केरा गाउँ ‘बाँस्टारी’

वालिङ (स्याङ्जा) : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।

बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गर्नुभएको थियो । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थाल्नुभएको छ ।

यहाँ धेरैजसोले आफ्नै जग्गा जमिन वा जमिन भाडामा लिएर पनि केराखेती गरिरहेका छन् । कालीगण्डकी नदी किनारमा फैलिएको समथर फाँटमा अवस्थित बाँस्टारी माटो तथा हावापानीका दृष्टिले पनि केराखेतीका लागि उपयुक्त छ । करिब ४५ वर्षअघि आफ्नो बुवाले लगाएको केराखेतीलाई पछिल्ला दिनमा विस्तार गर्दै व्यावसायिक रूपमा अगाडि बढाएको कृषक रविलाल गौडेलले बताउनुभयो । उहाँले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक केराखेती गर्नुभएको छ ।

गौडेलले हरिसाल र झापाली मालभोग जातका केराखेती गगरेको बताउनुभयो । गत वर्ष कालीगण्डकी गाउँपालिकाले व्यावसायिक केराखेतीमा जोड दिँदै केराका बेर्ना तथा अन्य सहयोग गरेको पछि आफूलाई थप हौसला मिलेको उहाँको भनाइ छ । “अन्य बालीबाट भन्दा केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हौँ । बिरुवा लगाएको करिब १५ महिनामा उत्पादन लिन सकिन्छ, हाल केरा बिक्रीबाट वार्षिक रु एक लाख आम्दानी भइरहेको छ । आगामी दिनमा पाँच लाखसम्म आम्दानी लिन सकिन्छ भनेर व्यवस्थापनमा लागिरहेको छु”, कृषक गौडेलले भन्नुभयो ।

बाँस्टारीकै चन्द्रकान्त न्यौपानेले व्यावसायिक केराखेती गर्न थालेका १३ वर्ष भयो । उहाँले हाल नौ रोपनी क्षेत्रफलमा झापाली मालभोग जातको केरा लगाउनुभएको छ । तीन रोपनी आफ्नो र छ रोपनी जग्गा भाडामा लिएर केराखेती गरिरहेको र यसबाट वार्षिक रु दुई लाख गरिरहेको उहाँले बताउनुभयो । “यहाँ केरा उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । केरा खरिदका लागि व्यापारी केराबारीमै आउछन् । हाल व्यापारीलाई प्रतिदर्जन रु ७०/८० का दरले बिक्री गरिरहेको छु”, न्यौपानेले भन्नुभयो ।

विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केराखेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ । यहाँ धेरैजसोले केराखेती गरेका छन्, तर बेलाबेला गबारो, कोसामा कालाकाला थोप्लाहरु देखिने तथा गुवोमा असिना लागेर उत्पादनमा कमी आउने गरेको छ ।

बाँस्टारीमा सबैगरी करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती भइरहेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker