डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ ।
आज यहाँ ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराउनुभयो । डेङ्गी सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेङ्गी नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।”
उहाँका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको सङ्ख्या धेरै छ । “हाम्रो रेकर्डमा धेरै रिपोर्टिङ भएको छैन । लक्षण नदेखिएका बिरामी बाहेक निजी अस्पताल वा स्वास्थ्य संस्थामा जाने बिरामीको सङ्ख्या तथ्याङ्कमा समावेश हुन सकेको छैन । त्यसकारण पनि सङ्क्रमितको सङ्ख्या तथ्याङ्कमा भन्दा धेरै भएको हाम्रो आकलन हो”, उहाँले भन्नुभयो
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले विभागले तीनै तहको सरकारसँग डेङ्गी नियन्त्रणका लागि सहकार्य गरिरहेको बताउनुभयो । उहाँले डेङ्गीको सङ्क्रमण बढ्दै गए पनि सामान्य दैनिकीमा ख्याल गर्दा यसको जोखिम कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “घर होस् वा कार्यालयमा डेङ्गी सङ्क्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।”
एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण, डेङ्गीको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहका सरकारसँगै सरोकारवाला निकायसँगको सहकार्यमा ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ ।

डेङ्गीको सङ्क्रमणको अवस्था

विसं २०६१ मा पहिलो पटक डेङ्गी देखापरेको थियो । त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ । सन् २०१० मा पहिलो पटक नौ सय १७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो भने पाँच जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७ हजार नौ सय ९२ सङ्क्रमित र छ जनाको मृत्यु भएको थियो । गत वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ डेङ्गीका बिरामी देखिएका थिए । सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । बागमती प्रदेशमा ७७ प्रतिशत डेङ्गीका बिरामी भेटिएका थिए । त्यसमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै ५६ प्रतिशत डेङ्गी सङ्क्रमित रहेको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाएको छ  ।

डेङ्गीको लक्षण र उपचार

वरिष्ठ कन्सलटेन्ट डा विमल चालिसेका अनुसार डेङ्गीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । उहाँका अनुसार आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिन सक्छ । उहाँले डेङ्गी सङ्क्रमण भएका ८० प्रतिशतलाई लक्षण नदेखिने र पाँच प्रतिशत गम्भीर बिरामी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “डेङ्गीको कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिन्छ । पारासिटामोलको प्रयोग गर्ने भए पनि आइब्रुफेन र एस्पिरिन जस्ता औषधिको प्रयोग गर्न हुँदैन ।” गम्भीर डेङ्गुका बिरामीलाई तत्कालै अस्पताल भर्ना गर्न उहाँले सुझाव दिनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker