तनहुँमा ६६ वर्षीया महिलाको हत्या, ३१ वर्षीय युवा पक्राउ

दमौली । तनहुँको व्यास नगरपालिका–९ कुमालगाउँमा बन्चरो प्रहार गरी महिलाको हत्या गरिएको छ । उक्त हत्या अभियोगमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
६६ वर्षीया विष्णुमाया कुमालको हत्या अभियोगमा सोही ठाउँका ३१ वर्षीय शंकर कुमाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी गराए । उनका अनुसार बुधबार बिहान ८ बजे महिला मृत अवस्थामा भेटिएको र निजको बन्चरो प्रहार गरी हत्या भएको खुलेको थियो ।
पक्राउ परेका शंकरले यसअघि पनि निज महिलालाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अधिकारीले भने, “पहिला एकपटक कुटपिट गरेपछि मिलापत्र गरेर छाडिएको रहेछ । मृतक महिला घरमा एक्लै बस्दै आएकी थिइन् ।”










