बन्दिपुर, देवघाट र व्यासका ११५ घरमा बिजुली बत्ति बल्यो
भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र व्यास नगरपालिकाका ११५ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको बत्ति बलेको छ । बन्दिपुरको खहरे, थुमथुमे, व्यासको मास्दी, ढाप, सुँढे र देवघाटको रिजाल्दी बासिन्दाको घरमा बत्ति जडान गरिएको हो । यहाँका घरहरुमा बिजुली बत्ति जडान पछि बन्दिपुर गाउँपालिकाले विहीबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरेको छ। बिजुली बत्ति शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले नागारिकका आधारभुत आवश्यकता परिपुर्ति गर्नु हाम्रो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
‘जनताको आधारभूति आवश्यकाता सहज बनाउनु हाम्रो प्रमुख दायित्य भएकाले तीनवटै तहका सरकारले सोही अनुसारको कामलाई तीब्रता दिएको छ’, सांसाद श्रेष्ठले भने, ‘स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विजुली बत्ति लगायतका सेवा सहज रुपमा र्सवसाधारणले उपभोग गर्न पाउनुपर्छ । बिकास निर्माणका काममा राजनीति भन्दा माथी उठेर सबैले हातेमालो गरी अगाडि बढे जनताले लाभ लिन सक्छन् ।
यस्तै, टुकीको भरमा रात कटाउँदै आएका यहाँका बासिन्दा घरघरमा बिजुली बत्ति बाल्न पाएपछि निकै खुसी भएका छन् । विद्युतको उज्यालोको पर्खाइमा रहेका हामी बल्ल आज घरमा बत्ति बाल्न पाउदा निकै खुसी लागेको व्यास नगरपालिका-१३ मास्दिकी नारीमाया थापा बताउँछिन् । उनले भनिन्, ‘भौगोलिक रुपमा दमौली बजारबाट धेरै टाढाको बस्ति नभएपनि बिजुली बत्ति बाल्न नपाउदा कुनै अनकन्टरमा बसेको जस्तै भएको थियो । अब घरमा बिजुली बत्ति बल्यो, हाम्रो दैनिकी पनि उज्यालो हुन्छ होला ।’
‘सोलर बत्ति त जडान गरिएको थियो तर, घाम लाग्दा बल्थ्यो नत्र टुकी बत्तिकै भरमा साँझको कामकाज चल्ने गर्दथ्यो’, उनले भनिन्, ‘ढिलै भएपनि घरघरमा बिजुली बत्ति बाल्न पाइएका छौं। अब त उज्यालोमा खाना पकाउन र बालबालिकाले पढ्न पनि पाउछन् ।’
गाउँमै बिद्युत बत्ति नहुँदा धेरै समस्य झेल्नुपरेको बन्दिपुर गाउँपालिका-६ का गर्जबहादुर गुरुङले बताए । उनले भने, ‘हाम्रो दैनिकी अन्धकार बनेको थियो अब बिजुली बत्ति आएको छ, सडक पनि राम्रो भइदिएमा हामीलाई धेरै सहज हुने थियो ।’
तनहुँको दमौलीबाट घुमाउने घाट जोड्ने बुद्धसिं मोटर मार्ग क्षेत्रमा पर्ने बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकाका केही वडामा बिहीबार राष्ट्रिय प्रशारण लाइनको विद्युत जडान गरिएको विद्युत प्राधिकरण दमौलीका इन्जिनियार रामबाबु चौधरीले बताए ।
यस्तै, स्थानीय निर्वाचनमा देखाइएको उज्यालो बन्दिपुरको सपना अहिले पुरा भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘गाउँपालिकाको ६ वटा वडामध्ये ५ वटा वडामा पहिले नै विद्युत सेवा विस्तार भएको थियो । बिहीबार वडा नं. ६ स्थित खहरे र थुमथुमेका ६२ घरहरुमा पनि बिजुली बत्ति बाल्न सफल भएका छौं । अब बन्दिपुर पूर्णरुपमा उज्यालो भएको छ ।’
देवघाटका गाउँमा विद्युत सेवा शुभारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए । ‘एक वर्ष अगाडिनै हामीले गाउँपालिकालाई पूर्ण रुपमा उज्यालो बनाउने योजना थियो तर कोरोनाले गर्दा काम सम्पन्न हुन सकेन’, उनले भने, ‘विद्युत जडान गर्न बचेका २/३ वटा वडाका घरहरुमा पनि अब हामी चाँडैनै सेवा प्रवाह गरी नागरिकलाई उज्यालो उपलब्ध गराउँछौं ।’ तनहुँमा देवघाट गाउँपालिकाको वडा नं. ३, ४, आँबुखैरेनी गाउँपालिकाको वडा नं. ६ का केही घरहरु र केही अन्य वडाका छुटपुट घरहरुमा विद्युत सेवा उपलब्ध गराउन बाँकी रहेको विद्युत प्राधिकरण तनहुँले जनाएको छ ।










