५३औं विश्व वातावरण दिवस–२०८२ को सन्देश र हाम्रो दायित्व

दिवाकर पौडेल

जून ५ तारिख सन् २०२५ तदनुसार जेष्ठ २२ गते संसारभर विभिन्न कार्यक्रमहरु आयोजना गरी विश्व वातावरण दिवस मनाईदैछ । यो दिवस मनाउन थालेको पनि ५२ वर्ष भैसकेछ । वातावरण जोगाउन हामी मानव जातीले जे जति प्रयास गरेपनि वर्तमान समयमा विश्वको वातावरण दिनानुदिन बिग्रदो अवस्थामा गइरहेको छ र मानव तथा जीवजन्तुका लागि थप चुनौतीपुर्ण एवं कष्टकर बन्दैछ ।

विश्व वातावरण दिवस मनाउने ऐतिहासिक पृष्ठभूमि हेर्दा हामीले आज भन्दा करिब ५३ वर्ष अगाडि संयुक्त राष्ट्रसंघको सक्रियता एवं पहलमा स्वीडेनको स्टकहोम शहरमा जून ५ देखि १६ सम्म भएको मानवीय वातावरण विषयक सम्मेलन (Stockholm Conference On Human Environment–१९७२) लाई स्मरण गर्नुपर्ने हुन्छ । उक्त सम्मेलनले दिएको म्यान्डेट अनुसार संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (United Nations Environment Program-UNEP) सोही बर्ष (सन् १९७२)मा स्थापना गरियो । सोको एक वर्षपछि सन् १९७३ देखि जून ५ तारिखको दिनलाई हरेक वर्ष जनचेतना फैलाई विश्वको वातावरणलाई संरक्षण गर्ने र अरु थप बिग्रेर जान नदिने मुलभुत उद्देश्यका साथ विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

पहिलो बर्षको नाराः एक मात्र पृथ्वी (Only one Earth) राखेर स्वीटजरलैण्ड लगायत संसारका सदस्य राष्ट्रहरुले मनाउन थालेको इतिहास छ । अहिले हामी ५३औं विश्व वातावरण दिवस मनाउँदै छौं । यसरी हरेक वर्षको जून ५ मा विश्वका सम्पूर्ण देशहरुमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप)ले निर्धारण गरेको मुल नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना गरी विश्व वातावरण दिवस मनाउने गरिन्छ । विश्वको बिग्रंदै गएको वातावरणका विविध पक्ष तथा समस्या एवं समाधानका लागि सदस्य राष्ट्रहरु लगायत आम विश्व मानव समुदायले पुरा गर्नु पर्ने जिम्मेवारी झल्किने आशयका मुल नारा यूनेपले तय गर्दछ र संयुक्त राष्ट्रसंघ मार्फत विश्वका सबै देशहरुमा सम्प्रेषण गरी सोही मुल नाराको आशय झल्किने राष्ट्रिय नारा तय गरी हरेक देशले विश्व वातावरण दिवस विभिन्न कार्यक्रमका साथ मनाउने चलन छ ।

वास्तवमा मानव तथा जीवजन्तुका लागि जीवनको आधारका रुपमा रहेका प्राकृतिक स्रोतहरुः जमिन, जंगल र जल (जसलाई “३ ज” पनि भनिन्छ)को तीब्र विनाश, जथाभाबी एवं अविवेकी प्रयोग, वातावरणीय सोच विना संचालन गरिने विकास निर्माणका क्रियाकलापहरु, बढ्दो औद्योगिकीकरण, युद्ध तथा लडाई, आणविक भट्टी संचालन तथा मानवीय स्वार्थका लागि प्रयोग हुने अति सुविधायुक्त साधनहरुको बढ्दो प्रयोगले विश्वको वातावरणीय अवस्था ह्रासोन्मुख हुँदै गएको छ ।

वातावरणमा आएको ह्रास र प्राकृतिक स्रोतहरुको जथाभाबी प्रयोगले विश्वमा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, चक्रपात, सुनामी आदि जलजन्य विपदका घटनाहरुले ठूलो जनधनको क्षति पुर्याउनुका साथै वन जंगलको तीब्र बिनास तथा वातावरणीय पक्षलाई ध्यान नदिई जथाभावी संचालन गरिने विकासका क्रियाकलापहरुका कारण लाखौं हेक्टर कृषियोग्य भूमि मरुभूमिमा परिणत भैरहेको छ । यसबाट विश्वको वातावरण मानव, जीवजन्तु एवं वनस्पतिका लागि थप कष्टकर बन्न थालेको छ ।

