सेनवंशी राजाहरू र बन्दीपुर

विद्या ढकाल

चेतना र शिक्षा क्षेत्रमा मुलुकमा नै अग्रणी इतिहास, प्रकृति र संस्कृतिको अनुपम त्रिवेणी हाडकी रानी : हाम्रो बन्दीपुर

पहाडको थुम्कोमा रहेको सुन्दर नगरी बन्दीपुर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा पर्दछ । अर्थात यही सुन्दर नगरीको नामबाट नै गाउँपालिकाको नामकरण भएको छ। करिब नेपालको मध्य भागमा पर्ने यो सुन्दर नगरी काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गको डुम्रे (पिप्ले) बजारबाट रोमाञ्चक नागबेली सडकको करिब आठ किलोमिटर चढाईको यात्रापछि पुग्नसकिन्छ । सोही राजमार्गको बिमलनगर– डुम्रे बीचमा पर्ने ठूलो ढुङ्गाबाट केबलकारको यात्रामा पनि करिब आठ मिनेटमा सहज रुपमा बन्दीपुर पुगिन्छ ।

ऐतिहासिक सम्पदाले धनी, कलात्मक पुराना घरहरू, पुरानो व्यापारिक नाकाका साथ जिल्ला सदरमुकाम, सुन्दर प्राकृतिक दृश्यहरूको संगालो अनि सांस्कृतिक हिसाबले गजबको सङ्गम बन्दीपुर साँच्चै सुन्दर अति सुन्दर छ। यस अर्थमा ’पहाडकी रानी’ उपनामले ख्याति कमाउँदै गरेको हाम्रो बन्दीपुर अहिले देशी तथा विदेशी पर्यटकहरूको प्रमुख गन्तव्य बनिरहेछ । आज हामी यही सुन्दर बन्दीपुरसँग सेनवंशी राजाहरूको सम्बन्ध विषयमा संक्षिप्त भलाकुसारी गर्नेछौँ ।

प्रामाणिक इतिहासलाई खोतल्दा हामी करिब पाँच सय वर्ष पहिलेको बन्दीपुरसँग साक्षात्कार हुनपुग्छौँ । वि. सं. १५७५ मा जब मुकुन्दसेन पाल्पाको राजगद्दीमा बसे तब पाल्पा राज्यको विजय अभियान सुरु भयो । यही सन्दर्भमा वि. सं. १५८१ मा तनहुँ पनि पाल्पा राज्यको अधिन हुन पुग्यो । सम्भवत यस भन्दा पहिले यहाँ कोट, थुम, गढी आदिका आधारमा ससना भूगोलमा केन्द्रित स्थनीय मगर÷गुरुङ जातिका सामन्तहरूको शासन थियो । मुकुन्दसेनको यो विजय अभियान पूर्व कोशी पारी र दक्षिण तराईसम्म पुगेकाले विशाल पाल्पा राज्यको निर्माण हुनपुग्यो । तत्कालीन समयमा दुरीका कारण सम्पर्क, सम्बन्धका हिसाबले विजय गरिएका सबै ठाउँमा राजधानी (पाल्पा)बाट सोझै शासन वा रेखदेख गर्न कठिनाइ हुन गएकाले विजय गरिएका ठाउँहरूमा शासन गर्नका लागि मुकुन्दसेनले आफ्ना छोराहरूलाई प्रतिनिधिका रुपमा नियुक्त गरी पठाए । सोही अनुसार तनहुँमा छोरा भृङ्गी (भृङ्ग) सेन प्रतिनिधिका रुपमा खटिए ।

उनले तनहुँसुर (कोट)लाई आफ्नो प्रशासनिक केन्द्र बनाई पाल्पाकै अधिनमा रहने गरी बुबा मुकुन्दसेनको प्रतिनिधिका रुपमा शासन सञ्चालन गर्नथाले । शासन सञ्चालनमा अरुचि अनि आध्यात्मिक कर्ममा विशेष लगावका कारण वि.सं. १६१० तिर मुकुन्दसेन राजकाजबाट अलग भई जोगी (तपस्वी, माहत्मा)का रुपमा धार्मिक यात्रामा निस्किए । सोही सन्दर्भमा उनी घुम्दै यहाँआइपुगेको र केही समय हालको बन्दिपुर बजारको पश्चिमतिर रहेको पहाडमा बसी ध्यान, पूजापाठमा सम्लग्न रहेको देखिन्छ । जसका कारण सो पहाडको नाम नै मुकुन्देश्वरी रहन पुग्यो । त्यहाँ अहिले पनि हामी पुराना पुरातात्त्विक महत्वका भग्नावशेषहरू देख्नसक्छौँ । त्यस्तै झप्री फाँटमा भट्टराई थरकी बुढी आमाको घरमा उनी बास बसेको जनश्रुति पनि इतिहासका खोजकर्ताहरूका लागि एक महत्वपूर्ण सामग्रीको रूपमा रहेको छ । बन्दीपुर बजारको थोरै उचाईमा रहेको खड्गदेवी मन्दिरको मूल खड्ग उनै मुकुन्दसेनको प्रमुख हतियार भएको विश्वास गरिन्छ ।

उता मुकुन्दसेनको राज्य त्यागपछि छोराहरूले प्रतिनिधिका रुपमा होइन, आफूलाई खटाएको ठाउँमा स्वतन्त्र राज्य घोषणा गरी स्वयंलाई राजा घोषित गर्नथाले। भङ्गीसेनले पनि अलग्गै राज्य घोषणा गरी तनहुँमा सेनवंशको पहिलो राजाका रुपमा इतिहासमा आफ्नो नाम लेखाए । तत्कालीन सेनवंशी तनहुँ राज्य उत्तरमा नाउदी र रिस्ती खोला, पूर्वमा मस्र्याङ्दी, त्रिशुली नदी हुँदै जोगीमारा, पूर्व दक्षिणमा पूरै चितवन इलाका, दक्षिणमा सोमेश्वर हुँदै रामनगर (हाल भारत) र पश्चिममा रिसिङसम्म फैलिएको थियो ।

तनहुँसुर राज्यको राजधानी भए पनि बन्दिपुर सेनवंशी राजाहरूको रोजाइमा परेको एक महत्वपूर्ण आश्रयस्थलको रूपमा देखिन्छ । बन्दीपुर पूर्व कविलासपुर, उपरदाङ् गढी हुँदै नेपाल उपत्यका, दक्षिण देवघाट हुँदै रामनगर अझ काशी (बनारस)सम्म जाने क्रममा सेनवंशी राजा, राज्यका अन्य प्रतिनिधि र सर्वसाधारणहरूको बास बस्ने थलो हुन पुगेको थियो । तनहुँका राजा दामोदर सेनकी छोरी मल्लिकावतीको विवाह गोरखाका राजा पृथ्वीपति शाहका छोरा युवराज वीरभद्र शाहसँग भएको थियो। पारिवारिक कारणबाट गर्भवती अवस्थामा मल्लिकावती माइत तनहुँसुर आएर बसेकी थिइन् । उनी तनहुँ दरवारमा नै सुत्केरी भइ नरभूपाल शाह (पृथ्वीनारायण शाहका पिता) लाई जन्म दिइन् । उता तीर्थयात्राको क्रममा काठमाडौंबाट फर्कँदै गर्दा वीरभद्र शाहको बाटोमा नै निधन भयो (वि.सं. १७५३)। यो परिस्थितिमा पृथ्वीपति शाहपछि गोरखा राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवाद उत्पन्न भयो । यता दामोदर सेनले आफ्नो नाति नरभूपाल शाहलाई गोरखा राज्यको उत्तराधिकारी बनाउने अभियानमा कुटनीतिक प्रयत्नका साथ छिम्केश्वरी भगवतीको पुरश्चरण गर्न लगाएका थिए । हो, यस सन्दर्भमा पनि राजा दामोदर सेन, गुरु पुरोहित र उनका अन्य सहयोगीहरू छिम्केश्वरी जाँदा तथा आउँदा बन्दीपुर मुकाम गरेका थिए ।

बन्दीपुर मुकाम उल्लेख गरी राजा त्रिविक्रम सेनले श्रीमान थापालाई लेखेको एक पत्र प्राप्त भएको छ। सो पत्रमा राज्य (राजा) का तर्फबाट गुणनिधि पन्तलाई दिनुपर्ने १००७ रुपञा राज्यकोषबाट तुरुन्त दिनु भन्ने आदेश गरिएको छ । यसको अर्थ राजाको मुकाम बन्दीपुर थियो । राजाले राजधानी तनहुँसुरमा रहेका आफ्ना खजान्चीलाई यो आदेश पत्र लेखेका तनहुँका अन्तिम सेनवंशी राजा हरकुमारदत्त सेनका बन्दीपुर नै मुकाम भनी लेखिएका दुई पत्र पनि फेला परेका छन् । महानन्द पाण्डेलाई सम्बोधन गरी लेखिएको (मिति प्रष्ट नभएको, वि. सं. १८३४ तिरको अनुमान गरिएको) पत्रमा मुकाम बन्दीपुर माडी उल्लेख गरिएको छ । त्यस्तै संवत् १८३७ जेष्ठको मिति उल्लेख भएको हरिवंश जैसीलाई ५० रूपैञामा साइलाटारको स्वाँरा र जबन्धकी दिएको पत्रमा पनि मुकाम बन्दीपुर लेखिएको छ ।

यसरी हेर्दा बन्दीपुरमा सेनवंशी राजाहरूको घनीभूत आवतजावत देखिन्छ । अब हामीले खोज अनुसन्धान गर्नुपर्ने थप विषय भनेको बन्दिपुर मुकाम हुँदा उनीहरूको बास बस्ने थलो (दरबार) बन्दीपुरको कुन स्थानमा थियो? त्यो दरबार कुन आकार प्रकारको थियो ? कि हाल बन्दै गरेको पाँचतारे होटल ’बन्दिपुर हिल्स’ भन्दा थोरै पूर्वतिर रहेको पुरानो भग्नावशेष (गढी) नै त्यो समयको दरबारका जग त होइनन्? कि पछिका सेनवंशी राजाहरू पनि बन्दिपुर मुकाम हुँदा बास बस्न मुकुन्देश्वरी नै पुग्ने गर्थे ?

