नेपालकै पहिलो होमस्टे सर्किटतर्फ बन्दीपुरको नयाँ पहल

बन्दीपुर : सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणसँग प्रत्यक्ष रूपमा जोडिने पर्यटन अभ्यासका रूपमा होमस्टे (घरबास) पछिल्ला वर्षहरूमा नेपालमा निकै लोकप्रिय बन्दै गएका छन् । स्थानीय समुदायले आफ्नै घरमा पर्यटकलाई आतिथ्य प्रदान गर्ने यस प्रणालीले पर्यटकलाई ग्रामीण जीवनको वास्तविक अनुभव दिनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने काम गर्छ। ‘होमस्टे’ शब्दलाई नेपालीमा सामान्यतः ‘घरबास’ भनिए पनि यसको सार भने पारिवारिक वातावरणमा बसोबास गर्दै स्थानीय संस्कार, संस्कृति र जीवनपद्धतासँग नजिकबाट परिचित गराउनु हो ।

नेपालका धेरै पुराना गाउँवस्ती, सहर तथा व्यापारिक अड्डाहरू समयक्रममा विभिन्न कारणले उजाड वा खण्डहर बन्न पुगेका उदाहरण प्रशस्तै भेटिन्छन्। तर यस्ता ठाउँहरू पुनः जीवन्त भएर पर्यटकीय केन्द्रका रूपमा स्थापित भएका उदाहरण भने निकै कम छन्। यस्तै दुर्लभ उदाहरणमध्ये एक हो तनहुँ जिल्लाको बन्दीपुर। एक समय व्यापारिक केन्द्रका रूपमा परिचित बन्दीपुर समयसँगै आफ्नो पुरानो स्वरूप गुमाउँदै गएको थियो। तर पछिल्ला वर्षहरूमा संरक्षण, पुनःसंरचना र पर्यटन प्रवद्र्धनका प्रयासका कारण बन्दीपुर पुनः जीवन्त बन्दै गएको छ ।

आज बन्दीपुरलाई ‘पहाडकी रानी’ भनेर चिनिन्छ । यहाँका परम्परागत नेवारी घरहरू, ढुंगे सडक, सांस्कृतिक मौलिकता, हिमालका मनोरम दृश्य र शान्त वातावरणले बन्दीपुरलाई एक खुला जीवित सांस्कृतिक संग्रहालयको रूपमा स्थापित गराएको छ । यही विशेषताका कारण बन्दीपुरले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। भीडभाड र कोलाहलबाट टाढा रहेर प्रकृतिसँग रमाउन चाहने, शान्त र आरामदायी समय खोज्ने पर्यटकहरूका लागि बन्दीपुर अहिले आकर्षक गन्तव्य बनेको छ।

बन्दीपुरले हालै सम्पन्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सफलतापूर्वक सम्पन्न गरेपछि पर्यटन प्रवद्र्धनलाई अझ सशक्त बनाउन नयाँ पहलहरू अघि सारेको छ। त्यसैअनुसार सन् २०२६ लाई ‘ग्रामीण पर्यटन भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरिएको छ। नेपालको पर्यटन नीति २०८२ ले अघि सारेको æअद्वितीय पर्यटकीय गन्तव्य नेपालÆ भन्ने मूल अवधारणालाई आत्मसात गर्दै भौगोलिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधताको उपयोग गरी नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास, विस्तार र विविधीकरण गर्ने लक्ष्य लिइएको छ।

यसै उद्देश्यलाई मूर्त रूप दिन बन्दीपुरले एक महत्त्वाकांक्षी योजना अघि सारेको छ– बन्दीपुर–केशवटार होमस्टे सर्किट। सम्भवतः नेपालकै पहिलो होमस्टे सर्किटका रूपमा विकास हुन लागेको यस योजनाले ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटले १४ वटा होमस्टे र २० वटा गाउँलाई समेट्नेछ। यस सर्किटमा मुख्यतः गुरुङ, मगर र नेवार समुदायका साथै क्षेत्री, ब्राह्मण र दलित समुदायले सञ्चालन गरेका होमस्टेहरू समावेश हुनेछन्। यसले पर्यटकलाई एउटै स्थानमा मात्र सीमित नभई विभिन्न गाउँमा पुगेर फरक–फरक संस्कार, संस्कृति, खानपान र जीवनशैलीको अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

बन्दीपुर गाउँपालिकाका अधिकांश वडाका साथै व्यास नगरपालिकाको वडा नम्बर १४ समेत समेटिने यस सर्किटले होमस्टे सशक्तीकरणसँगै पर्यटन गतिविधिमार्फत ग्रामीण समुदायको सुख, शान्ति र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ। स्थानीय उत्पादन, परम्परागत परिकार, सांस्कृतिक कार्यक्रम र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको आयआर्जन बढाउने योजना पनि यस सर्किटको मुख्य उद्देश्य हो।

यस योजनालाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउने उद्देश्यले आइतबार बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा पहिलो छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त छलफलमा पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी, स्थानीय प्रतिनिधि तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो। छलफलले होमस्टे सर्किट विकासका लागि तीन चरणमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पहिलो चरण अन्तर्गत चैत्र १४ र १५ गते दुवै पालिकाका प्रमुखहरू, पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले सर्किट क्षेत्रमा पर्ने गाउँहरूको अध्ययन तथा अवलोकन गर्नेछन्। यस क्रममा प्रत्येक होमस्टे गाउँमा सर्किटसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनेछ, जसबाट स्थानीय समुदायलाई यस योजनाको उद्देश्य र सम्भावित लाभबारे स्पष्ट जानकारी दिने लक्ष्य राखिएको छ।

त्यसैगरी बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड पोखराको संयुक्त आयोजनामा आगामी बैशाख १८ र १९ गते बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय ‘गाउँ पर्यटन मार्ट २०८३’ आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा होमस्टे सर्किटलाई विभिन्न सञ्चार माध्यम तथा पर्यटन व्यवसायीमार्फत व्यापक रूपमा प्रचारप्रसार गर्ने योजना बनाइएको छ।

ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६ लाई लक्षित गर्दै बन्दीपुरले पर्यटन पहुँच विस्तार गर्ने उद्देश्यले गाउँ–गाउँसम्म पुग्ने ‘सफारी जीप’ सेवा पनि सञ्चालनमा ल्याइसकेको छ। यसले पर्यटकलाई सर्किटभित्रका विभिन्न गाउँहरूमा सहज रूपमा भ्रमण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको पर्यटनविद् एवं सम्पादा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।

उनले भने, ‘समग्रमा बन्दीपुरले अघि सारेको होमस्टे सर्किट केवल पर्यटन प्रवद्र्धनको कार्यक्रम मात्र नभई ग्रामीण जीवन, संस्कृति र अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन विकास अवधारणा पनि हो। स्थानीय समुदायको सक्रिय सहभागिता, सरकारी निकायको सहयोग तथा निजी क्षेत्रको सहकार्यबाट यो योजना सफल हुन सकेमा बन्दीपुर मात्र होइन, तनहुँ र समग्र गण्डकी प्रदेशकै ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना खुल्नेछ ।’

तसर्थ बन्दीपुरले परिकल्पना गरेको यस होमस्टे सर्किटलाई विश्वसामु प्रस्तुत गर्न योग्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय समुदाय, नागरिक समाज, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको उनलेबताए। उनले भने, ‘यदि सबै पक्षको सक्रिय साथ र सहयोग प्राप्त भयो भने बन्दीपुरको यो पहल भविष्यमा नेपालकै ग्रामीण पर्यटन विकासको नमूना बन्ने सम्भावना प्रबल देखिन्छ ।’

 

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker