सम्पादकीय : “देखाउने कार्यक्रम”बाट “सिकाउने उत्सव”मा रूपान्तरण गरौं

विद्यालयको वार्षिकोत्सव कुनै साधारण औपचारिक कार्यक्रम होइन । यो विद्यालयको शैक्षिक यात्राको समीक्षा गर्ने, बालबालिकाको सिर्जनशीलता उजागर गर्ने र अभिभावक, शिक्षक तथा समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसर हो । तर पछिल्ला वर्षहरूमा विद्यालय वार्षिकोत्सवको मूल मर्म ओझेलमा पर्दै गएको गुनासो सर्वत्र सुनिन थालेको छ । शैक्षिक उत्सवभन्दा बढी तडकभडक, महँगा कार्यक्रम, राष्ट्रिय कलाकारको जमघट र अनावश्यक खर्चले विद्यालय वार्षिकोत्सव बोझिलो बन्दै गएको सन्दर्भमा तनहुँको भानु नगरपालिकाको शिक्षा शाखाले लिएको पछिल्लो पहल सकारात्मक र समयसापेक्ष देखिन्छ । नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयलाई वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सरल, मितव्ययी, पारदर्शी र बालबालिका केन्द्रित बनाउन अनुरोध गर्नु केवल प्रशासनिक निर्देशन मात्र होइन, शिक्षाको मौलिक मूल्यतर्फ फर्कने संकेत पनि हो । विद्यालय स्थापना दिवस बालबालिकाको सिकाइ उपलब्धि, सिर्जनशीलता र व्यवहारिक सीप प्रदर्शन गर्ने थलो हुनुपर्नेमा पछिल्ला वर्षहरूमा यो खर्चिलो औपचारिकतामा सीमित हुँदै गएको यथार्थ नगरपालिकाले खुलेर स्वीकार गरेको छ । यही स्वीकारोक्तिबाट सुधारको बाटो खुल्छ ।
वार्षिकोत्सवका नाममा अतिथिलाई खादा, मायाको चिनो र उपहार दिने परम्परा अब विद्यालय संस्कृतिको अनिवार्य अंशजस्तै बनेको थियो । यसले विद्यालयको सीमित स्रोतलाई अनुत्पादक खर्चतर्फ धकेल्दै आएको तथ्य नकार्न सकिँदैन। स्थानीय फूलको माला प्रयोग गर्ने, प्लास्टिक ब्याजको सट्टा पिपलको पातमा नाम लेख्ने सुझावले खर्च कटौती मात्र होइन, वातावरण संरक्षण र स्थानीयपनको सन्देश पनि दिन्छ । शिक्षालयले यस्ता अभ्यास अंगाल्न सके भने विद्यालय आफैं जीवनोपयोगी मूल्यहरूको प्रयोगशाला बन्न सक्छ । अझ महत्वपूर्ण पक्ष भनेको बालबालिका र अभिभावकलाई केन्द्रमा राख्ने अवधारणा हो। अभिभावककेन्द्रित खेलकुद कार्यक्रम, नगदको सट्टा स्टेशनरी, किताब, झोला, पोशाकजस्ता दैनिक जीवनमा प्रयोग हुने सामग्री पुरस्कारस्वरूप दिने प्रस्तावले विद्यालय र परिवारबीचको दूरी घटाउन सहयोग पु¥याउँछ । यसले ‘पुरस्कार’लाई प्रदर्शनको वस्तु होइन, सिकाइको साधनका रूपमा बुझ्ने संस्कार विकास गर्छ ।
नगरपालिकाले वार्षिकोत्सवलाई एकदिने औपचारिक कार्यक्रममै सीमित नराखी सप्ताहव्यापी गतिविधिका रूपमा सञ्चालन गर्न सुझाव दिनु शिक्षाको दृष्टिले झनै महत्वपूर्ण छ । अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक कार्यशाला र प्रदर्शनीमार्फत बालबालिकाले पाठ्यपुस्तकबाहिरको सिकाइ अनुभव गर्न सक्छन् । सिकाइ केवल कक्षाकोठाभित्र सीमित हुँदैन भन्ने सन्देश विद्यालयले व्यवहारमै उतार्न सके मात्र शिक्षाको गुणस्तरमा सुधार सम्भव हुन्छ । सामाजिक उत्तरदायित्वसँग जोडिएको वार्षिकोत्सवको अवधारणा पनि स्वागतयोग्य छ । विद्यालय प्राङ्गण तथा टोल सरसफाइ, वृक्षरोपण, रक्तदान र सचेतनामूलक कार्यक्रमजस्ता गतिविधिमा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायलाई सहभागी गराउने सोचले विद्यालयलाई समुदायसँग जोड्छ । यसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र नागरिक चेतनाको विकास गराउँछ, जुन दीर्घकालीन शिक्षाको मूल लक्ष्य हो ।
सांस्कृतिक कार्यक्रममा मौलिकता र स्थानीय भाषासंस्कृतिलाई प्राथमिकता दिने नगरपालिकाको स्पष्टताले बजारमुखी र रेडिमेड संस्कृतिको बढ्दो प्रभावलाई चुनौती दिएको छ । विद्यालयका सांस्कृतिक कार्यक्रम मनोरञ्जनका लागि मात्र होइन, पहिचान र आत्मसम्मान निर्माणका माध्यम पनि हुन् । आफ्नै भाषा, गीत, नृत्य र संस्कृतिमाथि गर्व गर्न सिकेका बालबालिकाले नै भविष्यमा समाजलाई सन्तुलित दिशामा अघि बढाउन सक्छन् । सूचना प्रविधिको प्रयोग गर्दै निमन्त्रणा कार्ड छाप्नुपर्ने बाध्यता हटाउनु अर्को व्यवहारिक निर्णय हो। फोन, सन्देश वा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दा खर्च घट्नुका साथै समय र स्रोतको बचत हुन्छ ।
प्रमुख अतिथिको प्रतीक्षामा घण्टौँ कार्यक्रम रोक्ने परम्परा हटाई समयमै कार्यक्रम सञ्चालन गर्ने आग्रहले समयपालनको संस्कार विकास गर्न मद्दत पु¥याउँछ, जुन हाम्रो समाजमा अझै कमजोर छ । प्रधानाध्यापकले प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदनमा विद्यालयको इतिहासदेखि आर्थिक विवरण र आगामी योजनासम्म समेट्नुपर्ने व्यवस्थाले पारदर्शिता र जवाफदेहिता बलियो बनाउँछ । यसैगरी दुना–टपरी, च्याउ खेती, हाउस वाइरिङ, साबुन, सेनिटरी प्याड निर्माणजस्ता सीपमूलक परियोजनाको प्रदर्शनीले विद्यालय शिक्षालाई जीवनसँग जोड्ने अवसर दिन्छ । समग्रमा, भानु नगरपालिकाको पहल विद्यालय वार्षिकोत्सवलाई ‘देखाउने कार्यक्रम’बाट ‘सिकाउने उत्सव’मा रूपान्तरण गर्ने प्रयास हो । यो निर्देशिका कागजमै सीमित नरही व्यवहारमा लागू हुन सकेमा अन्य स्थानीय तहका लागि पनि उदाहरण बन्न सक्छ । तडकभडक र खर्चिलो संस्कृतिको सट्टा मितव्ययी, मौलिक र बालकेन्द्रित अभ्यासले मात्र विद्यालय वार्षिकोत्सवलाई वास्तवमै शिक्षाको उत्सव बनाउन सक्छ । यही दिशामा सामूहिक प्रतिबद्धता आजको आवश्यकता हो ।










