तनहुँको जनजीवन सामान्य बन्दै, यातायात तथा व्यापार व्यवसाय सञ्चालनमा सहजिकरण गरिदिन व्यवसायीको माग
नारायण खड्का/तनहुँ

जेन जी आन्दोलनका कारण प्रभावित बनेको तनहुँको जनजीवन सामान्य बन्दै गएको छ । साँझ ७ देखि बिहान ६ बजेसम्म जिल्ला प्रशासन कार्यालयले तनहुँमा कर्फ्यु तथा निषेधाज्ञा जारी राखेपनि दिउँसोको समयमा भने सर्वसाधारणले आफ्नो दैनिकलाई सामान्य बनाउँदै लगेका छन् ।
भ्रष्टाचारविरुद्ध भन्दै जेन जी पुस्ताले गत सोमबार र मंगलबार गरेको प्रदर्शनका कारण तनहुँको जनजीवन विहीबारसम्म असामान्य बनेको थियो । आन्दोलनका क्रममा प्रदर्शनकारीले सरकारी संरचना, सवारी साधानमा तोडफोड र आगजानी गर्दा तनहुँको वातावरण असामान्य बन्न पुग्यो ।

सदरमुकाम दमौली तथा जिल्लाका मुख्य बजार क्षेत्रहरुमा नेपाली आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । यही सुरक्षा बीच शुक्रबार बिहानदेखि दमौली, डुम्रे, आँवुखैरेनी, दुलेगौंडा, खैरेनीटार, भिमाद लगायतका सानाठूला बजार क्षेत्रका व्यपार व्यवसाय खुल्दै गएका छन् भने सर्वसाधारणको चहलपहल पनि क्रमिक रुपमा बढ्दै गएको छ ।
अप्रत्यासित र अकल्पनीय ढंगले घटेको यस घट्नले ल्याएको सुन्यतलाई क्रमिक रुपमा चलायमान बनाउनुपर्ने र प्रदर्शनकारीको जायज मागलाई सम्बोधन गरी जनजीवनलाई सहज बनाउन सबै क्षेत्र लाग्नुपर्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र बताउँछन् ।

काठमाडौंमा सोमवार पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीले घातक बल प्रयोग गर्दा क्यौं व्यक्तिको ज्यान गएपछि भोलिपल्ट मंगलबार आन्दोलन उत्कर्षमा पुगेको थियो । उत्कर्षमा पुगेको आन्दोलनमा सहभागिहरुले तनहुँका सरकारी कार्यालयमा तोडाफोड आगजानीमा उत्रिएका थिए । जस्का कारण जिल्लाका सरकारी कार्यालयहरुले सेवा प्रवाह गर्न सकेका छैनन् भने सार्वजनिक यातायात, शिक्षण संस्थाहरु बन्दनै रहेका छन् । जिल्ला अदालतले भने आइतबारबाट सेवा प्रवाह सुरु गर्ने जनाएको छ ।
यातायात व्यवसायी, होटल व्यवसायी तथा उद्योगी व्यवसायीहरुले शान्ति सुरक्षाको व्यवस्था गरी सबै क्षेत्रलाई सहज रुपमा सञ्चालन हुने वातावरण तयार गरिदिन सम्बद्ध पक्षलाई यातायात व्यवसायी विश्व श्रेष्ठले आग्रह गरेका छन् ।

उनले भने, ‘नेपालीका महानचाडपर्व भित्रिसकेका कारण प्रदर्शनकारीको जायज मागलाई सम्बोधन गर्दै अन्तरिम सरकार बनाउने काम भइरहेपनि अन्य क्षेत्रलाई पनि चलायमान बनाउनुपर्ने खाँचो छ ।’
यस्तै, होटल व्यवसायी दुर्गाविलास भट्टराईले अकल्पनीय घटना घटी ठूलोमात्र धनजनको क्षति भएको हुँदा अहिले मुलुक शोकमा अनि राजनीतिक सून्यताको अवस्थामा रहेको हुँदा यो सून्यतालाई चिर्दै अब मुलुकलाई नयाँ शिराबाट अगाडि बढाउन ढिला गर्न नहुने बताएका छन् ।

उनले भने, ‘जेन जी प्रदर्शन र त्यसपश्चात उत्पन्न परिस्थितिले अहिले सबै क्षेत्र प्रभावित भइरहेको छ । व्यापार व्यवसाय ठप्प छ । सर्वसाधारणको दैनिकी असहज बन्दै गएको छ । नेपालीका महानचाड पर्वहरु नजिकिएका छन् । यो अवस्थालाई पनि ध्यान दिंदै सबैले हातेमालो गरी मुलुकलाई शान्ति र अग्रगमनको बाटोमा डो¥याउन ढिलाई गर्नुहुँदैन ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालतमा आगजानी गरी पूर्णरुपमा ध्वस्त बनाएका छन् । खानेपानी, मालपोत, जलस्रोत तथा सिंचाई, आन्तरिक राजश्व, डिभिजन वन कार्यालय, सरकारी वकिलको कार्यालयमा तोडफोड तथा त्यहाँ रहेका सवारी साधानमा आगजानी गरेका थिए ।

यस्तै, जिल्लास्थित व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीको पार्टी कार्यालयमा पनि तोडफोड, आगजानी गरी क्षति पु¥याएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सरकारी ३४ नीजि ४ गरी ३८ वटा दुईपाङ्ग्रे सवारी साधान जलाएर पूर्ण क्षति गरिएको छ भने १० वटामा आंशिक, २ सामान्य क्षति भएका छन् । यस्तै, १७ वटा सरकारी चारपाङ्ग्रे सवारी साधान जलेर पूर्ण रुपमा क्षति भएका छन् भने ११ वटामा आंशिक क्षति भएको तनहुँ प्रहरीले जनाएको छ ।

जेन जी आन्दोलनका क्रममा ४ वटा सरकारी कार्यालय पूर्ण रुपमा जलेर क्षति भएका छन् भने १७ वटा आंशिक र १ सामान्य क्षति भएको छ । व्यक्ति तर्फ ९ वटा संरचनामा आंशिक क्षति भएको तनहुँ प्रहरीले जनाएको छ ।











