तनहुँका कृषकहरु चैते धान रोपाईमा व्यस्त

तनहुँ : तनहुँको व्यास नगरपालिका–७ सत्रसय फाँटका कृषक मुक्तिकुमार गोशली यतिबेला चैते धान रोप्नमै व्यस्त छन् । ३ रोपनी खेतमा चैते धान रोप्नका लागि उनले गाउँकै ६ जना कृषकलाई मेलोमा बोलाएका छन् । बिहानदेखि बेलुकासम्म खेतमै धान रोप्दै समय बित्ने उनले बताए । ‘कतै गोरु र कतै ट्र्याक्टर लगाएर धान रोपेका छौं,’ उनले भने, ‘यस वर्ष पानी नपर्दा समस्या परेको छ, समयमै पानी परेको भए पहिले नै धान रोपेर सक्ने थियौं ।’
यस फाँटमा साँढे ६ सय रोपनी क्षेत्रफलमा चैते धान हुँदै गरेको बताउँदै उनले भने, ‘रिस्ती कृषक समूहका सबै कृषक मिलेर रोपाइँ गरेका छौं । कुलोको पानी आलोपालो गर्दै धान रोप्न परेकाले ढिला भइरहेको छ ।’ गत वर्ष समयमै मल नपाउँदा उत्पादन राम्रो नभएको व्यास–११ रानीगाउँका मानबहादुर दरै बताउँछन् । ‘समयमा पानी पर्दैन, आवश्यक परेको बेला मल पाइँदैन । बल्लतल्ल फलेको धान काट्ने बेला वर्षाले बिगारिदिन्छ,’ उनले भने, ‘यी सबै सोचेर खेती नै नगरौं भने पनि भोलिका दिनमा के खाने ?’
जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँट लगायतका स्थानमा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी किरण नेपालीले बताए । उनले भने, ‘हालसम्म ७५ प्रतिशत चैते धान रोपाइँ सम्पन्न भएको छ ।’
केही वर्षयता चैते धान खेती कम हुँदै गएको उनले बताए । उनका अनुसार बर्सेनि चैते धान खेती घट्दै गएको छ । अघिल्ला वर्ष ६ हजार हेक्टरसम्म चैते धान खेती गरिन्थ्यो । ‘पछिल्ला वर्ष कम हुन थालेको छ’, केन्द्रका सूचना अधिकारी नेपालीले भने, ‘युवाहरु रोजगारीको सिलसिलामा बिदेसिन थालेपछि खेतमा काम गर्ने जनशक्तिको कमि हुँदै गएको छ । गाउँमा युवा नहुँदा अधिकांश खेतबारी बाँझा छन् ।’
अनका अनुसार गत वर्ष १ हजार ८०२ हेक्टर जमिनमा चैते धान खेती गरिएकामा ८ हजार ७०४ मेट्रिक टन उत्पादन भएको थियो । यसैगरी २०७९/०८० मा २ हजार ४७० हेक्टर जमिनमा खेती गरिएकामा ११ हजार १८३ मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेती गरिने भए पनि ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । १३ हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र ७ हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा आकाशे पानीको भरमा पनि कृषकले धान खेती गर्छन् ।










