बन्दीपुरको मुकुन्देश्वरीमा “मिनी ग्रेटवाल”
के.वि. मसाल

पर्यटकहरुले घुम्नको लागि नयाँ ठाउँ खोज्दछन। मानिस स्वभावैले जिज्ञासु हुन्छ। उही ठाउँ, उही दृष्य र उही वातावरणमा पर्यटकले नयाँ कुरा पाउँदैन । पर्यटकहरुले यात्रामा फरक अनुभूति खोज्दछ । पर्यटकले घुम्नको लागि नयाँ ठाउँ खोज्ने मुख्य कारण त्यहाँको इतिहास, संस्कृति र परम्परा बुझने इच्छाले पनि हो । नयाँ ठाउँमा पुग्दा नयाँ दृश्य, नयाँ भाषा, भेषभूषा, खानपान, परम्परा र वातावरणको अनुभव पर्यटकहरुले गर्न सक्दछन । नपुगेको ठाउँ र थाहा नपायका कुरा पर्यटकलाई नयाँ हुन्छ । अहिले नेपालमा पर्यटकहरुलाई घुम्ने ठाउँ धेरै छन । तर तनहुँको बन्दीपुरमा भने पर्यटकहरु धेरै पटक पुग्ने गर्दछन । कारण हो बन्दीपुरमा पर्यटनका लागि पूर्वाधार थपिदै गएका छन ।
बन्दीपुरमा अहिले पर्यटकहरुका लागि ऐतिहासिक सम्पदा मुकुन्देश्वरी पुग्न पदमार्ग निर्माण भएको छ। बन्दीपुर गाउँपालिका–२ थानीमाईदेखि सुरुहुने पदमार्गलाई मिनी ग्रेटवाल भनिन्छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्गले बन्दीपुर पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । बन्दीपुरमा परम्परागत नेवारी आर्किटेक्ट जोगाइराखेका घरहरु, स्थानीय स्लेट ढुङ्गाले चिटेको बाटो, नेवार, मगर, गुरुङ र विभिन्न जातजातीको जिबित जातीय संग्रहालय, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, ¥याफिटङ लगायत एडभेञ्चरको मज्जा लिन पर्यटकहरुले सक्दछन । तनहुँ हिमालसंग जोडिएको जिल्ला त होइन तर पर्यटकहरुले बन्दीपुरबाट फराकिला हिमश्रृंखलाको अवलोकन गर्न सक्दछन । पर्यटनमा प्रकृति, संस्कृति र इतिहास धेरै पर्यटकहरुको रुचिको बिषय हुन्छ। बन्दीपुर जादा पर्यटकहरुले यी सबै कुराको अनुभव लिन पाउँछन ।

बन्दीपुर जादा इतिहासमा रुचि राख्ने र पदमार्गमा रमाउन खोज्ने पर्यटकहरु मुकुन्देश्वरीमा पुग्दछन । मुकुन्देश्वरीमा जादा पर्यटकहरुले ग्रेटवालको बारेमा जान्न खोज्दछन । गे्रटवाल भन्ने शब्द मूलतः चीनको ग्रेट वाल अफ चाइनाबाट प्रेरित भएको हो । यसको शाब्दिक अर्थ हुन्छ लामो पर्खाल वा बाटो। जसले पहाड, डाँडो वा सीमाना जोडदै दृश्यावलोकन, पदयात्रा र पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा काम गर्दछ । तर नेपालमा निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मिनी गे्रटवालहरु सामान्यतया डाँडाकाँडामा घुम्ने पदमार्गसँग जोडिएका हुन्छन । चिनको ग्रेटवालको ऐतिहासिक पृष्ठभूमि लामो छ। चिनको ग्रेटवाललाई चिनियाँ भाषामा चाङ च्याङ भनिन्छ ।
विश्वकै सबैभन्दा लामो मानव निर्मित संरचनामध्ये ग्रेटवाल एक हो । यसको निर्माणको आरम्भ ईसा पूर्व ७औं शताब्दी तिर चिन, यान, झाओ, वेई जस्ता साना राज्यहरुले आफ्ना सीमानाको रक्षाका लागि पर्खाल बनाउँदा भएको थियो । पछि चिन सम्राट चिन शिहुआङले यी साना पर्खालहरुलाई एकआपसमा जोडने आदेश दिए। त्यसपछि ग्रेटवाल अफ चाइनाको रुप देखिन थालेको हो। ग्रेटवालको निर्माण गर्न विभिन्न चरणमा करिवन दुई हजार वर्ष लागेको थियो । ग्रेटवालको