सम्पादकीय : सम्भावनाको जिल्ला तनहुँ

गण्डकी प्रदेशको महत्वपूर्ण जिल्ला तनहुँ जिल्ला प्राकृतिक, ऐतिहासिक, धार्मिक र साहित्यिक विविधताले भरिपूर्ण जिल्ला हो। मध्यपहाडी भूगोलमा अवस्थित यो जिल्ला पहाड र तराई जोड्ने सेतुका रूपमा परिचित छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहित्यिक गौरवका दृष्टिले तनहुँ विशिष्ट पहिचान बोकेको छ। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि तनहुँ अझै पूर्ण विकासको बाटोमा अघि बढ्न नसकेको वास्तविकता स्वीकार गर्नुपर्छ । सम्भावना र उपलब्धिबीचको दूरी नै आजको तनहुँको प्रमुख चिन्ता हो । तनहुँको पहिचान धार्मिक र ऐतिहासिक दृष्टिले निकै पुरानो छ। वेदव्यासको जन्मस्थल मानिने दमौली क्षेत्र धार्मिक आस्थाको केन्द्र हो भने देवघाट हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित छ। मादी र सेती नदीको संगमस्थलमा रहेको व्यास–पराशर क्षेत्र धार्मिक पर्यटनको दृष्टिले अत्यन्त महत्वपूर्ण भए पनि अपेक्षित विकास हुन सकेको छैन। व्यास ऋषिको विशाल शालिक निर्माणको योजना वर्षौंदेखि अधुरै रहनु योजनागत कमजोरीको उदाहरण हो।
धार्मिक क्षेत्र मात्र होइन, प्राकृतिक सौन्दर्यका दृष्टिले पनि तनहुँ निकै धनी छ। बन्दीपुर जस्तो पर्यटकीय गन्तव्यले अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाइसकेको छ। परम्परागत संस्कृति, शान्त वातावरण र हिमश्रृंखलाको मनोरम दृश्यले बन्दीपुरलाई विशेष बनाएको छ। तर बन्दीपुरबाहेक अन्य पर्यटकीय क्षेत्र अझै ओझेलमै छन्। छिम्केश्वरी मन्दिर, व्यास गुफा, आँधीमूल, मानुङकोट वा ऋषिङ क्षेत्र जस्ता सम्भावनायुक्त स्थानहरू अझै व्यवस्थित विकासको प्रतीक्षामा छन्। पर्यटन तनहुँको आर्थिक विकासको मुख्य आधार बन्न सक्ने क्षेत्र हो। धार्मिक, ग्रामीण र साहसिक पर्यटनको संयोजन यहाँ सम्भव छ। तर प्रचार–प्रसारको अभाव, पूर्वाधारको कमी र दीर्घकालीन योजनाको अभावले पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन। सडक, खानेपानी, सरसफाइ र बसोबासको सुविधा सुधार नगरी पर्यटनको विकास सम्भव हुँदैन ।
तनहुँ नेपाली भाषा र साहित्यको गौरवसँग पनि जोडिएको छ। भानुभक्त आचार्य को जन्मभूमि भएकाले तनहुँलाई नेपाली भाषाको ऐतिहासिक केन्द्रका रूपमा पनि लिइन्छ। साहित्यिक पर्यटनको दृष्टिले ठूलो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्ने प्रयास सीमित देखिन्छ। साहित्यिक सम्पदालाई पर्यटनसँग जोड्न सके तनहुँको पहिचान अझ व्यापक बन्न सक्छ । कृषि तनहुँको मुख्य पेशा हो। उर्वर भूमि, नदी र वर्षाले यहाँ कृषि सम्भावना बलियो बनाएको छ। धान, मकै, सुन्तला, अदुवा तथा तरकारी उत्पादन यहाँका किसानका प्रमुख आयस्रोत हुन्। पछिल्लो समय केही किसान व्यावसायिक कृषि र उद्यमतर्फ अग्रसर भएका छन्, जसले ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशा दिएको छ। महिला उद्यमी र युवा कृषकहरूको सक्रियता सकारात्मक संकेत हो। तर कृषि क्षेत्र अझै परम्परागत ढाँचामा आधारित छ। सिंचाइ सुविधा सीमित हुनु, बजार व्यवस्थापन कमजोर हुनु तथा सरकारी सहयोग सहज रूपमा उपलब्ध नहुनु किसानका मुख्य समस्या हुन्। खेतीयोग्य जमिन बाँझिदै जानु र ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढ्नु कृषि क्षेत्रका लागि चिन्ताजनक संकेत हुन्।
शिक्षा क्षेत्रमा तनहुँको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखिए पनि गुणस्तर सुधार आवश्यक छ। विद्यालय र क्याम्पसको संख्या बढ्दै गए पनि ग्रामीण क्षेत्रमा विषयगत शिक्षक अभाव र विद्यार्थी घट्दै जानु चुनौती बनेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी बढाउन सके शिक्षा प्रणालीलाई व्यावहारिक बनाउन सकिन्छ । स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको भएपनि विशेषज्ञ सेवाको अभाव अझै देखिन्छ। स्थानीय तहमा स्वास्थ्य चौकी र आधारभूत अस्पताल स्थापना भएपनि गम्भीर उपचारका लागि नागरिकलाई बाहिर जानुपर्ने बाध्यता कायम छ। जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र जस्तो महत्वपूर्ण संस्थाले अपेक्षित सेवा विस्तार गर्न नसक्नु स्वास्थ्य क्षेत्रको कमजोरी हो । सडक पूर्वाधार विस्तारले तनहुँलाई अवसर प्रदान गरेको छ। पृथ्वी राजमार्ग स्तरोन्नतिसँगै यातायात सुविधा सुधार हुँदै गएको छ। तर ग्रामीण सडकको अवस्था अझै कमजोर छ। वर्षायाममा सडक अवरुद्ध हुनु सामान्य समस्या हो। सडक सुधार भए कृषि उत्पादन र पर्यटन दुवै क्षेत्रले गति लिन सक्छन्।
खानेपानीका दृष्टिले तनहुँ जलस्रोतले सम्पन्न जिल्ला भएपनि व्यवस्थापन कमजोरीका कारण धेरै ठाउँमा समस्या देखिन्छ। उच्च भूभागका बासिन्दाले अझै खानेपानी अभाव झेलिरहेका छन्। योजनाहरू अधुरा रहनु र मुहान संरक्षण नहुनु दीर्घकालीन चुनौती हुन्। तनहुँको विकासमा अर्को महत्वपूर्ण पक्ष युवा जनशक्ति हो। वैदेशिक रोजगारीमा जाने युवाको संख्या धेरै भए पनि पछिल्लो समय स्वदेशमै उद्यम गर्ने प्रयास बढ्दै गएको छ। कृषि, साना उद्योग र व्यापार क्षेत्रमा युवाको सहभागिता बढ्नु सकारात्मक संकेत हो । तनहुँ सम्भावनाले भरिएको जिल्ला हो। प्राकृतिक सम्पदा, धार्मिक आस्था, सांस्कृतिक विविधता र कृषि उत्पादन यहाँको बलियो आधार हुन्। तर योजनाबद्ध विकासको अभाव, पूर्वाधार कमजोरी र स्रोत व्यवस्थापनको समस्या समाधान नगरी समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुनेछ। तनहुँलाई सम्भावनाको जिल्लाबाट उपलब्धिको जिल्लामा रूपान्तरण गर्न दीर्घकालीन योजना, स्थानीय स्रोतको सदुपयोग र समन्वित विकास आवश्यक छ। यदि यस्ता प्रयासलाई निरन्तरता दिन सकियो भने तनहुँ केवल सम्भावनाको कथा मात्र नभई सफल विकासको उदाहरण बन्न सक्नेछ ।










