सम्पादकीय : “देखाउने कार्यक्रम”बाट “सिकाउने उत्सव”मा रूपान्तरण गरौं

विद्यालयको वार्षिकोत्सव कुनै साधारण औपचारिक कार्यक्रम होइन । यो विद्यालयको शैक्षिक यात्राको समीक्षा गर्ने, बालबालिकाको सिर्जनशीलता उजागर गर्ने र अभिभावक, शिक्षक तथा समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसर हो । तर पछिल्ला वर्षहरूमा विद्यालय वार्षिकोत्सवको मूल मर्म ओझेलमा पर्दै गएको गुनासो सर्वत्र सुनिन थालेको छ । शैक्षिक उत्सवभन्दा बढी तडकभडक, महँगा कार्यक्रम, राष्ट्रिय कलाकारको जमघट र अनावश्यक खर्चले विद्यालय वार्षिकोत्सव बोझिलो बन्दै गएको सन्दर्भमा तनहुँको भानु नगरपालिकाको शिक्षा शाखाले लिएको पछिल्लो पहल सकारात्मक र समयसापेक्ष देखिन्छ । नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयलाई वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सरल, मितव्ययी, पारदर्शी र बालबालिका केन्द्रित बनाउन अनुरोध गर्नु केवल प्रशासनिक निर्देशन मात्र होइन, शिक्षाको मौलिक मूल्यतर्फ फर्कने संकेत पनि हो । विद्यालय स्थापना दिवस बालबालिकाको सिकाइ उपलब्धि, सिर्जनशीलता र व्यवहारिक सीप प्रदर्शन गर्ने थलो हुनुपर्नेमा पछिल्ला वर्षहरूमा यो खर्चिलो औपचारिकतामा सीमित हुँदै गएको यथार्थ नगरपालिकाले खुलेर स्वीकार गरेको छ । यही स्वीकारोक्तिबाट सुधारको बाटो खुल्छ ।

वार्षिकोत्सवका नाममा अतिथिलाई खादा, मायाको चिनो र उपहार दिने परम्परा अब विद्यालय संस्कृतिको अनिवार्य अंशजस्तै बनेको थियो । यसले विद्यालयको सीमित स्रोतलाई अनुत्पादक खर्चतर्फ धकेल्दै आएको तथ्य नकार्न सकिँदैन। स्थानीय फूलको माला प्रयोग गर्ने, प्लास्टिक ब्याजको सट्टा पिपलको पातमा नाम लेख्ने सुझावले खर्च कटौती मात्र होइन, वातावरण संरक्षण र स्थानीयपनको सन्देश पनि दिन्छ । शिक्षालयले यस्ता अभ्यास अंगाल्न सके भने विद्यालय आफैं जीवनोपयोगी मूल्यहरूको प्रयोगशाला बन्न सक्छ । अझ महत्वपूर्ण पक्ष भनेको बालबालिका र अभिभावकलाई केन्द्रमा राख्ने अवधारणा हो। अभिभावककेन्द्रित खेलकुद कार्यक्रम, नगदको सट्टा स्टेशनरी, किताब, झोला, पोशाकजस्ता दैनिक जीवनमा प्रयोग हुने सामग्री पुरस्कारस्वरूप दिने प्रस्तावले विद्यालय र परिवारबीचको दूरी घटाउन सहयोग पु¥याउँछ । यसले ‘पुरस्कार’लाई प्रदर्शनको वस्तु होइन, सिकाइको साधनका रूपमा बुझ्ने संस्कार विकास गर्छ ।

नगरपालिकाले वार्षिकोत्सवलाई एकदिने औपचारिक कार्यक्रममै सीमित नराखी सप्ताहव्यापी गतिविधिका रूपमा सञ्चालन गर्न सुझाव दिनु शिक्षाको दृष्टिले झनै महत्वपूर्ण छ । अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक कार्यशाला र प्रदर्शनीमार्फत बालबालिकाले पाठ्यपुस्तकबाहिरको सिकाइ अनुभव गर्न सक्छन् । सिकाइ केवल कक्षाकोठाभित्र सीमित हुँदैन भन्ने सन्देश विद्यालयले व्यवहारमै उतार्न सके मात्र शिक्षाको गुणस्तरमा सुधार सम्भव हुन्छ । सामाजिक उत्तरदायित्वसँग जोडिएको वार्षिकोत्सवको अवधारणा पनि स्वागतयोग्य छ । विद्यालय प्राङ्गण तथा टोल सरसफाइ, वृक्षरोपण, रक्तदान र सचेतनामूलक कार्यक्रमजस्ता गतिविधिमा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायलाई सहभागी गराउने सोचले विद्यालयलाई समुदायसँग जोड्छ । यसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र नागरिक चेतनाको विकास गराउँछ, जुन दीर्घकालीन शिक्षाको मूल लक्ष्य हो ।

सांस्कृतिक कार्यक्रममा मौलिकता र स्थानीय भाषासंस्कृतिलाई प्राथमिकता दिने नगरपालिकाको स्पष्टताले बजारमुखी र रेडिमेड संस्कृतिको बढ्दो प्रभावलाई चुनौती दिएको छ । विद्यालयका सांस्कृतिक कार्यक्रम मनोरञ्जनका लागि मात्र होइन, पहिचान र आत्मसम्मान निर्माणका माध्यम पनि हुन् । आफ्नै भाषा, गीत, नृत्य र संस्कृतिमाथि गर्व गर्न सिकेका बालबालिकाले नै भविष्यमा समाजलाई सन्तुलित दिशामा अघि बढाउन सक्छन् । सूचना प्रविधिको प्रयोग गर्दै निमन्त्रणा कार्ड छाप्नुपर्ने बाध्यता हटाउनु अर्को व्यवहारिक निर्णय हो। फोन, सन्देश वा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दा खर्च घट्नुका साथै समय र स्रोतको बचत हुन्छ ।

प्रमुख अतिथिको प्रतीक्षामा घण्टौँ कार्यक्रम रोक्ने परम्परा हटाई समयमै कार्यक्रम सञ्चालन गर्ने आग्रहले समयपालनको संस्कार विकास गर्न मद्दत पु¥याउँछ, जुन हाम्रो समाजमा अझै कमजोर छ । प्रधानाध्यापकले प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदनमा विद्यालयको इतिहासदेखि आर्थिक विवरण र आगामी योजनासम्म समेट्नुपर्ने व्यवस्थाले पारदर्शिता र जवाफदेहिता बलियो बनाउँछ । यसैगरी दुना–टपरी, च्याउ खेती, हाउस वाइरिङ, साबुन, सेनिटरी प्याड निर्माणजस्ता सीपमूलक परियोजनाको प्रदर्शनीले विद्यालय शिक्षालाई जीवनसँग जोड्ने अवसर दिन्छ । समग्रमा, भानु नगरपालिकाको पहल विद्यालय वार्षिकोत्सवलाई ‘देखाउने कार्यक्रम’बाट ‘सिकाउने उत्सव’मा रूपान्तरण गर्ने प्रयास हो । यो निर्देशिका कागजमै सीमित नरही व्यवहारमा लागू हुन सकेमा अन्य स्थानीय तहका लागि पनि उदाहरण बन्न सक्छ । तडकभडक र खर्चिलो संस्कृतिको सट्टा मितव्ययी, मौलिक र बालकेन्द्रित अभ्यासले मात्र विद्यालय वार्षिकोत्सवलाई वास्तवमै शिक्षाको उत्सव बनाउन सक्छ । यही दिशामा सामूहिक प्रतिबद्धता आजको आवश्यकता हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker