शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

दमौली : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो ।

सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको हो । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उहाँको भनाइ छ ।

नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा रु आठ लाख ५० हजार आम्दानी भइसकेको उहाँले उल्लेख गर्नुभयो । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।

उहाँले भन्नुभयो, “यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।” आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ ।

दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।”

ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उहाँको भनाइ छ । उहाँले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाउनुभएको छ । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ ।

सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker