तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा, रोगी पत्ता लगाउनै चुनौती

दमौली : तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन्। चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ३१८ क्षयरोगी भेटिएका थिए। त्यसमध्ये १३ जनाको मृत्यु भएको र नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने दर ९१ प्रतिशत रहेको उनले जानकारी गराए ।
त्यसैगरी आव २०८०/८१ मा जिल्लामा ३२५ र आव २०७९/८० मा २८५ जना क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको जानकारी गराउँदै सूचना अधिकारी कँडेल भने, “१४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ ।”
यस्तै, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले जिल्लामा क्षयरोगी पहिचान गर्नु मुख्य चुनौती बन्दै गएको बताए । उनले भने, “धेरै बिरामीहरू लुकेर बस्ने, परीक्षणमा नआउने तथा समयमै स्वास्थ्य संस्थामा नपुग्ने प्रवृत्तिका कारण क्षयरोग नियन्त्रणमा कठिनाइ भइरहेको छ ।”
“क्षयरोग निको हुने रोग हो, तर समयमै पत्ता लगाउन नसक्दा जटिलता बढ्ने र अरूमा समेत सर्ने जोखिम हुन्छ”, प्रमुख दवाडीले भने, “त्यसैले लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्छ ।”
तनहुँको भानु नगरपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाले क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गरिरहेको बताउँदै प्रमुद दवाडीले भने, “ती पालिकाहरूमा सक्रिय रूपमा क्षयरोगी खोजपड्ताल, परीक्षण अभियान सञ्चालन गरिएको छ ।”
अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरू घरदैलोमै पुगेर जोखिममा रहेका व्यक्तिहरूको पहिचान गर्ने, लक्षण देखिएकाहरूको नमुना संकलन गर्ने तथा परीक्षण गराउने कार्य भइरहेको उलने जानकारी गराए । उनले भने, “क्षयरोगको परीक्षण तथा उपचार पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ ।”
स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई दुई हप्ताभन्दा बढी खोकी लागेमा, तौल घट्दै गएमा, ज्वरो तथा राति पसिना आउने जस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन आग्रह गरेको छ । समुदायको सक्रिय सहभागिता, जनचेतना र समयमै परीक्षणले मात्र क्षयरोग नियन्त्रण तथा उन्मूलन सम्भव हुने भएकाले यस अभियानमा सबै क्षेत्रबाट सकरात्मक पहल र सहकार्यको आवश्यकता रहेको कार्यालयले जनाएको छ ।
कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।










