गण्डकी सरकारको विद्युत् महसुलमा अनुदान : निर्णय कार्यान्वयनमा विलम्ब भएको गुनासो

गण्डकी : लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा शतप्रतिशतसम्म अनुदान दिने गण्डकी प्रदेश सरकारको पहिलो निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको छ । गत वैशाख १५ गते बसेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भन्दै लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिने निर्णय गरेको थियो ।
लिफ्टिङ सिँचाइ आयोजनाको विद्युत् महसुलमा दिने अनुदानका लागि अहिलेसम्म कार्यविधि तयार नभएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । लिफ्टिङ खानेपानी आयोजनामा भने मापदण्ड तोकिए पनि अनुदानग्राहीले आर्थिक वर्ष सुरु भएको आठ महिना बित्न लाग्दासमेत अनुदान रकम नपाएको गुनासो गरेका छन् ।
यसअघि बनेको ‘लिफ्टिङ खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड–२०७९’ लाई संशोधन गरेर मन्त्रालयले नयाँ मापदण्ड लागु गरेको छ । संशोधित मादपण्डअनुसार मासिक रु २५ हजारसम्म विद्युत् खपत गर्ने आयोजनालाई शतप्रतिशत र मापदण्डअनुसार रु २५ हजारदेखि ४० हजारसम्म विद्युत् खपत गर्नेलाई ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।
४० हजारदेखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने आयोजनालाई ५० प्रतिशत र मासिक रु ६० हजारदेखि रु ८० हजारसम्मको विद्युत् खपत गर्ने आयोजनालाई २५ प्रतिशत र रु ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने आयोजनालाई कूल विद्युत् महसुलको १० प्रतिशत अनुदान पाउने व्यवस्था छ ।  तीनभन्दा बढी ‘स्टेज’का आयोजनाले विद्युत् महसुलमा थप अनुदान पाउनेछन् ।
ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले लिफ्टिङ सिँचाइ आयोजनाको विद्युत् महसुलसम्बन्धी कार्यविधि चाँडै तयार हुने बताउनुभयो । “अहिलेसम्म हाम्रो प्रदेशमा लिफ्टिङ सिँचाइ आयोजना सञ्चालनमा नआएकाले पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएजस्तो देखिएको हो, कार्यविधि निर्माणमा ढिलाइ भएको चाहिँ साँचो हो”, उहाँले भन्नुभयो ।
लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा पाउने अनुदान रकम तीन/तीन महिनामा प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको जनाउँदै मन्त्री तिवारीले मन्त्रालयमा भएको केही प्रक्रियागत ढिलाइका कारण समयमै लाभग्राहीले अनुदान पाउन नसकेको बताउनुभयो । लाभग्राहीलाई समयमै अनुदान दिने प्रबन्ध गर्न र प्रक्रियालाई छरितो बनाउन मातहतका निकाय र कर्मचारीलाई निर्देशन दिइसकेको उहाँले स्पष्ट गर्नुभयो ।
लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिन ढिलाइ भइरहेको विषयमा केही दिनअघि प्रदेशसभाको सामाजिक तथा कृषि समितिको बैठकमा पनि समितिका सदस्यहरुले प्रश्न उठाएका थिए । समितिका सदस्य तथा पूर्वकृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमै ढिलाइ हुनु दुःखद् भएको बताउनुभएको थियो ।
गत आवमा प्रदेशका दुई सय ४० वटा लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा अनुदान पाएका थिए । मन्त्रालयका अनुसार ती आयोजनालाई कूल रु एक करोड ८८ लाख २६ हजार अनुदान रकम प्रदान गरिएको थियो । अनुदान प्राप्त हुने आयोजनाको विद्युत् अन्य घरायसी तथा व्यावसायिक प्रयोजनमा गर्न नपाइने मापदण्डमा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणको कालोसूचीका अनुदानग्राहीलाई भने अनुदान नदिइने मन्त्रालयले जनाएको छ ।
अनुदानका लागि छनोटमा परेका आयोजनाले मासिकरुपमा विद्युत् महसुल तिरेको सक्कल बिल र विद्युत् अनुदान परिचयपत्रसहित सम्बन्धित कार्यालयमा निवेदन पेस गर्नुपर्ने व्यवस्था छ । मन्त्रालय मातहतका निकाय र कार्यालयमा अनुदानका लागि परेका निवेदनमाथि छानबिन तथा जाँचबुझ गरी मन्त्रालयले अनुदान पाउने आयोजनाको छनोट गर्ने गरेको छ ।
मापदण्डबमोजिम अनुदानग्राहीको रुपमा छनोट भई दर्ता भएका र अनुदान परिचयपत्र प्राप्त गरेका आयोजनालाई अनुदान पाउने गरेको मन्त्रालयले जनाएको छ । यो वर्ष लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिन रु १० करोड पाँच लाख ३० हजार बजेट विनीयोजन गरिएको मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker