माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा, माछा मर्नुको कारण ‘एसिड डेथ’

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्नेक्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि यहाँ क्षमापूजाको तयारी गरिएको हो ।

आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो । मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिइ क्षमापूजा गरिने उहाँले जानकारी दिनुभयो ।

यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा गर्ने निर्णय भएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर परिसरमा रहेका थुप्रै माछा धमाधम मर्न थालेका छन् । माछा मरेपछि स्थानीय चिन्तित छन् । सोमबार सबैको सहभागितामा क्षमापूजा गर्दैछौँ ।”

क्षमापूजाका लागि सबै वडावासीलाई न्यूनतम रु तीन सय सहयोग गरी पूजा सम्पन्न गर्नका लागि आह्वान गरिएको वडाध्यक्ष प्रेम गुरुङले बताउनुभयो । शुक्रबार बसेको सरोकारवालाको भेलाले तत्कालिन समस्याको समाधान गरी आगामी कार्ययोजना बनाउन संयोजन तथा सुझावका लागि पूर्ववडाध्यक्ष किसान थापाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

माछा मर्नुको कारण ‘एसिड डेथ’

यहाँ रहेको पोखरीका माछा मर्नुको कारण ‘एसिड डेथ’ रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले जनाएको छ । गत सोमबारदेखि पोखरीमा रहेका हजारौँ माछा धमाधम मर्न थालेपछि गरिएको परीक्षणअनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु फेला परेको प्रयोगशालाले पुष्टि गरेको छ ।

पोखराबाट शुक्रबार प्राप्त पोष्टमार्टम रिपोर्ट अनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु रहेको र प्रारम्भिक ‘एसिड डेथ’ भएको उल्लेख गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिक टोली पुगी उक्त पोखरीको पानी, माछा र माछाका लागि खुवाइएको दानाको नमुना सङ्कलन गरेर पोखरा पठाइएको थियो । थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर र विषादी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइएको छ ।”

माछा मरेपछि दुई वटा पोखरी खाली भएका छन् भने केही बचेका माछालाई मुख्य मूलमा सारिएको थियो । दुई वटा पोखरीमा रहेका माछालाई संरक्षणका लागि मुख्य पोखरीमा सारिएको भन्दै मुख्य पोखरीका माछा पनि मर्न थालेका आँधीमूल मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker