भानुमा चितुवा गणनाका लागि राखिएका क्यामरामा चितुवा र आहारा प्रजाति देखिन थाले

तनहुँको भानु नगरपालिकास्थित विभिन्न सामुदायिक वनमा चितुवा गणनाका लागि जडान गरिएको क्यामरामा चितुवा र आहारा प्रजाति देखा परेका छन् ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा जडान गरिएको क्यामरामा चितुवा र चितुवाको आहारा प्रजाति देखा पर्न थालेका हुन् ।

भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा जडान गरिएको क्यामरामा एउटा चितुवाको तस्वीर कैद भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख बरालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म क्यामरामा चार वटा वन बिरालो, एउटा भालुको बच्चा, एउटा खरायो र एउटा सिभिटको तस्वीर कैद भएको छ । “सबैभन्दा पहिला जडान गरिएको क्यामरामा चितुवाको तस्वीर कैद भएको छ, साथै आहारा प्रजातिका अन्य जनावर पनि क्यामरामा देखिएका छन्,” उहाँले भन्नुभयो ।

क्यामरामा चितुवा र आहारा प्रजातिको तस्वीर कैद भए नभएको बारेमा दैनिक रुपमा जानकारी लिने गरिएको छ । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा चितुवा गणनाका लागि वडा नं १, २, ३, ४, ५ र ६ का सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरिएको छ । उक्त नगरपालिकाको सामुदायिक वनमा कात्तिक २२ गतेदेखि क्यामरा जडान शुरु गरिएको छ । सम्पूर्ण क्यामरा जडानका लागि पाँच दिन लागेको थियो । उक्त ठाउँमा १५ दिनसम्म क्यामरा राखेर चितुवा र आहारा प्रजातिको गणना गरिनेछ ।

“चितुवा बढी र आहारा कम भएका कारण चितुवा मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्षसहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ,” डिभिजन वन कार्यालयका प्रमुख बरालले भन्नुभयो, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ ।” पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिका चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ ।

“वनमै चितुवाको आहारा व्यवस्थापन गर्न सके चितुवा मानवबस्तीसम्म आउँदैन, चितुवाले खाने आहारा प्रजाति मानिसले नै शिकार गरेर मार्ने काम गरिरहेका छन्,” उहाँले भन्नुभयो, “मानिस मात्रै बाँचेर हुन्न, सबै जीवजन्तु बाँच्नुपर्छ, त्यसका लागि वातावरण बनाउने काम मानिसको हो ।” उहाँका अनुसार चितुवाको आहारा मान्छे होइन, तर आहारा नपाउँदा चितुवाले बाध्य भएर मानिसमाथि आक्रमण गर्ने गरेको पाइन्छ । बढीमात्रामा पोथी चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको छ । “पोथी चितुवाले मानिसमाथि आक्रमण गर्दा माउसँग हुर्किएको चितुवाको बच्चाले पनि मान्छेलाई आक्रमण गर्न सिक्ने हुन सक्छ,” प्रमुख बरालले भन्नुभयो ।

उहाँका अनुसार २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुहरुमा क्यामरा जडान गरेका छौ,” प्रमुख बरालले भन्नुभयो । क्यामराको अगाडी केही चिज आउने बित्तिकै तस्वीर कैद भइहाल्ने र यसले भानुका जङ्गलमा कति चितुवा छन् भन्ने गणना गर्न सहयोग पुग्छ । उक्त क्यामराले दश मिटरसम्म परको तस्वीर कैद गर्न सक्छ ।

उहाँका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । यस अवधिमा चितुवाको ताजा दिसा सङ्कलन गरी त्यसको डिएनए टेष्ट गर्ने पनि तयारी भइरहेको प्रमुख बरालको भनाइ छ । “डिएनए टेष्टपछि उक्त चितुवाले घरपालुवा जनावर खाएको, जङ्गली जनावर खाएको र मान्छे के खाएको छ त्यसको जानकारी लिन सहज हुनेछ,” उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker