चितुवा पीडित परिवारलाई राहत रकम हस्तान्तरण, तनहुँमा मानव वन्यजन्तुमैत्री कार्यक्रम अगाडि बढाइदै

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारका चितुवा पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले विहीबार राहत रकम उपलब्ध गराएको हो ।
घरको पीढिमा बसिरहेको समयमा गत साउन २१ गते चितुवाले आक्रमण गर्दा ११ महिनाका बालक नारायण रानाको मृत्यु भएको थियो । मृतकका परिवारलाई नौ लाख ५० हजार रुपैयाँ रकमको चेक हस्तानतरण गरिएको छ ।

पीडित परिवारालाई प्रतिनिधि सभा सदस्य केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले मृतकका बुबा विष्णुकुमार रानालाई चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण गर्दै सांसद सिग्देलले तनहुँमा पछिल्लो समय मावन र वन्यजन्तु बीचको द्वन्द्व जटिल समस्या बनेको र जंगल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गइरहेकाले यस्ता घटना दोहोरिन नदिन चनाखो बन्नुपर्ने बताए ।

यस्तै, प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हुँदै गएकाले सुरक्षित घरबासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिंदै यसमा स्थानीय बासिन्दाले पनि वन्यजन्तुमैत्री कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
गत साउन २१ गते घटना लगत्तै डिभिजन वन कार्यालयले किरिया खर्चबापत पीडित परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप दश लाख दिने प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।
तनहुँमा मानव र वन्यजन्तु बीचको द्वन्द्व बढ्दै जाँदा ठूलो मात्रमा जनधनको क्षति व्यहोर्नुपरेको हुँदा आगामि दिनमा चितुवा प्रभावित क्षेत्रलाई लक्षित गरी मानव र वन्यजन्तु बीच मैत्रीपूर्ण व्यवहार झल्कने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको डिभिजन वन प्रमुख काफ्लेले बताए ।










