दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको ऋषिङ गाउँपालिकाले मंसिर ११ देखि २२ गतेसम्म दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप २०७८ प्रतियोगिता गर्ने भएको छ । गाउँपालिले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका विषयमा जानकारी गराएको छ । ‘ऋषिङ समृद्धिको आधार, कृषि संस्कृति पर्यटन र पूर्वाधार’ भन्ने मूलनाराका साथ गत वर्षदेखि सुरुवात भएको भलिबल प्रतियोगितालाई यसवर्ष पनि नितरन्तरता दिन लागेको गाउँपालिकाले जनाएको छ । जिल्लाको दक्षिण भेगमा पर्ने ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण पालिकाको रूपमा परिचित ऋषिङ गाउँपालिकालाई विकास निर्माणको साथै खेलकूद क्षेत्रको केन्द्रका रूपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । जनप्रतिनिधि निर्वाचित भएर आएको दोस्रो वर्षदेखि नै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट सुरु गरिएको उनले बताए ।
तेस्रो वर्षदेखि विकास निर्माणका कार्यलाई तीव्रता दिँदै खेल जगतलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको हो । अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाको साथसाथै मुलुकभरका खेलाडीको प्रतिभालाई ऊजागर गर्न यो प्रतियोगिता प्रभावकारी बन्दै गएको छ ।’ प्रतियोगितामा प्रथम हुनेले एक लाख ४० हजार रुपैयाँ, दोस्रोले एक लाख, तेस्रोले ६० हजार र सान्त्वना हुनेले तीस हजार रुपैयाँ नगद तथा प्रमाणपत्र पाउने छ ।
उक्त प्रतियोगिता ऋषिङ-१ झापुटारमा हुने आयोजक समितिले जनाएको छ । गतवर्ष १७ टिमले प्रतियोगितामा सहभागी जनाएका थिए । अध्यक्ष श्रेष्ठले भने, ‘यसवर्ष कम्तिमा ५० टिम सहभागी हुने लक्ष्य छ ।’ गत वर्ष समय कम भएको र एकै साथ अन्य पालिकामा पनि खेल सञ्चालन भएकोले सोचेअनुरुप खेलाडी टिम सहभागी हुन नसकेको जनाइएको छ । यसपटक भने समय भएकाले उत्साहजनक खेल हुने विश्वास आयोजक समितिले लिएको छ ।
खेलकूद क्षेत्रको लागि गाउँपालिका सभाबाट ६ लाख रुपैयाँ र अतिरिक्तमा तीन लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिले जनाएको छ । त्यसैगरी महिलालाई पनि खेल क्षेत्रमा उत्साहित गर्न चैते दसैँको अवसरमा ऋषिङ गाउँपालिका-५ पिपलटारमा उपाध्यक्ष भलिबल कप आयोजना गरिएको छ । प्रतियोगितामा भाग लिन चाहने टिमलाई पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिसस सदस्य नीलबहादुर थापा, गाउँपालिकाका कानूनी सल्लाहकार परशुराम गिरी, नेपाली कांग्रेस जिल्ला सदस्य मोहन गिरी, नेकपा (एमाले) ऋषिङका सचिव कविलास श्रेष्ठ लगायतका वक्ताले खेल प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट जागरुक बन्नुपर्नेमा जोड दिए ।