कुल लम्बाई करिवन २१ हजार १९६ किलोमिटर रहेको छ । यसमा ढुङ्गा, माटो, इँटा, काठ र स्थानीय सामग्री प्रयोग गरिएको छ । पर्खालसँगै निगरानी मीनार, सैनिक चौकी, ढोका र गोदामहरु पनि निर्माण भएका छन । ग्रेटवाल निर्माणका विभिन्न चरणहरुमा लाखौँ मजदुर, सैनिक, र कैदीहरु संलग्न थिए। इतिहास अनुसार ग्रेटवालको निर्माण क्रममा १० लाखभन्दा बढी मानिसहरुको मृत्यु भएको अनुमान छ । ग्रेटवाल निर्माणको मुख्य उद्देश्य उत्तरी आक्रमणकारीहरुबाट रक्षा र आक्रमण रोक्नु थियो ।
बन्दीपुर जाने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । यस पदमार्गलाई ‘मिनी ग्रेटवालका रुपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । अहिले मिनी ग्रेटवालको दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्ने काम भएको छ । मिनी ग्रेटवालको दूरी दुई किलोमिटर रहेको छ । ग्रेटवालको मार्गमा थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संकेत गरिने होडिङबोर्ड समेत रहने छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहेको छ ।

बन्दीपुरमा बिशेष गरी पर्यटकहरुमध्ये सबैभन्दा धेरै चीनका रहेका छन। त्यसपछि जर्मनी, स्पेन, इटाली, फ्रान्स, अमेरिका र नेदरल्यान्डबाट पर्यटकहरु पुग्ने गर्दछन । वाह्य पर्यटकहरुलाई बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । यसरी तयार गरिएको नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषाका सूचि विभिन्न स्थानमा क्युआर स्क्यान गरी पर्यटकले पढन तथा सुन्न सक्ने छन ।
पाल्पाली राजा मणि मुकुन्दसेनले राज्य विस्तारका क्रममा बटौलीदेखि तनहुँसम्म आफ्नो राज्य फैलाएका थिए। त्यसैक्रममा मुकुन्दसेनले बन्दीपुर माथिको डाँडामा आफ्नो किल्ला बनाएका थिए । पछि मुकुन्दसेन राजाको मृत्युपश्चात उनका छोराहरुले अंशबण्डा गरी राज्य लिए । जसअनुसार मुकुन्द सेनका जेठा छोरा भृङ्गी सेनले तनहुँ भनेर चिनिने अहिलेको बन्दीपुर र आसपासका राज्य लिए र बन्दीपुरको मुकुन्दसेन दरबार बनाएका थिए । मुकुन्दश्वरी किल्ला भने अहिले भग्नावशेषको रुपमा देख्न सकिन्छ । मुकुन्देश्वरी गढीमा नवदुर्गाको समयमा फूलपातीकोे दिन राँगाको बली दिइन्छ र भिरबाट फालिन्छ । कोतको सम्झनामा यसो गरिँदै आइएको जानकारहरु बताउँछन। पछिलो समय बन्दीपुर गाउँपालिकाले ऐतिहासिक किल्लालाई पर्यटकीयस्थल निर्माण गर्ने नयाँ अवधारणा ल्याएको छ । गाउँपालिकाकै परिकल्पनामा मणि मुकुन्देश्वरी पर्खाल निर्माणाधिन छ। पर्यटकहरुले त्यसलाई मिनी ग्रेटवाल नाम दिएका छन ।
थानीमाई मन्दिरबाट शुरु भएर मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ। सूर्योदय र सूर्यास्तको मनोरम दृष्यावलोकनका लागि मुकुन्देश्वरी डाँडामा पुग्ने पर्यटकहरु रमाउने गर्दछन । अर्को तर्फ इतिहास जान्न चाहनेहरुका लागि मुकुन्देश्वरी किल्ला अवलोकन निकै महत्वपूर्ण हुन्छ । अर्को तर्फ मुकुन्देश्वरी गढी, चन्द्रकोट गढी र हुस्लाङकोट गढीले बन्दीपुरको ऐतिहासिक गाथा बोकेका छन। बाइसे, चौबिसे राजाका पालामा तनहुँको केन्द्र तनहुँसुर भएपनि त्यस पछाडिको गढीको रुपमा मणि मुकुन्देश्वरी गढीलाई लिइन्छ। बन्दीपुरमा सेन राजाहरुले पनि शासन गरेका थिए ।

बन्दीपुर पुगेपछि पर्यटकहरले भक्तपुरे शैलीमा निर्माण गरिएको बजार क्षेत्रका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खडदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायत स्थलहरुमा पुग्ने गर्दछन । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमश्रृंखला देखिन्छ । प्रायःगरी पर्यटकहरु हिमश्रृंखला अवलोकन गर्नका लागि टुँडिखेल पुग्दछन । टुँडिखेल बन्दीपुर बजारको पश्चिम पट्टी पर्दछ । टुँडिखेलबाट हिमालय पर्वत, मस्र्याङदी नदीको नागबेली आकार र आसपासका उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । अर्को तर्फ टुँडिखेलबाट गोरखा दरबार, लिगलिगकोट र लमजुङको राइनासकोट पनि देख्न सकिन्छ ।
राणाहरुको शासनकालमा अहिलेको टुँडिखेललाई पश्चिम ३ नम्बर बाहिनी अया अर्थात ब्यारेक राखिएको थियो । त्यहि ठाउको थुम्कालाई पछि टुँडिखेल बनाइएको हो । टुँडिखेलमा वर, पिपलको ५ वटा रुख भएको पन्चवृक्ष चौतारा पनि रहेको छ । बन्दीपुर बजार प्रवेश गर्ने बित्तिकै पूरानो दरबार जस्तै एउटा घर देखिन्छ। चन्द्रगोपाल प्रधानले वि.सं. १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर बनाएका थिए । तत्कालीन समयमा दरबार जस्तो घर बनाएका कारण राणाहरुले चन्द्रगोपाललाई पक्राउ गरि ३०५ चाँदीको मोरु जरिवाना तिराएका थिए । जुन घरमा धेरै पर्यटकहरुले चासो पुर्वक अवलोकन गर्दछन ।
नेवारी शैलीका परम्परागत घरहरु भएको बन्दीपुर बजार करिब चार सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरुले बसालेको बस्ती हो । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरु बन्दीपुरको मुख्य आकर्षण हो। ती घरहरु बन्दीपुरका ऐतिहासिक सम्पदा हुन । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन । १८ र १९औं शताब्दीमा बन्दीपुर भारत र तिब्बत बीचको मार्गमा एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । ब्यापारीहरु कोलकता जाने, काठमाडौं र तिब्बतसँग ब्यापार गर्नका लागि बन्दीपुरको बाटो प्रयोग गर्दथे ।

वि.सं. २०२५ मा बन्दीपुरबाट तनहुँको सदरमुकार दमौली सारियो । सदरमुकाम सरेपछि बन्दीपुर सुनसान बन्यो । २०५० सम्म आइपुग्दा बन्दीपुर बजार खण्डहरमा परिणत भएको थियो । त्यतिखेर बन्दीपुर डेड सिटी अर्था मृत शहर भनेर समेत चिनिएको थियो । कतिपयले बन्दीपुरलाई भूत गाउँ भनेर समेत सम्बोधन गर्न थालेका थिए । तर, पछि फेरि बन्दीपुरबाट काठमाडौं र भक्तपुर फर्केका नेवार समुदायले बन्दीपुरको विकासका लागि पुनः पहल गरे । २०६३ पछि बन्दीपुरलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा चिनाउने काम भयो । यसपछि क्रमशः बन्दीपुरलाई पर्यटकीय नगरीको रुपमा परिचित बनाउँदै लगियो ।
बन्दीपुरमा नेवार समुदायमात्र नभएर मगर, गुरुङ, ब्राह्मण लगायतका जातजातीको बसोबास रहेको छ । यी सबै जातजातीको बन्दीपुर जीवन्त साँस्कृतिक संग्रहालय पनि हो । बजार बीचको बाटो र आसपासका गोरेटाहरुमा बन्दीपुरकै स्लेट ढुङ्गा छापिएका छन । पर्यटकहरुका लागि बन्दीपुर बजार वरपर जाने उकालो, ओरालो बाटाहरुमा खुडिकला बनाएर हिँडन सहज भएको छ । बन्दीपुर बजार बीचमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। जसले गर्दा बन्दीपुर बजार शान्त गन्तव्य बनेको छ । सवारीसाधन रहित बन्दीपुर बजारको बीच सडकमा हरेक होटल, रेष्टुरेन्ट अगाडि टेबल, कुर्सी राखिएका छन । जहाँ बसेर बजार क्षेत्रको दृश्यावलोकन गर्दै पर्यटकहरुले खानपिन गर्न सक्दछन। पर्यटकहरका लागि बन्दीपुरमा एक सय बढी होटलहरु रहेका छन । तीनधारा, नारायण टोल, मोहोरिया, टुँडिखेलमा पनि होमस्टे खुलेका छन । अर्को तर्फ बन्दीपुर गाउँपालिकाले रानीवन क्षेत्रमा मगर र गुरुङ गाउँलाई जोडन र पर्यटकलाई आकर्षित गर्न नौ किमि साइकल लेन निर्माणले गुरुङ जातिको कोरिखा होमस्टे र मगर जातिको रामकोट होमस्टे पुग्न सजिलो भएको छ ।
बन्दीपुरमा बाह्रै महिना शीतल, चिसो हावापानी हुन्छ । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । कोलाहल, धुवाँधुलोबाट मुक्त, पहाडकी रानी नामले परिचित बन्दीपुर पर्यटनका लागि सबैको रोजाइमा पर्दछ । बन्दीपुरमा नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्दछ । बन्दीपुर पुग्ने पर्यटकहरु यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गर्दछन । बन्दीपुरमा दुई÷तीन दिन मात्रै बस्ने गरेर जाने पर्यटकहरु थप केही दिन बन्दीपुरमा नबसी फर्किंदैनन । बन्दीपुरमा पर्यटक पहिलो पटक पुगेपछि पनि फेरि पुग्न खोज्दछन । रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, ¥याफिटङ लगायत एडभेञ्चरको मज्जाले मनै लोभ्याउने यी अदभुत अनुभव संगाल्न बन्दीपुर धेरै पर्यटक पुग्ने गर्दछन । बन्दीपुरमा हिमालको श्रृंखला, हरियाली वन र सूर्योदय–सूर्यास्तका दृश्यहरु, स्थानीय आतिथ्य बन्दीपुर वासीहरुको मित्रतापूर्ण बानी, सांस्कृतिक प्रस्तुति, घरजस्तै आतिथ्यले पर्यटकलाई पुनः बन्दीरपुरमा फर्किन प्रेरित गर्दछ । प्रत्येक पटक बन्दीपुरमा नयाँ कुरा भेटिन्छ । कहिले पर्व, कहिले स्थानीय कला प्रदर्शनी, कहिले नयाँ पदमार्ग वा कफी क्याफे । त्यसैले बन्दीपुर केवल हेर्ने ठाउँ मात्र होइन, अनुभव गर्ने ठाउँ हो ।

बन्दीपुरको पर्यटन क्षेत्रमा केबलकारले ल्याएको परिवर्तन अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी भएको छ । पृथ्वी राजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका–४ ठुल्ढुंगामा तल्लो स्टेसन रबरालथोकमा माथिल्लो स्टेसन निर्माण भएको केवलकारले पर्यटकहरुलाई सुबिधा दिएको छ । केवुलकारले बन्दीपुरको पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक गन्तव्यलाई नयाँ आर्थिक गतिशीलता र पर्यटनलाई आकर्षणको केन्द्रमा रुपान्तरण गरेको छ । पहिले बन्दीपुर पुग्न डुम्रेबाट साँघुरो उकालो सडक पार गर्नुपर्ने हुन्थ्यो । सवारी सहज नभएकाले धेरै पर्यटक पुग्न हिचकिचाउँथे । केबलकार सञ्चालन पछि अहिले केही मिनेटमै बन्दीपुर पुग्न सकिन्छ। यो सुविधा विशेषगरी बृद्ध, बालबालिका र