मगर संघ तनहुँको अन्तरक्रिया कार्यक्रम
भञ्ज्याङन्यूज

नेपाल राष्ट्रिय मगर संघ तनहुँको आयोजनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँ र संघबीचको अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मगर संघ पार्टीको भातृ संगठन भएकाले संघका गतिविधिलाई कांग्रेस पार्टीसँग अन्तरसम्बन्ध कायम गरि अगाडि बढाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले मगर संस्कार र संस्कृतिको आफ्नै छुट्टै पहिचान र विशेषता भएकाले यसको संरक्षण र सवर्द्धनमा भातृ संगठनको भूमिका महत्वपूर्ण हुने बताए। पार्टीका विभिन्न गतिविधिलाई अगाडि बढाउन भातृ संस्थाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै यो अभियानमा नेपाल राष्ट्रिय मगर संघ सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सहमहामन्त्री जीतराज रानाले तनहुँ मगरहरुको बहुल्यता भएको जिल्ला भएकाले पनि जातीय पहिचान कायम राख्दै कला र संस्कृतिको सर्ंवर्द्धनमा नयाँ पुस्तालाई पनि जागरुक बनाउनुपर्ने बताए ।
नेपाल राष्ट्रिय मगर संघ तनहुँकी अध्यक्ष माया रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका गण्डकी प्रदेश सभापति पदम पुन, नेपाली कांग्रेस तनहुँका सचिव सहदेब अधिकारी, संघका पूर्व केन्द्रिय सदस्य निलबहादुर थापा, प्रदेश उपसभापति पूर्णसिं राना, नेपाल राष्ट्रिय मगर संघ व्यास नगर सभापति पूर्ण बहादुर थापा, राष्ट्रिय मगर संघ तनहुँका उपसभापति मणीराज थापा, व्यास नगर सचिव लिलबहादुर थापा लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रम लगतै नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको घुम्ती बैठक पनि सम्पन्न भएको संघको गण्डकी प्रदेशका उपसभापति एवं सञ्चार संयोजक केशकुमारी रानाले जानकारी दिइन्। बैठकमा गण्डकी प्रदेशका आठ जिल्लाको सहभागीता रहेको थियो ।










