सवारीसाधनको सुविधाले विद्यालय आवतजावतमा सहज

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ लाब्दीकी मुना गुरुङ विद्यालय जान साढे दुइ घण्टा पैदल हिँड्ने गर्नुहुन्थ्यो । बिहान ७:३० बजे घरबाट हिँडेपछि मात्रै उहाँ समयमै विद्यालय पुग्नुहुन्थ्यो । विद्यालयबाट घर फर्किनका लागि पनि गुरुङलाई त्यति नै समय लाग्थ्यो । वर्षौदेखि यसरी नै हिँडेर विद्यालय आवतजावत गरिरहनुभएकी उहाँलाई अहिले हिँड्नु पर्दैन । घरदेखि विद्यालयसम्म आवतजावत गर्न जिप चढ्न पाइने भएपछि समय बचत भएको र बचेको समय अध्ययनमा लगाउन सहज भएको छ ।

आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङले पैदलयात्राको बाध्यताबाट मुक्ति पाएसँगै अध्ययनमा सहज भएको बताउनुभयो । गाउँपालिकाले घण्टौँ हिँडेर विद्यालय जानुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिकाभित्रका तीन विद्यालयलाई जिप सुविधा उपलब्ध गराएको हो ।

कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जिप उपलब्ध भएपछि विद्यार्थीलाई सहज भएको बताउनुभयो । विद्यालयमा एक सय २४ विद्यार्थी अध्ययनरत रहेकामा ८० बालबालिकाले दैनिक विद्यालयमा आवतजावतमा तीनदेखि पाँच घण्टा यात्रा गर्नुपर्ने अवस्था छ ।

विद्यालय आवतजावतका लागि विगत लामो दशकदेखिको कष्टकर हिँडाइको यात्रामा पूर्णबिराम लागेको छ । कैयौँ वर्षदेखि विद्यार्थी यसरी नै हिँडेर विद्यालय आवजावत गर्नुपर्थ्यो तर अहिले दुइ वटा जिपले दैनिक दुइपटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ । वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जिप सञ्चालन गरिएको छ । वडा नं ५ मा चल्ने जिपले बाटोमा पर्ने वडा नं ६ का विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको छ । दुवै वडाका गरेर ८० विद्यार्थीले यो सुविधा पाएका प्रधानाध्यापक गुरुङको भनाइ थियो ।

विद्यालय रहेको हिलेखर्कमा ६० घरधुरीमध्ये १८ विद्यार्थी मात्रै विद्यालयमा अध्ययनरत छन् । बाँकी विद्यार्थी वडा नं ५ र ६ का हुन् । घरदेखि विद्यालय टाढा रहेका विद्यार्थीलाई हिँडेर विद्यालय जान नपरोस् भन्नका लागि जिप सुविधा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । बस खरिद गरेर उपलब्ध गराउने योजनाअनुरुप बस नआइञ्जेल जिप सुविधा प्रदान गरिएको उहाँको भनाइ थियो ।

यसैगरी आँबुखैरेनी गाउँपालिका-२ स्थित अन्नपूर्ण आधारभूत विद्यालय, अकला आधारभूत विद्यालय र वडा नं ६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका लागि सवारीसाधन उपलब्ध गराइएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “घण्टौं हिँडेर अब कोही पनि विद्यालय जानुपर्दैन ।

त्यसका लागि बस सुविधा उपलब्ध गराउँछौं, सवारीसुविधा प्रयोग गरेबापत एक रुपैयाँ पनि तिर्नुपर्दैन । विद्यालय आवतजावत गर्न घण्टौँ हिँड्नुपर्ने र त्यसले गर्दा पढाइमा समस्या भएपछि सवारी साधनको व्यवस्था गरिएको हो।” उक्त गाउँपालिकाले वडानं १ समस्तीपुरस्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडानं २ स्थित अकला आधारभूत विद्यालयलाई बस उपलब्ध गराएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ५६ लाखको लागतमा उक्त बस खरिद गरेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker