दुलेगौंडा-हर्कपुर सडक खण्डमा रास्वपाको दबाबयात्रा

राष्ट्रीय स्वतन्त्र पार्टीको केन्द्रीय निर्देशन बमोजिम शनिबार शुक्लागण्डकी नगरपालिका-३ स्थित दुलेगौडा-हर्कपुर सडक खण्डमा दबाबयात्रा गरेको छ । पार्टीको केन्द्रीय निर्देशन बमोजिम देशभरका विकास आयोजनामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबारदेखि दबाब यात्रा सुरु गरिएको हो ।
उक्त सडकको स्तरोन्नति विसं २०७८ माघ १० गतेभित्र भइसक्नुपर्ने भएपनि हाल सडक अलपत्र अवस्थामा रहेको छ । उक्त सडक निर्माणको लागि पूर्वाधार विकास कार्यालय तनहुँले निर्माण व्यवसायीसँग विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो ।
निर्माण व्यवसायीको लापरवाहीका कारण उक्त सडक स्तरोन्नति करिब ३२ प्रतिशतमात्रै सकिएको छ । दुलेगौडा-हर्कपुर सडकको १०.१८ किलोमिटर सडक कालोपत्रका लागि भएको सम्झौताको म्याद पटक-पटक थप गर्दै आइएको छ । अन्तिमपटकका लागि विसं २०८० जेठ १४ गतेसम्म म्याद थप भएको थियो । उक्त अवधिमा पनि प्रगति भएको छैन ।
निर्माण व्यवसायीको लापरवाहीका कारण सकिसक्नुपर्ने सडकको काममा ढिलाइ हुँदा स्थानीय मर्कामा परेको शंकर पन्तले बताए । उनले भने, ‘वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले काम गरिदिएको भए अहिलेसम्म सहज भइसक्थ्यो ।’
उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ। पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए। तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित रहेको स्थानीय हरि खड्काले बताए ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका डा. वाग्लेले विकास निर्माणमा भइरहेको ढिलाइपछि सरकारको ध्यानाकर्षा गराउन दबाब यात्रा गरिएको बताए । उनले भने, ‘दबाब नदिइकन काम नगर्ने प्रवृत्ति बढ्दो छ । त्यसका लागि सबैको चासो र दबाब आवश्यक छ ।’
‘सदनदेखि सडकसम्म आवाज उठाएर अलपत्र परेका विकास निर्माणका कामलाई सञ्चालन गराउन पार्टी लागिपरेको छ’, उनले भने, ‘सार्वजनिक खरिद नियमावलीमा देखिएका समस्या सुधार गर्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि हामी प्रतिबद्ध छौँ ।’










