घाँसमा आधारित रहि व्यवसायिक पशुपालन प्रवर्द्धनका लागि भिमादमा “बाँझो जग्गामा घाँस खेती कार्यक्रम”

नारायण खड्का/भञ्ज्याङ

भिमाद : तनहुँको भिमाद नगरपालिकाले घाँसमा आधारित व्यवसायिक पशुपालन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नगरपालिकाले चाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नका लागि बाँझो जग्गामा घाँस खेती कार्यक्रम प्रारम्भ गर्ने नीति ल्याएको हो ।
पछिल्लो समय खेतीयोग्य जमिन बाँझिदै गएको र पशुपालक कृषकहरु पनि पशुलाई आवश्यक पर्ने घाँस, पराल तथा दानाहरु समेत आयात गर्नेपर्ने अवस्था आएकाले घाँसमा आधारित रहेर पशुपालन गर्न तर्फ कृषकलाई आकर्षित गर्न बाँझो जग्गामा घाँस खेती कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको नगरप्रमुख दधिराज सुवेदीले बताए ।
उनले भने, ‘बाँझो रहेको भूमिलाई उपयोगमा ल्याई पशुपालन क्षेत्रमा विद्यमान रहेको आहारा व्यवस्थापनको समस्यालाई न्यूनीकरण गर्दै समग्र पशुजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नका लागि बाँझो जग्गामा घाँस खेती कार्यक्रम प्रारम्भ गरिने छ ।’
‘कृषि योग्य भूमि बाँझिने क्रम बढ्दो छ । बाँझो भूमिको मात्रालाई घटाई उत्पादन बढाउन भूमि बैंक सम्बन्धी कानुनी व्यवस्था मिलाईने छ’, नगरप्रमुख सुवेदीले भने, ‘बाँझो रहेको कृषि योग्य भूमिलाई उपयोगमा ल्याई कृषि क्षेत्रको समग्र उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नका लागि बाँझो जग्गा अनुदान कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने छ ।’
आर्थिक विकासको मुख्य आधार कृषि तथा पशुपन्छी विकास कार्यक्रमलाई बनाएको नगरपालिकाले नगरको कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७५ लाई समयानुकूल तथा समसायिक सुधार गर्दै सोको नियमावली तर्जुमा गर्ने भएको छ । पशु, पशुजन्य पदार्थ स्वस्थ रूपमा उत्पादन, विक्री वितरण, निकासी तथा पैठारीलाई व्यवस्थित बनाउन पशु सेवा तथा पशु स्वास्थ्य ऐन जारी गरी लागू गर्ने नीति लिइएको नगरप्रमुख सुवेदीले जानकारी गराए ।
नगरपालिकाले कृषि उपजहरूको विद्यमान अनियन्त्रित बजार भाउलाई नियन्त्रण र निश्चित गर्न मूल्य श्रृंखलाको आधारमा उत्पादक किसानले पाउने न्यूनतम समर्थन मूल्य, संकलक, थोक तथा फुटकर बिक्रेता र उपभोक्ताले पाउने मूल्य समयमा नै निर्धारण गर्ने व्यवस्था मिलाउने भएको छ ।
‘कृषकहरूलाई सहज, सरल र सुलभ रूपमा वित्तीय पहुंच उपलब्ध गराउन सरल कृषि ऋण व्याज अनुदान उपलब्ध गराउन आवश्यक सहजीकरण गरिने छ’, उनले भने, ‘स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनहरूलाई वानस्पतिक मल, विषादी प्रयोग गरी लोपन्मुख अवस्थामा रहेका र खाद्यवालीमा राम्रो मानिएका रैथाने बाली कोदोको संरक्षण र सम्बद्र्धन गर्न ‘स्टाट अप भिमाद कृषि परियोजना’लाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिँदै सम्भव भएका वडाहरूमा यो परियोजना सञ्चालन गरिनेछ ।’ उनले नगरपालिका क्षेत्रभित्र पाइने रैथाने खरि जातको बाख्रा लोप हुने जोखिममा रहेकाले त्यसको संरक्षणको लागि विशेष कार्यक्रम सञ्चालन गर्न ती क्षेत्रहरूलाई स्रोत केन्द्रको रूपमा विकास गर्ने प्रबन्ध मिलाईने नीति लिइएको बताए ।
किसानहरूबाट उत्पादित कृषि उपजहरू किसान आफैले बिक्री गर्ने वातावरण तयार गरिदिने, किसान आफैले बेच्न नसकेको खण्डमा उक्त उपजहरूको संकलन गरी बजारसम्म पु¥याउन पायक पर्ने स्थानहरूमा संकलन केन्द्रहरू, हाट बजार तथा शितभण्डारको स्थापना, व्यवस्थापन र सञ्चालन गरिने भएको छ ।
कृषि व्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार सिँचाइ, भण्डार गृह, हाट बजार लगायतका कृषि पूर्वाधार निर्माण तथा सुदृढीकरणका लागि निजी क्षेत्र, संघ संस्था, सहकारी गैरसरकारी संघ संस्थाहरूसँग समन्वय तथा साझेदारी गरिने भएको छ ।
खाद्यान्न वालीको उत्पादनमा वृद्धि गरी नगरपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिनको संरक्षण, सिँचाइ सुविधाका लागि पक्की बाँध, पक्की कुलो, बोरिङ निर्माण तथा वर्षातको पानीको संकलन तथा संरक्षण गर्ने कार्यलाई प्राथामिकता दिने नीति लिइएको नगरपालिकाले कृषि क्षेत्रमा वानस्पतिक विषादी तथा स्थानीयस्तरमा उपलब्ध स्रोत साधनहरू प्रयोग गर्दै बाली संरक्षण गर्ने उपायहरू अपनाउन प्रेरित गर्ने भएको छ ।
कृषि क्षेत्रबाट सञ्चालित कार्यक्रम वास्तविक लक्षित वर्गसम्म पु¥याउनका लागि वास्तविक कृषकको पहिचान गरी किसानको हैसियत खुल्ने गरी किसान परिचयपत्र उपलब्ध गर्ने नीति लिइएको नगरपालिकाले फलफूल तथा मसला बालीमा नगरलाई आत्मनिर्भर बनाई छिमेकी पालिका तथा बजारमा निकासी गर्नका लागि फलफूल तथा मसलाबाली कार्यक्रमलाई विस्तार गरिने भएको छ ।
कृषि उत्पादन वृद्धि गर्नका लागि कृषि कर्ममा सहभागी हुने कृषक, कृषक समूह, कृषि फर्म र कृषि सहकारीहरूलाई लक्षित गरी मागमा आधारित कृषि औजार मर्मत सम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, नगरपालिका भित्र उत्पादन भएर बाहिर निकासी हुने कृषि तथा पशुपन्छीजन्य उत्पादनको उपभोग, संकलन, प्रशोधन तथा प्रवद्र्धनका लागि लघु उद्योग तथा कृषि सहकारीहरूलाई प्रोत्साहन गर्ने, कृषि पेशाको महत्व तथा आवश्यकतालाई विद्यालयस्तरबाट बोध गराउनका लागि माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी तनहुँ प्राविधिक शिक्षालयसँगको समन्वय तथा सहकार्यमा विद्यालय ‘कृषि शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको नगरप्रमुख सुवेदीले बताए ।
कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र व्यवसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने तथा स्वस्थ र स्वच्छ कृषि उपजको उपलब्धता सुनिश्चित गरी खाद्य सुरक्षाको प्रत्याभूती गर्दै कृषि पेशालाई सामाजिक तथा आर्थिक रूपमा एक सम्मानित पेशाको रूपमा विकास गर्ने नीति अख्तियार गरेको नगरपालिकाले पशुसेवा शाखा तथा सेवा केन्द्र मार्फत वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुहरूमा लाग्ने विभिन्न रोगको पहिचान आन्तरिक तथा बाह्य परजीवीहरूको नियन्त्रण गरी निःशुल्क रूपमा औषधि वितरणको व्यवस्था मिलाउने भएको छ ।
पशुपालन व्यवसायलाई सुरक्षित, व्यवस्थित तथा प्रतिफलमुखी बनाउनका साथै जनावरबाट सर्ने रोगहरूबाट मानव जीवनलाई सुरक्षित बनाउनका लागि पि.पि.आर., रेविज, लम्पीस्किन, खोरेत तथा स्वाईन फिवर रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । चालु आर्थिक वर्षबाट प्रारम्भ भएको दुध उत्पादनका लागि भैसी तथा गाईपालन व्यवसायलाई सम्भाव्यताको आधारमा अन्य वडाहरूमा विस्तार गरी नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन बढी प्रतिफल दिने जातको पशु खरिद, नस्ल सुधार, कृत्रिम गर्भाधान कार्यक्रमलाई प्राथामिकताको साथमा सञ्चालन गरिने भएको छ ।
दुध उत्पादन तथा दुधजन्य पदार्थको उत्पादकत्व वृद्धि गरी नगरपालिकालाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रहरूको विस्तार र प्रवद्र्धन गर्ने, हाल कायम रहेका कृषि पकेट क्षेत्रहरूलाई विस्तार एवं स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, अर्गानिक तरकारी, बीउ उत्पादन र दुध तथा मासुजस्ता अरू नयाँ विषयहरूमा पकेट क्षेत्रहरू विस्तार गर्ने, कृषि तथा पशुपन्छी क्षेत्रमा हुने जोखिमलाई न्यूनीकरण गर्नका लागि कृषि तथा पशु वीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी यसको लाभ लक्षित वर्गसम्म पु¥याउन विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरिने भएको छ । छाडा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप शिविर सञ्चालन गर्ने, गाई भैसीमा देखिने प्रमुख बाँझोपनको समस्यालाई न्यूनीकरण गर्न डोर टु डोर बाँझोपन निवारण शिविर सञ्चालन गर्ने नीति नगरपालिकाले लिइएको छ ।
यस्तै, बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त गर्दै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने नीति अख्तियार गरेको नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूलाई सामाजिक पुनः एकीकरण गर्ने उद्देश्यले सीप विकास तालिम र प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गर्ने, हिउँदमा हुने पशु आहारको अभावलाई व्यवस्थापन गर्न र पशु बस्तुको उत्पादनमा वृद्धि गर्न साइलेज मेशिन खरिद गरी सञ्चालन गर्ने, कृषि क्षेत्रमा उपलब्ध गराईने अनुदानलाई थप व्यवस्थित पारदर्शी र वास्तविक किसान लक्षित बनाउन कृषि अनुदान सम्बन्धी मापदण्डलाई पुनरावलोकन गर्ने नीति लिइएको नगरपालिकाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker