउनेको झोलुंगे पुल नजिकै ११ वर्ष अगाडी पक्की पुल निर्माण थालिएपनि पुल अलपत्र छ । यहाँ पुल निर्माण भएमा यात्रा निकै सहज हुने भएपनि यस तर्फ सरोकारवाला निकायले ध्यान पु¥याएको देखिदैन । दमौलीबाट वेलवासहुँदै सेती नदीको किनारै किनार घुमाउनेसम्म सडक विस्तार गरिएको करिब चार दशक हुन आटेपनि अहिलेसम्म यो सडकको स्तरोन्नती हुन नसक्दा यस क्षेत्रका बासिन्दाले सास्ति झेल्दै आएका छन् । घुमाउने घाटमा भएको झोलुंगे पुलबाट त्यस भेगका सर्वसाधारण जोखिममोलेर मोटरसाइकल÷स्कुटरमा मुग्लिन नारायणगढ सडकखण्ड निस्किएर यात्रा गर्न बाध्य छन् । फाइल तस्विर : नारायण खड्का/भञ्ज्याङ