अर्को थप एक प्रसङ्ग

उनै हरकुमारदत्त सेनको मुकाम गोलडाँडा मिति संवत् १८३९ मार्ग वदि ४ रोज १ शुभम् उल्लेख भएको ज्याम्रुकको खेत ३२७ रूपैञामा बलभद्र गौलीलाई दिएको रजबन्धकी पत्र फेला परेको छ । यहाँ मुकाम गोलडाँडा मात्र लेखिएको र सो स्थान कहाँ पर्छ भन्ने विषय विवादित बन्न पुगेको छ ।

युद्धबाटनै वि.सं. १८३९ मा तनहुँ राज्य नेपाल राज्यमा मिलाइएको भन्ने विषयमा सबैजसो इतिहासकारहरू सहमत देखिन्छन्। तनहुँको सेनवंशका बारेमा विशेष खोज, अनुसन्धान र लेखन गर्नु भएका आदरणीय डा. सूर्यमणि अधिकारी लगायत अन्य इतिहासकारहरूले पनि सो वर्षको कार्तिक १८ गते तनहुँका राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह लमजुङको तार्कुमा सँगै रहेको अवस्थामा सोही स्थानमा नेपाली फौजको आक्रमण भयो । नेपाली फौजको अगाडि टिक्न नसकेर दुवै राजाहरू आफ्ना सहयोगीहरूको साथ मस्र्याङ्दी नदीको किनारै किनार मनाङको बाटो हुँदै मुस्ताङ निस्केर भागे भन्ने कुरा डा. अधिकारी लगायतले लेख्नु भएको छ । तर उनीहरू मनाङको बाटो हुँदै भागे भन्ने कुरामा विश्वास गर्ने बलियो आधार देखिँदैन। कम्तिमा पनि म यो कुरामा सहमत हुन सकिरहेको छैन ।

पहिलो कुरा, मङ्सिर ३ गते (वदी ४) मुकाम गोलडाँडाको हरकुमारदत्त सेनको रजबन्धकी पत्रले पुष्टि गर्छ की उनी राजगद्दी छोडे पनि यतै कतै सुरक्षित बसी रामनगरतिर जाने मेसो मिलाउँदैछन्। मङ्सिर ३ पछि हिउँले ढाकिएको ५,४१६ मि. उचाईको थोराङ्ला हुँदै मुस्ताङतिर जाने कुराको कुनै सम्भावना देखिँदैन । दोस्रो कुरा, पहिले पनि राजधानी तनहुँसुरबाट बन्दीपुर, देवघाट हुँदै रामनगरसम्म जाने आउने गरेका कारण हरकुमारदत्त सेन राजगद्दी छोडेपछि यही बाटो हुँदै रामनगरतिर लागेको हुनुपर्छ । तार्कुमा नेपाली फौजले आक्रमण गर्दासम्म राजधानी तनहुँसुर सुरक्षित नै थियो । त्यसको केही समय पछि मात्र तनहुँसुर नेपाली फौजले कब्जामा लिएको हो। यसर्थ तार्कुबाट तनहुँसुर आएर नेपाली फौजको मेसो बुझ्दै बन्दीपुर हुँदै देवघाटको बाटो भएर रामनगर जान कुनै रोकावट थिएन ।

तेस्रो कुरा, खोज पडताल गर्दा लमजुङ मस्र्याङ्दी किनार हुँदै मनाङ जाने बाटोमा कतै गोलडाँडा भेटिँदैन । चौथो कुरा, हालको बन्दीपुर गाउँपालिका वडा नं २ (बन्दीपुर बजारबाट करिब एक घण्टाको पैदल दूरी) मा गोलडाँडा भन्ने ठाउँ छ । हो, हरकुमारदत्त सेनले मुकाम गोलडाँडा भनी लेखेको रजबन्धकी पत्र यही लेखेको हुनुपर्छ भन्ने मेरो बुझाई छ । उनले रामनगरतिर भाग्दै गर्दा सो रजबन्धकीबाट बाटो खर्चको जोहो गरेको हुनुपर्छ ।

अन्त्यमा, मणि भञ्ज्याङ (मणि मुकुन्दसेनको नामसँग जोडिएको), सेनवंशी राजाहरूका सुरक्षा किल्ला चन्द्रकोट गढी र हुस्लाङ गढी तथा रानीको खान्कीको रुपमा रहेको सेराटार जस्ता ठाउँहरूले पनि सेनवंशी राजाहरूको बन्दिपुरसँगको साइनोलाई प्रगाढ बनाएको देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker