गण्डकी वाङ्मय प्रतिष्ठानको ११औं अधिवेशन, अध्यक्षमा पुनः गौकुमारी चयन

दमौली : गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन भएकी छन । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११औँ अधिवेशनले न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अञ्जु दाहाल र अमरराज नहर्की, महासचिवमा बाबुराम सापकोटा तथा कोषाध्यक्षमा रमा वाग्ले चयन भएका छन्। त्यसैगरी सदस्यमा शुभ पिया, तेजप्रसाद लामिछाने, भवानी अधिकारी खनाल, सुनिता बुढाथोकी र विष्णुबहादुर खड्का क्षेत्री रहेका छन् । निर्वाचन संयोजक अधिवक्ता चन्द्रकान्त वाग्लेले सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले साहित्यिक गतिविधिलाई निरन्तरता दिनुका साथै नयाँ प्रतिभालाई प्रोत्साहन गर्न आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रतिष्ठानका संस्थापक एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले गण्डकी वाङ्मय प्रतिष्ठानले तनहुँको गौरवपूर्ण साहित्यिक इतिहास बोकेको बताए। ऐतिहासिक विरासतको संरक्षण गर्दै नयाँ पुस्तामा साहित्यिक चेतना र सिर्जनशीलता विकास गर्न प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्ने उनले जोड दिए ।
कार्यक्रममा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, गण्डकी प्रज्ञा प्रतिष्ठानका भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुख प्रा.डा. ईश्वरचन्द्र वाग्ले, प्रतिष्ठानका पूर्वअध्यक्ष सागर उदास, सल्लाहकारद्वय डा. रघुनाथ न्यौपाने र डा. लक्ष्मीकान्त चापागाईं, व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायतले साहित्यिक गतिविधिमार्फत तनहुँलाई राष्ट्रियस्तरमा चिनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत, हरिसिंह गुरुङ, मधुमाया घिमिरे र निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक विमल सिग्देललगायतले नवोदित प्रतिभाको खोजी, प्रोत्साहन र सिर्जनात्मक क्षमताको विकासमा साहित्यिक संस्थाहरू सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे । उनिहरु भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।
सोही अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानको भाषा, साहित्य तथा अनुसन्धान विभाग प्रमुखमा नियुक्त भएका प्रा.डा. वाग्लेलाई सम्मान गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा खुवा रचना वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा प्रा.डा. वाग्लेले महाकवि देवकोटाका साहित्यिक कृतिबारे चर्चा गरेका थिए ।