वाह्य पर्यटकका लागि वरदान बनेको छ । पर्यटकहरुले गर्दा बन्दीपुरको आर्थिक गतिविधि तीव्र रुपमा बढेको छ । केबलकार सञ्चालनपछि पर्यटकसंख्या बढेसँगै बन्दीपुरमा नयाँ होटल, रेस्टुरेन्ट र होमस्टेहरु तीव्र गतिमा खुल्न थालेका छन। स्थानीय युवाहरुले उद्यमशीलता अपनाएका छन । गाउँका मानिसले आफ्नो घरलाई होमस्टेमा रुपान्तरण गरी आम्दानीका नयाँ बाटा खोलिरहेका छन । विशेष गरी बन्दीपुर बजार र खडकादेवी क्षेत्रमा व्यापारिक चहलपहल बढेको छ ।
बन्दीपुर अहिले देश–विदेशका हजारौं पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । तर पर्यटकको संख्या बढेसँगै एउटा गम्भीर प्रश्न उठन थालेको छ। के बन्दीपुरले पर्यटकलाई केवल पैसा तिराउने ठाउँ बनेको त होइन? सेवा, सदभाव र आतिथ्य–संस्कार पनि विकास भएको छ । तर अहिले धेरै ठाउँमा ‘पर्यटनलाई व्यापारिक दृष्टिले मात्रै हेर्ने प्रवृत्ति बढेको छ। बन्दीपुरमा पनि होटल–लज, क्याफे, र स्थानीय सेवा प्रदायकहरुमा सेवा भन्दा बढी मूल्य लिने सोच देखिन्छ । पर्यटकलाई कति खर्च गराउने भन्ने सोच धेरै ब्यापारिमा देखिन थालेको छ। नेपालमा आउने धेरै वाह्य पर्यटकहरु केवल दृश्य हेर्न मात्र होइन, स्थानीय बासिन्दाको आत्मीयता, संस्कार र मौलिकता अनुभव गर्न चाहन्छन । तर जब उनीहरुलाई मुस्कानभन्दा बढी बिल देखाइन्छ, तब त्यो पर्यटन होइन व्यापार बन्दछ। बन्दीपुरको मूल पहिचान संस्कार र आत्मीयता छुट्टै छ। त्यसैले, पर्यटकसँग व्यवहार गर्दा केवल पैसा मात्र होइन, संस्कार पनि देखिनु पर्दछ। सेवा संस्कृति भनेको केवल होटलमा सफा बेड, तातो पानी वा राम्रो खाना दिने कुरा होइन । यो तीन पक्षमा आधारित हुन्छ । मिठो व्यवहार पर्यटहरुलाई आफ्नो परिवारकै सदस्यझैं व्यवहार गर्नु पर्दछ । पर्यटकबाट पैसा लिनु दोष होइन, तर सेवा र अनुभव बेच्न सिक्नुपर्छ ।

बन्दीपुरका युवायुवतीहरुले पर्यटन प्रशिक्षण लिनुपर्छ । यदि बन्दीपुरले सेवा संस्कृतिमा जोड दियो भने यो नेपालकै स्मार्ट हेरिटेज टाउन बन्न सक्छ। पर्यटकले बन्दीपुरमा बसेर स्थानीय कथा–गाथा सुन्न पाउने, स्थानीय परिकार स्वाद गर्न पाउने र त्यहाँको आत्मीयता महसुस गर्न पाउने छन । त्यसपछि तिनले पैसा मात्र होइन, अनुभव पनि लिएर जानेछन । बन्दीपुरले अहिले कमाइ होइन प्रतिष्ठा बनाउने मौका पाएको छ । पैसा केवल आजका लागि हो, तर सेवा र संस्कारले बन्दीपुरलाई पुस्तौंसम्म चिनाउनेछ। त्यसैले पर्यटकको खर्च होइन, अनुभव बढाऔंस । बन्दीपुरको सौन्दर्य होइन, सेवा पनि देखाऔं ।
कसरी पुग्ने ?
काठमाण्डौँदेखि १३५ किलोमीटर, पोखराबाट ६६ किलोमीटर र नारायणघाटबाट ६० किलोमीटर सदरमुकाम दमौलीदेखि १८ किलोमिटर यात्रामा तनहुँको डुम्रे बजार पुगिन्छ । डुम्रेबाट ८ किलोमीटर नागबेली उकालो सडक पार गरेपछि बन्दीपुर बजार पुगिन्छ । सार्वजनिक यातायातम जाँदा डुम्रेमा सवारी परिवर्तन गर्नुपर्ने हुन्छ। डुम्रेबाट बस, जिप वा टयाक्सीमा बन्दीपुर पुग्न सकिन्छ। केवुलकारबाट जानेले डुम्रे नजिकै ठुल्ढुंगाबाट केवुलकारको रमणीय यात्रामा पनि बन्दीपुर पुग्न सकिन्छ ।