विश्व मौसम संगठन (World Meteriological Organization-WMO) हालैको अध्ययन रेकर्ड अनुसार पृथ्वीको तापमान विगत (१८५०–१९००)लाई आधार वर्ष मानेर सो अवधिको औसतको तुलनामा (२०१०–२०१९) वर्षको तुलना गर्दा झण्डै १.०७ डिग्री सेल्सियसले बृद्धि भएको छ र सन् २०२४ अधिक गर्मी वर्षको रुपमा क्यालेण्डरमा दर्ज भएको छ साथै २०२५ देखि २०२९ वीचमा विश्वको तापमान बढेर १.२ डिग्री सेल्सियस देखि १.९ डिग्री सेल्सियसको विचमा रहने प्रक्षेपण गरिएको छ । यसरी विश्वको तापमान बिगतको तुलनामा निरन्तर बढ्दै जाँदा यसबाट ध्रुवीय एवं हिमालय क्षेत्रको हिउँ पग्लने जसले गर्दा समुन्द्रको सतह बढ्न गई सामुन्द्रिक एवं तटीय क्षेत्रका देशहरुको भूभाग डुब्दै जाने खतरा बढेको छ भने मानव बस्तीमा खतरा बढ्नुका अलावा वनस्पति, जीवजन्तुहरुको बासस्थान परिवर्तन हुनुका साथै विगतदेखिको तथ्याङ्क केलाउँदा सयौं जलचर तथा थलचर जीव र वानस्पतिक प्रजातिहरु लोप भैसकेको अवस्था छ ।

अब विश्व र यहाँ बस्ने ८ अरब बढी जनसंख्याले यही गतिमा जमिन, वनजंगल, जीवजन्तु र आफै बसिरहेको वातावरणप्रति बेवास्ता गर्दै अगाडि बढ्ने हो भने यो पृथ्वी अर्थात् विश्व भावी पिंढीका लागि बस्न लायक बन्ने छैन । एकातर्फ, विश्वमा बढ्दो वन बिनास, बढ्दो जनसंख्याको चाप, वातावरणीय पक्षलाई वेवास्ता गर्दै संरक्षणका योजना विना संचालन गरिने विकास निर्माणका कामहरु र चरम भौतिक विकास र बिलासी जीवनशैलीका कारणबाट वनजंगलको क्षेत्र खुम्चिंदै गएको छ भने बाढी, पहिरो, भू–क्षय, बढेको छ । त्यस्तै, हाम्रो वरपरको वातावरण तिब्रगतिमा प्रदुषित र उकुसमुकुसयुक्त बन्दै छ ।

यस वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदुषण अन्त्य गरौं” (Beat Plasitic Pollution) तय गरिएको छ र नेपालको सन्दर्भमा “प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व” नारा तोकेर नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले संबद्ध सबैलाई वातावरण दिवस मनाउन आव्हान गरेको छ । वायु प्रदुषण, ध्वनि प्रदूषण, जमिन प्रदूषण, जल प्रदूषण तिब्र गतिमा बढिरहेको छ । खास गरी प्लाष्टिक प्रदूषण अहिले संसारभरी विश्वव्यापी समस्या बनेको छ । हालैको तथ्याङ्क अनुसार विश्वमा प्रत्येक बर्ष ३० करोड टनभन्दा बढी प्लाष्टिक उत्पादन हुने गर्छ र ५०% भन्दा बढी प्लाष्टिक एकल प्रयोग हुन्छ । प्रयोग गरेको प्लाष्टिक मध्ये बर्षेनी ८० लाख टन समुन्द्रमा पुगेर जल प्रदुषण गराई जलचर प्राणीहरुलाई प्रतिकूल प्रभाव पारेको छ ।

