जनस्वास्थ्य कार्यालय तनहुँद्वारा जिल्लास्तरीय वार्षिक समीक्षा, छिपछिपे स्वास्थ्य चौकी प्रथम

दमौली : प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले विहीबार दमौलीमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक समीक्षाका अवसरमा तनहुँ जिल्लाभित्रका विभिन्न स्वास्थ्य संस्थाबाट प्रदान गरिएका जनस्वास्थ्य सेवासम्बन्धी सूचकहरूको मूल्याङ्कनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।
मूल्याङ्कन अनुसार देवघाट गाउँपालिका–३ स्थित छिपछिपे स्वास्थ्य चौकी प्रथम, म्याग्दे गाउँपालिका–४ थर्पु आधारभूत अस्पताल द्वितीय र शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटार स्वास्थ्य चौकी तृतीय स्थानमा चयन भएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, दमौली अस्पतालका मे.सु. डा. परिवर्तन बराल र प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठलगायतको उपस्थितिमा उत्कृष्टा बन्न सफल स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यस्तै, कार्यक्रममा तनहुँ जिल्लाका स्वास्थ्य शाखा प्रमुखहरू, आधारभूत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाको सहभागिता रहेको थियो ।










