देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु भएको छ । देवघाट गाउँपालिका–५ बेणीसङ्गमबाट आज बिहान पदयात्रा सुरु गरिएको हो । पदयात्राको पूर्वसन्ध्यामा बुधबार साँझ सोही ठाउँमा आरती र पूजा गरिएको थियो ।

कालीगण्डकी नदीको अस्तित्व जोगाउन कालीगण्डकी नदीको शिर दामोदरकुण्डसम्म पदयात्रा गरिनेछ । देवघाटबाट सुरु भएको पदयात्रा चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर सम्पन्न हुनेछ ।

पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति र मौलिक सनातनी नेपाली गौरवलाई देशभित्र र बाहिर परिचित गराउने र आत्मगौरवले सजिएको नेपाली स्वाभिमानको पुनर्जागरण गर्ने उद्धेश्यले ऐतिहासिक कालीगण्डकी पदयात्रा आयोजना गरिएको बताउनुभयो ।

उक्त पदयात्रामा महेश संन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरीका साथमा गलेश्वर आश्रम, हरिहर संन्यास आश्रमका सन्तहरुको उपस्थिति रहेको छ । देवघाटदेखि दामोदरकुण्डसम्मको उक्त पदयात्रा २५ दिनको रहनेछ । तराइदेखि पहाड हुँदै हिमालसम्मको पदयात्राको दूरी ४३१ किलोमिटर रहेको छ । महेश संन्यास आश्रमका वर्तमान पीठाधीश युवासन्त स्वामी रमणानन्द गिरीजी महाराजको मौलिक नेपाली स्वाभिमान, संस्कार र सभ्यताप्रतिको सम्मान, समर्पण र प्रवद्र्धन गर्ने दृढ लगाव तथा विश्वासमा उक्त पदयात्रा सञ्चालन गर्न लागिएको पौडेलले बताउनुभयो ।

कालीगण्डकी संसारकै ठूलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी हो । यसका तटवर्ती क्षेत्रहरुमा हजारौं वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । त्यसका कारण कालीगण्डकीका किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यताहरु विकसित भएका छन् ।

विश्वमा देवताको प्रत्यक्ष स्वरुप मानिने शालिग्राम यसै नदीमा मात्र उपलब्ध हुने भएकाले पुराण वाङ्मयले कालीगण्डकीलाई देवनदीका रुपमा वर्णन गरेका छन् । यसै तथ्यलाई अवलम्बन गरेर हजारौं तपस्वी ऋषिमुनिहरुले गण्डकीका पवित्र किनारलाई विचार र ज्ञानसाधनाको केन्द्रकारुपमा प्रयोग गर्दै आएका छन् ।

धार्मिक, पौराणिक र आध्यात्मिक ऊर्जाका अतिरिक्त अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्वतीय जनजीवनको जीवन्त सम्पदाका रुपमा समेत गण्डकीको सेरोफेरो प्रसिद्ध मानिन्छ । साथमा यस क्षेत्रले सनातनको आस्था र विश्वासमा अडिएको नेपाली जनजीवन, सामाजिक संरचना तथा अर्थतन्त्रलाई गतिशील बनाउन सक्ने पर्यटकीय अथाह सम्भावना बोकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker