बडादशैं पर्व सुरु भएसंगै तनहुँमा कोरोना संक्रमितको संख्या बढ्दै, स्वास्थ्यको ख्याल गरी चाडपर्व मनाउन आग्रह
- नारायण खड्का (दमौली)
हाम्रो घर आँगनमा अहिले बडादशैं पर्व भित्रिएको छ । अघिल्ला वर्षयो पर्वका अवसरमा चहलपहल र उल्लासपूर्ण वातावरण बन्थ्यो । तर, अहिले बडादशैं पर्वको उल्लासपूर्ण वातावरण भन्दा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेको छ ।
तनहुँमा पछिल्लो केही दिन यता दैनिक जसो कोरोना भाइरस संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । दैनिक १० जना भन्दा बढिमा संक्रमण देखिन थालेपछि चार्डपर्वको रौनक्ता भन्दा पनि भाइरस संक्रमणको त्रासले र्सवसाधारणको दैनिकी बिथोलिएको छ ।
तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा अहिले कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । लकडाउन हटेर सबै क्षेत्र खुल्ला भएसंगै जिल्लाका बजार क्षेत्रमा संक्रमितको संख्या वृद्धि हुन पुगेको हो । बजार क्षेत्रमा देखिएको भाइरस संक्रमण चार्डपर्व भित्रिएसंगै ग्रामीण क्षेत्रमा फैलने पो होकि भन्ने खतरा पनि बढ्दो छ । रोजगारी, व्यापार, व्यवसाय, अध्ययन लगायतका काम विशेषले बजार क्षेत्रमा बसेका व्यक्तिहरु चाडपर्व मनाउनका लागि आ-आफ्नो गाउँघर तर्फजाँदा स्वास्थ्य सुरक्षामा ध्यान दिन स्थानीय पालिका तथा प्रशासनले सचेत गराउँदै पनि आएका छन् ।
चाडपर्वको समयमा लापारवाही भयो भने ग्रामीण क्षेत्रमा संक्रमण फैलने र विशेष गरी ग्रामीण क्षेत्रमा बसोवास गर्दै आएका वृद्धवृद्धा यसबाट बढि प्रभावित हुने जोखिम बढेको छ । जिल्ला बाहिरबाट आउनेलाई सावधानी र र्सतर्कता अपनाउन तथा सबैलाई स्वास्थ्य सामाग्रिको प्रयोग र मापदण्ड पालना गर्न आग्रह गरिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् ।
नगरप्रमुख न्यौपानले भने, ‘जिल्लाबाहिरबाट आउनुहुने सबैलाई सुरक्षित रुपमा होमक्वारेन्टिनमा बस्न आग्रह गरेका छौ । यदि घरमा सुरक्षित रुपमा बस्न नमिल्ने अवस्था छ भने नगरपालिकाले तयार गरेको क्वारिन्टिनमा आएर बसिदिनुस भनेका छौ र आवश्यक सबै तयारी पनि गरेका छौ ।’
यस्तै, जाने बुझेकै व्यक्तिहरुले लापरवाहीपूर्ण व्यवहार गर्दा पछिल्लो समय दैनिक संक्रमितको संख्या बढ्दै गएको व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोती बताउँछन् । मास्कको सहि रुपमा प्रयोग नगर्ने, व्यापार व्यवसाय, बैंक तथा वित्तिय क्षेत्रमा सामाजिक र भौतिक दुरी कायम नगरी भिडभाड गर्ने, संक्रमितको सर्म्पर्कमा रहेका व्यक्तिको नमुना संकलन गरी सुरक्षित भएर बस्न आग्रह गरिएपनि ती व्यक्तिहरु रिपोर्ट नआउँदै समुदायमा घुलमिल भइदिंदा संक्रमितको संख्या वृद्धि भएको जनस्वास्थ्य अधिकृत सोती बताउँछन् ।

कोभिड-१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा पनि जारी गरेको छ । चाडपर्वमा संक्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चार्डपर्वलाई लक्षित गरी जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड र जमघट गर्न निषेध गरेको छ ।
प्रशासनले चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेका छौ सोही ठाउँमा र परिवारका सदस्यहरु बीच मात्र चाडपर्व मनाउन, पूजापाठलाई घरघरमै सीमित गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सागार आचार्यले बताए । उनले भने, ‘मन्दिर र तर्ीथस्थलहरूमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुल्ला नगर्न र त्यसको न्रि्रानीका लागि सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।’
कोरोना भाइरसको जोखिमबाट आफू बच्दै अरुलाई पनि बचाउनु सबैको कर्तव्य भएकाले चार्डपर्वमा अनावश्यक यात्रा नगर्न जिल्लाका १० वटै पालिकाले सचेत गराउँदै आएका छन् । जमघट, चियापान तथा शुभकामना आदानप्रदान नगर्न, जुवातास लगायत कानूनले निषेधत गरेको कार्य नगर्न, बिदाको समयमा अनावश्यक घुमफिर नगर्न, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन तनहुँका स्थानीय तहहरुले नागरिकलाई सचते गराउँदै आएपनि यसको पूर्णरुपमा कार्यन्वयन भएको भने देखिदैन ।
यस्तै, सरकारले पीसीआर परीक्षण तथा संक्रमितले आफ्नो उपचार आफै गर्ने निर्देशन जारी गरेपनि तनहुँको व्यास नगरपालिकाले भने आफ्नो क्षमताले भ्याएसम्म नगरबासिको पीसीआर परीक्षण निःशुल्क गर्ने योजना बनाएको छ । सरकारको यो निर्णय स्थानीय तहले कार्यान्वयन गर्न कठिन भएको हुँदा को गरिब, को धनि सबैको समान रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने योजना बनाएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
रोटरी क्लवले व्यास नगरपालिकालाई उपलब्ध गराएको पीसीआर मेशीन सञ्चालनका लागि दमौली अस्पताल तयार भए उपलब्ध गर्ने र यदि त्यो भएन भने आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी मेशीन सञ्चालनमा ल्याउने विषयमा विज्ञहरुसंग पनि छलफल भइरहेको नगरपालिकाले जनाएको छ ।
तनहुँमा व्यापारी, व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत, स्वास्थ्यकर्मी, भिडभाडमा गएका, जिल्ला बाहिरबाट आएका नागरिकहरुमा कोरोना भाइरस संक्रमण बढि देखिएको छ । जिल्लामा हालसम्म ७२५ जनामा संक्रमण पुष्टि भएको छ भनेे संक्रमित मध्ये ४५५ जना निको भएर घर फर्किएका छन्। कोरोना संक्रमणका कारण एकै परिवारका तीन जना सदस्य सहित १० जनाले ज्यान गुमाएका छन् ।
एक महिलाको मृत्यु
कोरोना संक्रमणबाट तनहुँकी एक महिलाको पोखरामा मृत्यु भएको छ। व्यास नगरपालिका-१ की ६८ वर्षीया महिलाको उपचारका क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । तनहुँमा यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। यस अघि व्यास नगरपालिकामा ४ जना, भिमाद नगरपालिकामा ३ जना, आँवुखैरेनी गाउँपालिकामा २ जना, म्याग्दे गाउँपालिकामा १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
२ दिनको बालकमा संक्रमण
स्वास्थ्य निर्देशनालयले विहीबार सार्वजनिक गरेको विवरणमा तनहुँका दुइ दिने नाबालकलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ। व्यास नगरपालिका-१४ का दुइ दिने नाबालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । विहीबार यी नाबालक सहित १० जनामा संक्रमण पुष्टि भएको छ ।
असोज २५ गते नाबालाककी आमालाई संक्रमण पुष्टि भएपछि बच्चाको स्वाब परीक्षण गर्दा बच्चामा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् । उनको गण्डकी अस्पतालमा प्रसुती गरिएको थियो ।
त्यस्तै, तनहुँका अन्य ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा लाईफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भिमाद ६ का ३७ पुरुष र भिमाद ८ का ६२ पुरुष, व्यास ५ का ३६ वर्षीय पुरुष र शुक्लागण्डकी ४ का २७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दे गाउँपालिकाका ३ का २६ वर्षीया महिला र म्याग्दे ६ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ऋषिङ गाउँपालिका १ का ३३ वर्षीय पुरुष, व्यास ८ का ४० वर्षीय पुरुष र शुक्लागण्डकीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।










