पत्रु खाना र मोबाइलले ल्याएका रोगहरु

  • डा. अरुणा उप्रेती

दसैं गयो, अब तिहार आउन लाग्यो । दिदीबहिनीले दाजुभाइलाई स्वास्थ राम्रो होस् भनेर दुबोको माला लगाइदिदाँ, फलफूल दिदाँ, पिज्जा, केक, चाउचाउ र कुर्मुरे दिए भने त स्वास्थ झन् नराम्रो हुन्छ । जंकफुडमा, अर्थात पत्रु खानामा बालबालिकाको आकर्षण बढ्नुका मुख्य कारणहरूमध्ये पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने खानेकुराको महत्वबारे नसिकाउनु हो । घरमा पकाउँदा समय धेरै खेर जाने र अल्छी लाग्ने भएकाले प्याकेटका खानेकुरा दिदाँ ‘आनन्द’ हुन्छ भन्ने भ्रम पनि अर्को कारण हो ।

अहिले एकछिनको आनन्दले जीवनभर आफ्ना सन्तानहरू रोगी भएर बाँच्दा के आनन्द हुन्छ होला ? आमाबुबाको मानसिकता कस्तो छ भने खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर ख्वायो भने खान्छ । त्यसैले भातमा यस्ता खानेकुरा हालिदिन्छन्, अनि बच्चाले स्वाद लिएको देखेर खुशी हुन्छन् । तर, यो खुशी कति रहला र ? जब २०-२२ वर्षको उमेरमा नै सन्तानहरू मोटो हुन्छन्, चिनी रोग लाग्ने सम्भावना बढ्छ । शिशु अवस्थादेखि नै बजारमा पाइने प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म चुरोट र रक्सी खानेको जस्तै लत बस्छ ।

बाबुआमाले साना नानीहरूलाई स्कुल जाँदा पनि पेटभरि खावोस् भनेर बिस्कुट, कुरमुरे हालेर पठाउँछन् । अभिभावककै सोचाइमा यस्तो भएपछि बालबच्चाको त के दोष र ? बिस्तारै उनीहरूको पत्रु खाना खाने बानी बढ्दै जान्छ । दाल, भात, रोटी उनीहरू हेर्न चाहँदैनन् । सरकारको गलत नीतिले टोलटोमा राखिएका पत्रु खानाको होडिङ बोर्ड, टीभी रेडियोमा बालबच्चालाई नै प्रयोग गरेर बनाइएका प्रचार सामग्रीले बालबालिकालाई जंकफुडप्रति आकर्षित गर्छ । यस्तो प्रचारलाई सरकारले नियन्त्रण गर्न सक्दैन । स्वास्थ्य मन्त्रालयले पत्रु खानाको नकारात्मक असरका बारेमा अभिभावकमा चेतना जगाउँदैन ।
पत्रु खानाको असर तत्काल त नदेखिए पनि भविश्यमा स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने शंका छैन । भान्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, मकैबारीमा फलेको मौसम अनुसारका फलफूल नखाए महंगो प्याकेटको खाना दिने चलनले हाम्रो भोजनको संस्कृतिमा नै नराम्रो असर परेको छ । पत्रु खाना बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ ।

किनभने, पत्रु खानामा क्याल्सियम, भिटामिन, खनिजजस्ता तत्वहरू हुँदैनन् । अनि बच्चा कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा बाधा पुग्छ । तर, यो कुरा पनि धेरै विस्तारै हुनाले प्रायः कमैको ध्यान जान्छ । अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुन्छ, त्यसैले बालबालिकामा मोटोपन बढ्छ। अनि केही वयस्क भएपछि उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुनेजस्ता समस्या देखिन्छन् । घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक लगायतका खानेकुरा दिने अभिभावकले सम्झन सकोस्, तपाई आफ्ना बालबालिकालाई ‘अस्वस्थ बन्न’ मद्दत गर्दै हुनुहुन्छ । जिन्दगीभर बिरामी होस, मुटु कमजोर होस्, हड्डीहरू मक्किनु, शारीरिक र मानसिकरुपमा पनि सधैं सुस्त रहोस् भन्ने कामना नगर्ने हो भने पत्रु खाना दिन छोड्नुस् ।

परिवारका सदस्यले सबैभन्दा पहिले यो यो बुझन जरुरी छ कि, घरको खाना खाएन भनेर बालबालिलाई खानामा पत्रु खाना मिसाएर दिने, त्यति गर्दा पनि मानेन भने मोबाइल दिएर खुवाउने बानी नराम्रो बानी हो । अस्वस्थ बानी हो, आफूसँग राखेर घरकै खाना ख्वाउनुपर्छ । बच्चाले आफ्नो हातले भात, रोटी, खाँदा पोख्छ, फोहोर गर्छ, अनि विस्तारै सफा गरेर सिक्छ । साथै परिवारमा सबैजनासँगै बसेर खाँदाको आनन्दले पनि बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । त्यसकारण बालबालिकालाई जसरी सकिन्छ, पत्रु खाना नख्वाउने, बानी छ भने हटाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।

बच्चालाई स्कुल पठाउँदा होस् वा घरमा खाजा खुवाउँदा होस्, घरकै खाजा चिउरा, चना, अण्डा, आलु भटमास, मकै भुटेर खुवाउने बानी पार्ने हो भने बालबालिकालाई पत्रु खानाको लत बस्दैन, कम हुन्छ । यो विषयमा बुबाआमा आफ्ना सन्तानका लागि आफू पनि अनुशासनमा बस्नुपर्छ । आफूले बाहिरका खाना नखाए घरकै खोज्छ। उनीहरूलाई घरकै खाना ख्वाउन सजिलो हुन्छ । पैसा बच्छ स्वास्थ्य राम्रो हुन्छ ।

स्वस्थ खानाले ‘एक पन्थ, हजारौं काज’ को काम गर्छ । स्कुलका शिक्षकहरूले पनि पत्रु खाना न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । बालबालिकाले आमाबुबाको भन्दा पनि शिक्ष्कले भनेका कुराहरू मनन गर्छन् । घरमा खाजा बनाउने प्रक्रियामा पनि छोराछोरीलाई सामेल गराउने गर्नुपर्छ, जसले गर्दा उनीहरूलाई कुन खानेकुराको महत्व कस्तो हुन्छ भनेर जानकारी होस् । स्कुल र समुदायबाट नै पत्रुखानालाई निरुत्साहित गर्नेखालको नीति सरकारले ल्याउनुपर्छ । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आमसञ्चारबाट पनि अस्वस्थकर खानाको बारेमा सूचना प्रवाह गर्नुपर्छ । बालबालिकाको खानामा आकर्षित हुन् र उनीहरू स्वस्थ्य रहुन् ।
सा. अनलाइनखबर डटकम

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker