छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो ।

पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ ।

छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दीपुरमा केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि छिम्केश्वरीमा काम सुरु गर्ने तयारी छ । बन्दीपुरमा आगामी वैशाखदेखि केबलकार सञ्चालन गर्ने लक्ष्य छ ।

“छिम्केश्वरीमा केबलकार निर्माणका लागि डिपिआर तयार भएको छ”, शर्माले भन्नुभयो, “बन्दीपुर केबलकार र स्थानीयको शेयर रहने गरी काम अगाडी बढाउने पक्षमा छाँ ।” छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित केबलकार निर्माण गर्न लागिएको शर्माले बताउनुभयो । “केबलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ”, शर्मा भन्नुहुन्छ । छिम्केश्वरी मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन थपिने विश्वास गरिएको छ ।

परियोजनाले छिम्केश्वरीमा रिसोर्ट निर्माण गर्ने लक्ष्य राखेको छ । तीन हजार छ सय मिटर लामो रहने केबलकारले दैनिक दश हजार यात्री बोक्ने क्षमता राख्नेछ । केबलकार निर्माणका लागि पृथ्वीराजमार्ग खानीखोलामा २२ रोपनी जग्गा खरिद गरिसकिएको छ । थप २५ रोपनी हकभोग गर्दै आएको तर लालपुर्जा नभएका जग्गा नियमपूर्वक गाउँपालिकाको रोहवरमा खरिद गर्ने तयारी गरिएको छ ।

एक हजार आठ सय मिटर पार गरेपछि खर्कमा केबलकारको ‘ट्रान्जिट स्टेशन’ रहनेछ । “यस ठाउँमा आकर्षक सांस्कृतिक रिसोर्ट निर्माण गरिनेछ, यो ठाउँ समुद्र सतहदेखि एक हजार दुई सय मिटरको उचाइमा अवस्थित छ”, उहाँले भन्नुभयो, “यहाँ ३० रोपनी जग्गा खरिद गरिसकिएको छ ।”

हकभोग गरेको थप ६० रोपनी जग्गासमेत गाउँपालिकाको रोहवरमा नियमपूर्वक खरिद गर्ने प्रक्रिया अगाडि बढेको शर्माले बताउनुभयो । “थप ४० रोपनी लालपूर्जा रहेको जग्गा खोजी कार्य गरेका छौँ”, उहाँले भन्नुभयो, “सरकारसँग थप ५० रोपनी जग्गा भाडामा लिएर एक सय ९० रोपनी क्षेत्रफल जग्गामा अत्याधुनिक संस्कृति थिमपार्क रिसोर्ट बनाउने रणनीति छ ।”

तीन हजार छ सय मिटर पार गरेपछि माथिल्लो स्टेशनमा पुगिनेछ । त्यस ठाउँमा भने कम्पनीको नाममा जग्गा खरिद नगरिने बताइएको छ । नेपाल सरकारसँग एक सय रोपनी जग्गा भाडामा लिएर धार्मिक गतिविधिको केन्द्र बनाउने कम्पनीको रणनीति रहेको शर्माले बताउनुभयो । यसै स्थानमा चर्चित देवी कालीमाँ छिम्केश्वरीको मन्दिर छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

विशेषगरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker