हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्न सहज

दमौली : जिल्लाका विभिन्न ठाउँमा हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादन बिक्री गर्न सहज भएको छ । जिल्लास्थित भानु नगरपालिका-२ नारेश्वरटारमा सञ्चालनमा आएको हाटबजार स्थानीय उत्पादन बिक्री गर्न सहयोगी बनेको हो ।
साथै आँबुखैरेनी गाउँपालिकामा सञ्चालित हाटबजारले स्थानीय उत्पादन बिक्रीमा सहजीकरण गरिरहेको छ । स्थानीय किसानले उत्पादन गरेका सामग्री बिक्रीका लागि यही जेठ ३ गते शनिबारदेखि हाटबजार सञ्चालन गरिएको हो । उक्त हाटबजार प्रत्येक साताको शनिबार सञ्चालन हुनेछ ।
नारेश्वरटार हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिले भानु नगरपालिकाको सहकार्यमा हाटबजार सञ्चालन गरेको समितिका अध्यक्ष विष्णुप्रसाद मिश्रले जानकारी दिनुभयो । हाटबजारमा नगरभित्रका कृषिउपज ल्याएर बिक्री गर्न सकिने उहाँले बताउनुभयो ।
हाटबजार सञ्चालनको दोस्रो साता बेसार, तरुल, तिलको पिना, टमाटर, करेला, निउरो, कर्कलो, पिडालु, कटहर, तोरीको सागलगायत कृषिउपज बिक्री गरिएको छ । स्थानीय उत्पादन खरिद गर्न स्थानीयवासीको घुइँचो देखिएको मिश्रले बताउनुभयो ।
हाटबजार दिउँसो २ः०० बजेदेखि साँझसम्म सञ्चालन हुन्छ । हाटबजारले किसानलाई प्रोत्साहन गरी स्थानीय उत्पादनलाई बढवा गर्ने र उपभोक्ताले पनि रोजेको कृषिउपज सहज रूपमा खरिद गर्नसक्ने भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । हाटबजारले किसान र उपभोक्तालाई जोड्ने पुलका रूपमा काम गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “किसानलाई आफूले उत्पादन गरेका कृषिउपज तथा अन्य सामग्री बिक्रीका लागि बजार अभाव नहोस् भनेर हाटबजार सञ्चालनमा ल्याएका हाँै । यसले किसानलाई प्रोत्साहन गर्नेछ ।”
आँबुखैरेनी–३ मा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ । हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि बिहानैदेखि घुइँचो लाग्ने गरेको छ ।
गत वर्षको फागुनदेखि सञ्चालित उक्त हाटबजारले किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्नुका साथै उत्पादित सामग्री बजारीकरणका लागि प्रभावकारी बनेको छ ।
हाटबजारले आँबुखैरेनीको मात्रै नभइ आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।
आँबुखैरेनी-६ प्यघुरका मिलन गुरुङले हाटबजार कृषिउपज तथा अन्य दैनिक उपभोग्य वस्तु बजारीकरणका लागि सहयोगी बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा रु एक भए पनि बढी मूल्य पाउने गरेका छौँ । सहज रूपमा वस्तुको बिक्री वितरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।”
गाउँपालिकाका जुनसुकै वडाका किसानले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्नसक्ने छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker