कलेजोसम्बन्धी रोग लागेको कसरी थाहा पाउने ?

कलेजोले हाम्रो शरीरमा पाँच सयवटाभन्दा बढी काम गर्छ । कलेजोको मुख्य काम मेटाबोलिजम अर्थात् शरीरले खानेकुरालाई ऊर्जा र आवश्यक तत्वमा रुपान्तरण गर्ने प्रक्रियामा सहयोग गर्नु हो ।
शरीरमा ग्लुकोज, प्रोटिन, कार्बोहाइड्रेट मेटाबोलिजम हुनुपर्छ । हामीले खाएका सबै कुरालाई स्टोर गर्ने र ऊर्जामा परिवर्तन गर्ने काम कलेजोले गर्छ । त्यस्तै कलेजोले शरीरमा भएको ‘टक्सिन’ अर्थात विषाक्त पदार्थलाई हटाउने काम गर्छ ।
कलेजोले सही तरिकाले काम गरेन भने शरीरमा मेटाबोलिजम हुँदैन । विज्ञहरुका अनुसार कलेजोसम्बन्धी रोगको धेरै संकेत/लक्षण हुँदैन । पहिलो–पहिलो स्टेजमा कलेजो रोगको केही पनि लक्षण नदेखिने सम्भावना धेरै हुन्छ । कोही–कोहीलाई भने एकदम थकान हुने, अल्छी लाग्ने, पाचनसम्बन्धी समस्या देखिन सक्छ । तर यो सधैं कलेजो रोगसँग नै सम्बन्धित नहुन सक्छ । यी लक्षणहरु अन्य कारणले पनि देखा पर्छ ।
जब कलेजो रोगको लक्षण देखिन्छ, त्यतिबेला धेरै ढिलो भइसकेको हुन सक्छ । कसैलाई धेरै थकान भइरहेको छ, या धेरै पाचनसम्बन्धी समस्या भइरहेको छ भने कलेजो रोग हुन सक्ने सम्भावना रहन्छ ।
कलेजो रोग विशेषज्ञ डा. पुकार थापाका अनुसार कलेजोको रोग ‘एडभान्स’ स्टेज भइसकेपछि अथवा कलेजो धेरै बिग्रिसकेपछि मात्र थाहा भएको पाइएको छ । तर स्क्रिनिङ टेस्ट नियमित गर्यो भने कलेजोको रोग हुन पत्ता लाग्न सक्छ । कलेजोको रोगबारे धेरैलाई ज्ञान नभएको हुनाले पनि कलेजोको धेरै समस्या भएपनि मात्रै थाहा हुन्छ ।
कलेजोसम्बन्धी रोगका लक्षण
अत्यधिक थकान वा कमजोर महसुस हुनु
कलेजोले ठिकसँग काम नगर्दा शरीरमा विषालु पदार्थ जम्न थाल्छ, जसले गर्दा सधौ थकाइ लाग्ने र ऊर्जा कम भएको महसुस हुन्छ ।
पाचनसम्बन्धी समस्या हुनु
पाचन प्रक्रियामा कलेजोको महत्वपूर्ण भूमिका हुन्छ । कलेजो बिग्रँदा भोक नलाग्ने, शरीरको तौल घट्नेजस्ता समस्या निम्तिन सक्छ । कलेजो बिग्रँदा पेटमा पानी जम्न थाल्छ । यसलाई एस्साइट्स भनिन्छ । यसले पेट फुलेको वा सुन्निएको महसुस हुन्छ । त्यस्तै विषालु पदार्थ शरीरमा जम्मा हुादा बान्ता आउने समस्या निरन्तर हुन सक्छ ।
पिँडुला वा खुट्टा सुन्निनु
शरीरमा तरल पदार्थको असन्तुलन हुादा वा प्रोटिनको कमीले गर्दा खुट्टा सुन्निन सक्छ ।
छाला चिलाउने
रगतमा बिलिरुबिन र अन्य विषालु पदार्थहरू जम्मा हुादा छाला चिलाउने समस्या हुन सक्छ ।
शरीरमा अल्छीपना आउनु, सुस्त महसुस हुनु
कलेजोले शरीरबाट विषालु पदार्थ हटाउन नसकेको कारण अल्छिपना आउने, सुस्त महसुस हुने, काम गर्न मन नलाग्ने जस्ता समस्याहरु आउन सक्छ ।
यी लक्षण सधैं कलेजो रोगसँग नै सम्बन्धित नहुन सक्छ । यी लक्षण अन्य कारणले पनि देखापर्छ । कोही मान्छेले अत्यधिक रुपमा मदिरा सेवन गर्छ, परिवारमा कलेजो क्यान्सरको हिस्ट्री छ, परिवारमा वा आफैलाई पनि डाइबिटिज, हाइपरटेन्सन छ भने समय समयमा कलेजो चेक गर्नुपर्छ ।
वर्षमा एकपटक कलेजो जाँच गर्न अति नै जरुरी हुन्छ । त्यस्तै पहिल्यै कलेजोको समस्या भएका व्यक्तिहरुले डाक्टरको परामर्श अनुसार समय-समयमा जाँच गर्नुपर्छ ।