“मनोसामाजिक समस्यालाई बेवास्ता गर्दा आत्महत्याको जोखिम बढ्दो”
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मनोसामाजिक समस्यालाई बेवास्ता गर्दा आत्महत्याको जोखिम बढ्दै गएको बताए । कोशिशद्वारा दमौलीमा आयोजित स्थानीय सरकारहरुको स्वास्थ्य प्रणालिमा मानसिक स्वास्थ्य समावेशिताको अवस्था सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा मनोसामाजिक समस्यालाई बेवास्ता गर्दा आत्महत्याको जोखिम बढ्दै गएकाले यसको समयमै उपचार तथा पुनःस्थापना गर्नु पर्ने बताए ।
‘अहिलेको समाजमा मानिसमा जिद्धिपना र आफुले चाहेको हरेक कुरा पुरा हुनुपर्छ भन्ने मानसिक सोच जगाएको र यी पुरा नहुँदा मानिसहरु डिप्रेसनमा जाने र आत्महत्या लगायतका घटना निम्त्याउने गरेको छ’, उनले भने, ‘मानसिक तनाव र यस्ता घटना कसरी न्युनिकरण गर्न सकिन्छ यसमा सबैले ध्यान दिनुपर्ने अहिलेको खाँचो हो ।’
‘अहिले बालबालिका र युवा उमेरसमूह सबैका हातहातमा स्मार्ट फोन छन्, उनीहरुले चाहेको सबै कुरा पुरा हुने भएकाले जिद्धी स्वभावका पनि भएका छन्’, प्रमुख वाग्लेले भने, ‘एकादुइ बेला उनीहरुको जिद्धी पुरा भएन भने मानसिक तनावमा लिन्छन् र यस्ता कुराले अनेक दुर्घटना निम्त्याउन सक्छ । यस्ता घटना नदोहोरियोस भनि समयमै उचित शिक्षा दिन जरुरी छ ।’
मानसिक स्वास्थ्यलाई स्थानीय सरकारको स्वास्थ्य प्रणालीमा समावेश गरी अपाङ्गता अधिकार ऐन २०७४, नियमावली २०७७ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७५ ले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य सुविधा प्राप्तिकोे लागि स्थानीय जनप्रतिनिधिलाई जिम्मेवार बनाउने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको कोशिशका परियोजना संयोजक महेन्द्र आचार्यले बताए ।
कोशिशले जिल्लामा ११ वटा स्वावलम्वन समूह गठन गरी बाख्रापालन, कुखुरा पालन, तरकारी खेती आदि जस्ता जीविकोपार्जन सम्बन्धी क्षमता अभिबृद्धि तालिमहरु संचालन गरेको उनले जानकारी गराएका थिए ।
यस्तै, आगामी आर्थिक वर्षमा मनोसामाजिक स्वास्थ्य समस्यालाई प्राथमिकता दिंदै बजेट बिनियोजन गर्ने व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रतिवद्धता जनाए । ‘अहिलेका मानिसहरु अत्याधिक महत्वकांक्षी भएको र उनीहरुले चाहेको कुरा पुरा नहुँदा मानसिक तनावबाट गुज्रने गरेका छन्’, नगरप्रमुख न्यौपानले भने, ”सबै मानिसहरु शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहे मानिस स्वास्थ्य पनि राम्रो हुन्छ । परामर्श तथा उपचारका लागि व्यास भित्र मर्ज भएका विद्यालयका खाली रहेका भवन प्रयोग गरी पुनःस्थापना केन्द्र निर्माण गर्न सकिन्छ ।’
१० वटा अपाङ्गता मध्यको एक मनोसामाजिक अपाङ्गता पनि हो । मनोसामाजिक अपाङ्गता स्थानीय सरकारको प्राथमिकतामा नपरेको तथा नेपालको कानुनले सुनिश्चित गरेको अधिकार प्रदान गर्न तीनवटै तहको सरकार उदासीन बनेको, सामाजिक विभेद तथा तिरस्कार को कारण मनोसामाजिक समस्यमा रहेका व्यक्तिहरु आफ्नो समस्या लुकाएर हिड्नु पर्ने बाध्यतामा रहेको अपाङ्गता क्षेत्रमा काम गर्दै आएकी सावित्री सुवेदीले बताइन् ।
यस्तै, कार्यक्रममा विष्णुप्रसाद गौतम, मदन भण्डारी, सवित्री सुवेदीले अपाङ्गता अधिकार ऐन २०७४ र नियमावली २०७७, स्थानीय सरकार संचालन ऐन २०७४ मा अपाङ्गता समावेशिताको अवस्था लगायतमा प्रस्तुतिकरण गरेका थिए । कोशिशकी मनोविद् सीता भण्डारीले आत्म हेरचाह तथा तनाव व्यवस्थापनका विषयमा सहजिकरण गरेकी थिइन् ।










