तनहुँका चितुवापीडितलाई रु ३७ लाख राहत वितरण

दमौली : तनहुँमा वन्यजन्तुबाट क्षति भएका सर्वसाधारणलाई डिभिजन वन कार्यालय तनहुँले करिब ३७ लाख राहत वितरण गरेको छ । डिभिजन वन कार्यालय तनहुँले मानवीय र पशुधनको क्षतिवापत रु ३६ लाख ९३ हजार चार सय ३९ राहत वितरण गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा चितुवाको आक्रमणबाट मृत्यु भएका तीन बालबालिकाको परिवार र वन्यजन्तुबाट क्षति भएका पशुधनको राहतपीडितलाई उक्त सहयोग गरिएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट उक्त आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाका तीन जना बालबालिकाको मृत्यु भएको थियो । विसं २०८१ साउन ३ गते बन्दीपुर गाउँपालिका–५ कामीडाँडाका १३ वर्षीय सुन्दर कुमाल, चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा १० वर्षीया अनुजा विक र गत जेठ २६ गते बन्दीपुर गाउँपालिका–२ कुवादीमा छ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

यस्तै चितुवाको आक्रमणबाट घाइते म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई उपचारका लागि रु एक लाख सात हजार र भालुको आक्रमणबाट घाइते भानु नगरपालिका–१२ का कल्पना गिरीलाई रु २४ हजार चार सय ३९ सहयोग गरिएको छ ।

चितुवाको आक्रमणबाट क्षति भएका पशुधनको राहतवापत रु पाँच लाख ६२ हजार वितरण गरिएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार त्यस अवधिमा चितुवाको आक्रमणबाट ४७ बाख्रा, एउटा भैँसी, १२ वटा गाईगोरु मरेका थिए ।

भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय तनहुँले चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न आग्रह गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker