‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

म्याग्दी : वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

शरद्यामको मौसमसँगै चाडपर्वले मानिसहरुको मनमा उमंग छाएको छ । सहर बजार र विदेशिएकाहरु दशै पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुुन्जायस भएका छन् । रोजगारी, अध्ययन, पेशा र व्यवसायको लागि बजार झरेका र विदेशिएकाहरु जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताउनुभयो ।

“अघिपछि गाउँघरमा युुवाहरु नभएपनि विदेशीएका र सहर पसेका आफन्तहरु गाउँ फर्केपछि रौनक छाएको छ,” उहाँले भन्नुुभयो “चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र ईष्टमित्रहरुको मिलन गराउँदा उमंग छाएको छ ।”

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । वि.स. २०६८ पछिको दश वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरु सहर तथा विदेशीने क्रम बढेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दीका स्थानीय तहहरुमा ८९ परिवार बसाई सराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् ।

अन्य समय विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिकहरु बढी भेटिने ग्रामिण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशै मनाउन कोरीयाबाट जन्मथलो आउनु भएको छ ।

“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झीएर न्यास्रो लाग्थ्यो,” उहाँले भन्नुभयो “उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीहरुसँगको आत्मियता विदेशमा हुदैन् ।”

सहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सिमित हुुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुुकेको हुुन्छ । आफन्त साथीभाई र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाले बताउनुभयो ।

दशैको नवदुुर्गामा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैको विषेश महत्व हुुने दशै मनाउनका लागि बेनीबाट दसै मनाउन जन्मथलो रघुगङ्गा –४ दग्नाम स्थित घरमा गएकी सोनालिका गर्बुजाले बताउनुभयो ।
“बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्ग पिङ हालेका छौ,” पोखराबाट दशै मनाउन धवलागिरी गाउँपालिका–७ हिलापोखरी स्थित जन्मथलोमा आएका खुम पुनले भन्नुभयो “बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।”

गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाई गरेका छन् । प्रायःजसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसे चौबीसे राज्यका पालाका ज्यामरुक, भगवति, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker