डिसिसिएमसी तनहुँको निर्णय : सम्भव भएसम्म भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाउनुस्
भञ्ज्याङ समाचारदाता/दमौली

– बिगतमा सञ्चालन गरिएका आइसोलेशन सेन्टरमा सुविधा थप गरी पुनः सञ्चालनमा ल्याइने
– स्वास्थ्य मापदण्ड पुरा गरी सिफ्ट पद्धतीमा विद्यालय स्तरको परीक्षा सञ्चालन गरिने
– वैशाख मसान्तसम्म खेलकुद, हाटबजार, आमसभा, सभा, जुलुस गर्न प्रतिबन्द्ध
विश्वभरि फैलिएको नयाँ प्रजाती (भेरियन्ट) सहितको कोभिड-१९ को संक्रमण तनहुँ जिल्लामा पनि बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । संक्रमण जोखिमलाई न्यूनिकरण गर्न तथा संक्रमितहरुको व्यवस्थापनका लागि जिल्लाका १० वटै पालिका तथा अन्य सरोकारवाला निकायहरुले आवश्यक तयारीमा जुटेका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तनहुँको आइतबार बसेको बैठकले संक्रमितको व्यवस्थापन तथा संक्रमण रोकथामका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । बैठकले सुरक्षा सावधानी अप्नाउदै विद्यार्थीको सिकाईलाई निरन्तरता दिन सम्भव भएसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाईका विधिहरु अप्नाउन आग्रह गरिएको छ ।
डिसीसीएमसी केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्व तथा स्थानीय तहका जनप्रतिनिधि र सरकारी अधिकारीसमेत सहभागी बैठकले शिक्षण संस्थामा भर्चुअल विधि प्रयोग गर्ने र सम्भव नभएमा एउटा कक्षामा २५ जना विद्यार्थीहरु मात्र राखेर तथा स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले नजिकिदै गरेका विद्यालय स्तरका परीक्षा पनि भौतिक दुरी कायम गरी आवश्यकता अनुसार सिफ्ट पद्धतिमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम यही बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै, मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य, पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने केन्द्रले निर्णय गरेको प्रजिअ आचार्यले बताए । सामाजिक र सांस्कृतिक कार्यहरु विवाह, व्रतबन्ध लगायतमा २५ जनाभन्दा सहभागी नहुने सहभागीहरुले जनस्वास्थ्यका सबै निर्धारित मापदण्ड पुर्णपालना गर्ने गरी पूर्व स्वीकृति लिएर मात्र संचालन गर्ने गराउने निर्णय गरिएको छ ।
‘तालिम र प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्दा २५ जनाभन्दा बढी सहभागी नगराउन आग्रह गरिएको छ’, उनले भने, ‘सकभर भर्चुअल विधिमा तालिम संचालन गर्ने नसके सहभागीहरुले जनस्वास्थ्यका सबै निर्धारित मापदण्ड पूर्णपालना गर्ने गरी मात्र संचालन गर्ने गराउने ।’ यस्तै, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने लगायतका निर्धारित जनस्वास्थ्यका लागि सबै मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी मात्र सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरिएको छ ।
‘कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने’, प्रजिअ आचार्यले भने, ‘होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालक, कर्मचारी र सबै ग्राहकले जनस्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्ने गरी सञ्चालन गर्ने गराउने ।’ यस्तै, भारत र अन्य मुलुकबाट जिल्लामा आउने व्यक्तिले अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको निग्रानी सम्बन्धित टोल विकास संस्थाले गर्ने संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।