नेपालमा प्लाष्टिकको फोहोर यत्रतत्र सर्बत्र देखिन्छ जसले हामी वरपरको वातावरण, वन्यजन्तु लगायतका जैविक विविधता र मानवको स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ । प्लास्टिकले जमिन, पानी र हावालाई प्रदूषित गरिरहेको छ र प्लाष्टिकजन्य फोहोर देख्दा तपाई हाम्रो आँखालाई समेत बिझाउँछ र हेर्न कठीन लाग्छ । यसले जलचर प्राणीलाई हानि पु¥याउँछ, माटोको उर्वराशक्ति कम गराउँछ साथै प्लाष्टिक तपाईं हाम्रो खाद्य श्रृंखलामा समेत प्रवेश गरिसकेको छ । यस परिप्रेक्ष्यमा तपाई हामी सबै मिलेर प्लाष्टिकको प्रयोगलाई कम गर्ने र कालन्तरमा प्रयोगलाई पूर्णरुपमा बन्द गर्ने गरी वैकल्पिक व्यवस्था गर्न जरुरी भैसकेको छ । यिनै वातावरणीय समस्याहरुलाई विश्व जनमानस समक्ष ल्याउने, प्रचार प्रसार गर्ने र वातावरण संरक्षणका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने पवित्र उद्धेश्य लिई संयुक्त राष्ट्रसंघको पहलमा थालिएको वातावरण दिवस मनाउने अभियानलाई समाजका हरेक वर्ग र समुहले सहयोग पुर्याउन जरुरी छ ।

विश्व वातावरण दिवसको यस पुनित दिनमा हामीले हाम्रो कर्तव्य र दायित्व बिर्सन हुँदैन । तसर्थ प्लाष्टिकले मानव लगायत विश्वका जीवजन्तु, वनस्पति र जैविक विविधतामा पारेको नकारात्मक प्रभावलाई कम गर्न यो समस्यालाई गम्भीरतापूर्वक मनन् गरी यसको न्यूनीकरणका लागि व्यक्तिगत र सामूहिक प्रयत्नको खाँचो छ । यसका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ :

  • प्लाष्टिकको कम प्रयोग : सकेसम्म प्लाष्टिकका वस्तुहरूको प्रयोग घटाउने र एकपटक प्रयोग हुने प्लाष्टिकका झोला, बोतल र भाँडाहरूको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपडा, कागजका झोला जस्ता विकल्पहरू अपनाउने ।
  • पुनः प्रयोग (Reuse) : प्लाष्टिकका वस्तुहरूलाई जहाँतहीँ फाल्नुभन्दा पहिले सकेसम्म धेरैपटक पुनः प्रयोग गर्ने ।
  • पुनःचक्रण (Recycle) : हामीले प्रयोग गरेका प्लाष्टिकका फोहोरलाई सही तरिकाले छुट्याएर पुनर्चक्रणका लागि पठाउने ।
  • चेतना जगाउने : आफ्नो घरपरिवार, समुदाय र साथीभाइलाई प्लाष्टिक प्रदूषणका असर र यसको प्रयोग घटाउने उपायहरूबारे जानकारी दिने ।
  • विभिन्न विकल्पको खोजीः प्लाष्टिकको सट्टा अन्य वातावरणमैत्री विकल्पहरू जस्तैः कागज, कपडा, बाँस वा धातुबाट बनेका वस्तुहरूको प्रयोगलाई प्रोत्साहन गर्ने ।
  • उपयुक्त नीति निर्माणमा सहयोगः प्लाष्टिक प्रदूषण नियन्त्रण गर्न तिनै तहका सरकारले बनाउने नीति तथा नियमहरूलाई अपनत्व लिने र पालना गर्ने ।

तपाईं हामी रहेको वातावरण स्वच्छ नभए हामी पनि अस्वस्थ बन्छौं । आफू स्वस्थ, परिवार स्वस्थ, समाज स्वस्थ, देश स्वस्थ र विश्व नै स्वस्थ बन्न हामी हरेकको महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ प्लाष्टिकको प्रयोगलाई हामीले न्यूनीकरण गर्न व्यक्ति व्यक्ति र घर घरबाट पूर्ण प्रतिबद्धताका साथ लाग्न जरुरी छ । तिनै तहका सरकारहरु, संबद्ध सरकारी तथा गैह्र सरकारी निकायहरु, संघसंस्था,समुदाय दह्रो अठोटका साथ वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व” को सन्देशलाई सार्थक बनाउन आ–आफ्नो ठाउँबाट सबै लागौं र आफ्नो दायित्व निभाऔं ।

(लेखक : भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत हुन् ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker